८ वैशाख २०८१ शनिबार
समाज

‘प्राविधिककै कारण पुनर्निर्माण अल्झियो’

सिन्धुलीको कमलामाई नगरपालिका–६ मा निर्माणाधीन भूकम्पप्रतिरोधी घर। तस्बिर : अनिल/नागरिक

सिन्धुली - भूकम्प गएको चार वर्ष बित्दा पनि झन्झटिलो प्रक्रिया र प्राविधिकै लापरवाहीले सिन्धुलीमा पुर्ननिर्माणमा ढिलासुस्ती देखिएको छ। खटाइएको वडामा प्राविधिकहरू नबस्दा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। जनप्रतिनिधि र प्राविधिकको समन्वय नभएकाले निजी आवासमा प्रगति हुन नसकेको जनप्रतिनिधिकै गुनासो छ।

जिल्लाका नौ स्थानीय तहकध्ये हरिहरपुरगढी गाँउपालिका र दुधौली नगरपालिकामा निजी आवास निर्माणको प्रगति अत्यन्त न्यून रहेको पाइएको छ। दुधौलीमा पाँच हजार दुई सय दुईजना लाभग्राही भए पनि नौ सय १६ जनाले मात्रै तेस्रो किस्ता बुझेका छन्। यहाँ १८ प्रतिशत मात्रै पुर्ननिर्माण सम्पन्न भएको छ। यस्तै हरिहरपुरगढीमा १६ प्रतिशत मात्रै पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख देवनारायणप्रसाद यादवले जानकारी दिए। उनका अनुसार हरिहरपुरगढी गाउँपालिकामा दुई हजार ६ सय २५ जना भूकम्प लाभग्राही रहेकोमा दुई हजार दुई सय ९९ जनाले सम्झौता गरी पहिलो किस्ताबापतको रकम बुझेका छन्।

जसमध्ये चार सय १३ जनाले मात्रै घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता बुझेका हुन्। सो गाउँपालिकामा १६ प्रतिशत मात्रै पुर्ननिर्माण सम्पन्न भएको कार्यान्वयन एकाइको तथ्यांक छ। ‘हाम्रो गाउँपालिकामा खटाइएका प्राविधिक फिल्डमा बस्दैनन्,’ हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ तामाङले भने, ‘सदरमुकाममा बसेर स्थानीयको घर निरीक्षण नगरी प्रगति हुने कुरा भएन। उनले स्थानीय तहलाईनै प्राविधिक खटाउने अधिकारसहित पठाएको भए पनि आफ्नो गाउँपालिकामा खटिएका प्राविधिकहरूको लापरबाहीले पुर्ननिर्माणमा गति लिन नसकेको जनाए।

दुधौलीमा प्राविधिकले नगरपालिकासँग समन्वय नगर्दा पुर्ननिर्माणले गति लिन नसकेको प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र पौडेलले बताए। ‘ऐलानी जग्गाले गर्दा पनि सामान्य समस्या आएको छ,’ उनले भने, ‘तर प्राविधिकले भूकम्पपीडितलाई उचित सल्लाह–सुझाव नदिँदा यहाँको प्रगति कम देखिएको हो।’ दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा सुनकोसी र गोलञ्जोर गाउँपालिकामा पुनर्निर्माणले गति लिए पनि अन्य स्थानीय तहमा भने सरकारको योजनाअनुसार घर बन्न सकेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजनाका अनुसार जिल्लाभर ३८ हजार ४२ वटा घर क्षतिग्रस्त भएको तथ्यांक छ। जसमध्ये ३४ हजार ९ सय १ जनाले सम्झौता गरि पहिलो किस्ता बुझेका छन्। दोस्रो किस्ता २४ हजार ४ सय ३७ जनाले मात्रै बुझेको आयोजना कार्यन्वयन इकाईका निमित्त प्रमुख देवनारायणले बताए। उनका अनुसार घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता लिनेमा १४ हजार ९ सय ४६ जना छन्। जिल्लामा हालसम्म ३९ प्रतिशत मात्रै पुर्ननिर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App