coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगन्ज - वीरगन्जस्थित नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले केही कागजात नियन्त्रणमा लिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुलहकसँग सोधपुछ गरेको छ।

सुपरिटेन्डेन्ट डा. हकले केही कर्मचारीप्रति असन्तुष्टि राखेपछि पछिल्लो समयमा त्यहाँ भित्री मतभेद चुलिँदा अनियमितताका समाचार बाहिरिएको छ। खरिद प्रक्रियामा अनियमितता भएको भनी चर्चामा आएका विषयमा अख्तियार टोलीले डा. हकसँग लामो समय सोधपुछ गरेको थियो। सामान खरिदसम्बन्धी अस्पतालका कागजपत्र अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। टोलीका सदस्यहरूले आफूहरूले छानबिनका विषयमा प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।

अस्पताल प्रशासन र कर्मचारीबीच पटकपटक विवाद हुँदै आएको छ। त्यहाँ काम गर्ने कर्मचारीदेखि राजनीनिक दलका नेतासमेत अस्पतालबाट व्यक्तिगत लाभ लिन खोजिरहँदा अस्पतालका सेवा प्रभावित र आर्थिक हिनामिना हँुदै आएको छ। यसपालि अख्तियारले थालेको छानबिनले अस्पतालमा सुधार होस् भनी सेवाग्राहीको प्रतिक्रिया छ। अस्पतालको बिरामी भर्ना गर्ने कोठामा अबैध कब्जा, कर्मचारी भर्नामा राजनीतिक प्रभाव, खरिदमा अनियमितता र अस्पतालको समान चोरी गरेको आरोपमा कर्मचारी नै पक्राउजस्ता प्रकरण चर्चामा छन्।

अस्पतालमा रहेका करोडौं मूल्यका सामान कौडीको मूल्यमा बेचेको यसअघि खुलासा भएको थियो। फलाम, काठ र प्लास्टिकका सामान्य मरम्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय प्रयोग हुनसक्ने चालू हालतको समान अपत्यारिलो सस्तो मूल्यमा बेचियो। अस्पताल प्रशासनले काठमाडौंको एउटा संस्थामार्फत २ सय ८२ किसिमका हजारौं थान सामान मात्र ८८ हजार ९ सय ७ रुपैयाँमा बिक्री गरेको पाइएको थियो। त्यसमा फर्निचर, उपकरण र अन्य समान थिए। उक्त प्रकरणमा अख्तियारको आपेक्षित भूमिका देखिएन। एचआइभी÷एआरटी शाखाको करिब एक दशकदेखि प्रमुख रहेका डा. मनोज गुप्तालाई हटाएर अतुलेश चौरसियाको नियुक्तिको प्रकरणले पनि अस्पतालभित्र असन्तोष छ। मेडिकल सुरिटेन्डेन्ट डा. हकले अनियमिताको उद्देश्यले त्यहाँ कुनै गतिविधि आफूद्वारा नगरिएको दाबी गरेका छन्।

प्रकाशित: १२ वैशाख २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App