coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बौद्ध स्तुप पुनर्निर्माण सम्पन्न

हिमाल लम्साल

काठमाडौं- गत वर्षको भूकम्पमा क्षतिग्रस्त राजधानीको बौद्धस्थित बौद्धनाथ स्तुप भने स्थानीय स्तरबाटै पुनर्निर्माण सकिएको छ। भूकम्प प्रभावित विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये बौद्ध स्तुप सबैभन्दा छिटो पुनर्निर्माण गरिएको हो। ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणले गति नलिएका बेला बौद्धनाथ क्षेत्र विकास समितिले सरकारको मुख नताकी आफ्नै अगुवाइमा पुनर्निर्माण सम्पन्न गरेको छ।

'विनाशकारी भूकम्पले बौद्ध स्तुप चिरा परेको थियो। स्तुपको गजुर पनि कोल्टे परेको थियो। अर्धगोलाकार डोममा चिरैचिरा देखिएको थियो,' बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भने 'स्तुपको दुरावस्था धेरै समय हेर्न सकेनौं। त्यसैले पुनर्निर्माणमा आफैं जुटेका हौं।' बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर बौद्धनाथ स्तुप पुनर्निर्माण गर्न परेको स्थानीयको सकारात्मक दबाबले पुनर्निर्माण छिटो सकिएको हो।

'सरकारको मुख ताकेर बसेको भए अहिल्यै  पुनर्निर्माण कहाँ सकिन्थ्यो र,' अध्यक्ष लामाले भने, 'सरकारी प्रक्रिया लम्बेतान हुन्छ। बजेट पारित, निकासा, टेन्डर प्रक्रियामा धेरै झन्झट हुन्थ्यो, त्यसैले हामी त्यतातिर लागेनौं।' समितिकै अगुवाइमा २०७२ मंसिरमा सुरु भएको पुनर्निर्माण २०७३ कात्तिकमा सम्पन्न भएको छ। उनले भने, 'भूकम्पले क्षति पुर्‍याएका सम्पदामध्ये बौद्धनाथ स्तुप सबैभन्दा छिटो पुनर्निर्माण गर्न सकेकोमा हामी धेरै खुसी छौं। सबैको साथ सहयोगले मात्रै यो सम्भव भएको हो।'

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक फुबु याङजी लामाले राज्यको आर्थिक लगानीबिनै स्तुप पुनर्निर्माण गर्न समिति सफल भएको बताइन्। 'पुरातत्व विभागबाट प्राविधिक सहयोग पायौं। स्वदेशी र विदेशी दाताहरूकै सहयोगमा पुनर्निर्माण भएको हो,' उनले भनिन्, 'सबै काम गर्न राज्यको मुख ताकेर मात्र हुँदैन।' सबै एकजुट भए पुनर्निर्माण सहज हुने उनको भनाइ छ। उनले भनिन् 'भत्केका सम्पदा जतिसक्दो छिटो पुनर्निर्माण गर्‍यो, पर्यटक भिœयाउन त्यति नै सहज हुन्छ।'

पुरातत्व विभागको निर्देशन र पुरानै ढाँचा अनुसार पुनर्निर्माण गरिएको समितिले जनाएको छ। विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले बौद्धनाथ स्तुप भूकम्प प्रतिरोधात्मक भएको बताएका छन्। 'स्तुपको डोममुनि काठैकाठको फ्रेम भित्रैदेखि इन्टरलक गरी गजुरसम्मै जडान गरिएको छ,' उनले भने, 'प्राविधिक पक्षमा कुनै कमजोरी छैन।'

बौद्धनाथ स्तुपमा मंसिर ३ देखि ५ गतेसम्म बौद्ध गुरुहरूले विधिवत प्राण प्रतिष्ठा गर्नेछन्। मंसिर ७ गते प्रधानमन्त्रीबाट स्तुप उद्घाटन गरिने कार्यकारी निर्देशक लामाले जानकारी दिइन्। बौद्धनाथ स्तुप पुनर्निर्माणमा १८ करोड ४५ लाख रुपैयाँको लागत अनुमान भए पनि केही बढेको उनले बताइन्।

बौद्धनाथ स्तुपमा ३० किलोग्राम सुन प्रयोग गरिएको समितिले जनाएको छ। स्तुपको गजुर, हर्मिका, १३ तला, छत्रावलीमा सुनलेपन गरिएको छ। स्तुप पुनर्निर्माणमा बौद्ध गुरु ताई सितुपा रिन्पोछे र उनका अनुयायीले ३० किलोग्राम सुन सहयोग गरे। पुनर्निर्माण गर्न चिनियाँ बौद्ध संघले ३ करोड १० लाख रुपैयाँ, लुम्बिनीस्थित चिनियाँ गुम्बाले ५० लाख रुपैयाँ, एचएनए ग्रुप, एचआइएनएएन प्रोभिन्स सियाङ फाउन्डेसनले ३ करोड १० लाख रुपैयाँ, चिनियाँ दूतावासले ६५ लाख ५० हजार रुपैयाँ, तेरकार फाउन्डेसन नेपालले १ करोड रुपैयाँ, चिनियाँ दूतावासमार्फत् मकाउका विद्यार्थी र प्राध्यापकका तर्फबाट २ करोड १६ लाख रुपैयाँ आर्थिक सहयता गरेको समितिले जनाएको छ। स्तुप पुनर्निर्माणमा समितिले ७ करोड रुपैयाँ लगानी गरेको छ।

प्रकाशित: ५ कार्तिक २०७३ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App