८ वैशाख २०८१ शनिबार
समाज

अझै टेकोकै भरमा साततले दरबार

टेकोमा अडिएको साततले दरबार। तस्बिर : नागरिक

नुवाकोट - नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता भए पनि सो दरबारको अझै पुननिर्माण सुरु भएको छैन।

नेपालका लागि चिनियाँ राजदूत यु होङसहितका उच्च अधिकारीहरू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयरसहितको टोली गत वर्ष जेठको अन्तिम साता दरबारको बनावटको अवलोकन गर्न आइपुगेको थियो। त्यसबेला असोजबाट दरबारको पुनर्निर्माण थाल्ने भन्ने जानकारी आए पनि अवस्था उस्तै छ। गत पुसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीसहितको टोलीले दरबारको प्रत्यक्ष अवलोकन गरेर तुरुन्तै दरबारको निर्माण थाल्ने भनिए पनि अहिलेसम्म केही हुन सकेको छैन।

वर्षा सुरु हुन लागिसकेकाले दरबारको अस्तित्व मेटिने हो कि भन्ने आशंका बढ्न थालेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका कार्यक्रम प्रमुख अर्जुनप्रसाद फुयाँलले बताए। ‘अहिले चिनियाँ प्राविधिकरूले दरबारको बनोटबारे अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘वर्षातघि बाटै पुनर्निर्माणको काम थाल्ने भन्ने त छ तर ढुक्क हुन सक्ने अवस्था छैन।’ भूकम्पले नेपालमा पु¥याएको क्षतिको पुनर्निर्माणमा सहयोगको प्रतिबद्धताअनुसार चीन सरकारले साततले दरबारसहित त्यसको परिसरमा रहेको रंगमहल, गारदघर, लामापाटी, सेतोपाटी, विष्णु र नारायण मन्दिर, तुलजा भवानीको दरबार पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

जिल्लामा भूकम्पबाट क्षतिग्रस्त २९ विद्यालयको पनि पुनर्निर्माण सुरु भएको छैन। भौगोलिक विकटताका कारण निर्माण सामग्री सहज रूपमा उपलब्ध हुन नसक्दा र विद्यालयको नाममा आफ्नै जग्गा नहुँदा निर्माण ती विद्यालयहरुको पुननिर्माण सुरु हुन नसकेको बताइएको छ। भूकम्पले चार सय ५३ विद्यालयमा क्षति पु-याएकोमा दुई सय पाँचवटाको मात्र पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जनाएको छ। यसैगरी निजी आवास निर्माणका लागि लाभग्राही सूचीमा ७६ हजार ६ सय ५१ लाभग्राहीमध्ये चार हजार सात सय ३१ लाभग्रहीले पहिलो किस्ता लिनै बाँकी जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App