coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘गुम्बाको गाउँ’ पहिचान संकटमा

भूकम्पबाट क्षतिग्रस्त भएर अझै पुनर्निर्माण हुन नसकेको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुको मेलम्चीघ्याङस्थित प्राचीन बौद्ध गुम्बा। नजिकै स्थानीयले सम्पदा पुनर्निर्माणमा सहयोग गर्न टाँसेको सूचना। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक - २०७२ वैशाख १२ गतेको भूकम्पले पर्यटकीय गाउँ हेलम्बुको मेलम्ची घ्याङस्थित झन्डै पाँच सय वर्ष पुरानो डुक्फुक ङिन्धा राङ्जेन गुम्बा भत्काएको आज ठीक चार वर्ष पूरा हुँदै छ। तर त्यस गुम्बाको ध्यान–साधनास्थल पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माणका लागि सरकारको मुख ताकेर बसेका स्थानीय अहिले गुम्बानजिकै टाँसिएको सार्वजनिक सूचना देखेर अवाक् भएका छन्। सो सूचनामा गुम्बा पुनर्निर्माण अघि बढाउन मेलम्ची घ्याङ गाउँ सुधार समितिले सहयोगको अपिल गरेको छ।

‘सरकारी निकायले बेवास्ता गरेपछि स्थानीय स्तरबाट पुनर्निर्माण अघि बढाउन यो जुक्ति निकालेका हौं,’ गाउँका अगुवा कामी लामाले नागरिकसँग भने। उनका अनुसार बौद्ध गुरु पद्म सम्भवको साधनास्थल मानिने यो गुम्बामा ध्यान गर्न सयौं स्वदेशी तथा विदेशी बौद्धमार्गी मेलम्ची घ्याङ आइपुग्छन्। तर गुम्बाको पुनर्निर्माण नहुँदा उनीहरु नजिककै रहेका गुफा र ओडारमा साधना गर्न बाध्य छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग पुनर्निर्माण गर्नुपर्ने गुम्बाको तथ्यांकसम्म भए पनि प्राचीन मन्दिर, धर्मशाला, सामुदायिक भवन, ऐतिहासिक युद्ध किल्ला, हबेली (साना दरबार) लगायत क्षतिग्रस्त सम्पदाको जानकारीसम्म छैन। प्राचीन मन्दिर, धर्मशाला, सामुदायिक भवन, ऐतिहासिक किल्ला, कसले पुनर्निर्माण गर्ने भन्ने नै निर्णय भएको छैन।

तामाङ, शेर्पा, गुरुङ, ह्योल्मोलगायत बौद्ध धर्ममार्गी समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोकका हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुराताTत्विक महत्वका दर्जनौं प्राचीन गुम्बा थिए। त्यस्ता प्राचीन गुम्बा र बौद्धमार्गीको संस्कार हेर्न तथा अध्ययन गर्न वार्षिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउँथे। भूकम्पले क्षति पु¥याएका गुम्बाको अहिलेसम्म पुनर्निर्माण नहुँदा ‘गुम्बाको गाउँ’ भनी बनेको पहिचान संकटमा परेको स्थानीय गुनासो गर्छन्।

स्थानीयले टहरोमा भए पनि सम्पदा संरक्षण प्रयास गरिरहेका छन्। प्राधिकरण भर्खर पुनर्निर्माण गर्नुपर्ने गुम्बाको डिजाइनमा जुटेको छ। ‘डिजाइन सकेर किताबकै रूपमा बाहिर ल्याएपछि मात्र गुम्बा पुनर्निर्माण सुरु होला,’ प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, गुम्बा व्यवस्थापन शाखाका इन्जिनियर विनोद नेपालले भने। उनका अनुसार सिन्धुपाल्चोकमा पुनर्निर्माण र मर्मत गर्नुपर्ने गुम्बाको संख्या एक सय ९० छ। प्राधिकरणले पुनर्निर्माण, मर्मत गर्नुपर्ने गुम्बालाई दुई किसिमले परिभाषित गर्दै अनुदान व्यवस्था गर्ने नीति लिएको छ। दुई हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएर सय वर्षदेखि बढीका पुराना गुम्बाको पुनर्निर्माण, मर्मत प्राधिकरणले केन्द्रबाटै गर्ने नीति लिएको छ। त्यस्तै अन्य गुम्बा प्राधिकरण, गुम्बा व्यवस्थापन समिति र स्थानीय तहको त्रिपक्षीय सम्झौतामा पुनर्निर्माण हुने कार्यविधिमा उल्लेख छ। यसका लागि ५० प्रतिशत अनुदान प्राधिकरण तथा बाँकी ५० प्रतिशत बजेट सम्बन्धित स्थानीय तह र समुदायले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ।

गाउँ/नगरपालिका समेतको संलग्नतामा गुम्बा पुनर्निर्माण गर्नुपर्ने व्यवस्थाप्रति सिन्धुपाल्चोकका स्थानीय तहले आपत्ति जनाएको जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार (जिमाली) का आयोजना व्यवस्थापक जयप्रकाश गुप्ता बताउँछन्। ‘हरेक गाउँपालिकामा पुनर्निर्माण गर्नुपर्ने गुम्बा दर्जनको संख्यामा भन्दा बढी छन्। यति धेरै गम्बा पुनर्निर्माण गर्न बजेट व्यवस्थान गर्न सकिँदैन भन्ने स्थानीय तहका प्रमुख÷अध्यक्षको तर्क छ,’ उनले भने। हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्ल्जेन शेर्पा प्राधिकरणले लिएको स्थानीय तहको संलग्नतामा गुम्बा पुनर्निर्माण गर्नुपर्ने नीति अव्यावहारिक रहेको बताउँछन्। ‘पहिलो त ठूलो संख्यामा रहेका गुम्बा पुनर्निर्माण गर्न स्थानीय तहको स्रोत साधनले भ्याउँदै भ्याउँदैन,’ उनी भन्छन्, ‘दोस्रोमा यो नीतिले गुम्बा पुनर्निर्माणमा मात्र स्थानीय तह अल्झन पुग्छन्।’

प्रकाशित: १२ वैशाख २०७६ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App