४ वैशाख २०८१ मंगलबार
समाज

बाबुद्वारा अपांगता भएका छोराको हत्या

दोलखा - जिल्लाको शैलुङगेश्वर गाउँमा बाबुले छोराको हत्या गरेका छन्। शैलुङ गाउँपालिका ४ बस्ने २२ बर्से वेदबहादुर केसीलाई उनकै बाबु चुडाबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरीका इन्सपेक्टर रेसम बोहोराका अनुसार मृतक वेदबहादुर बिरामी रहेको र जताततै दिसा पिसाब गरेर फोहोर गर्दै हिँड्ने साथै २ गतेको उक्त दिन समेत घरमा फोहोर गरेपछि आवेशमा आएका बाबु चुडाबहादुरले ह्यामरले हानेर छोराको हत्या गरेका थिए।

टाउकोमा ह्यामरको चोट लगतै सख्त घाइते भएका केसीको घटनास्थलमै मृत्यु भएको र उनको शव ब्ल्यांकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फालिएको बयान प्रहरीसामु बाबु चुडाबहादुरले दिएका छन्।

२ गतेदेखि नै गाउँबाट वेदबहादुर बेपत्ता भएपछि प्रहरीले खोजी गरिरहेको थियो। बुधबार खहरे खोलामा लास फेला परेपछि छोरा हराएको बारे प्रहरीलाई कुनै खबर नगरेको भन्दै शुरुमै परिवारका सदस्यमै आशंकाका आधारमा मृतकका बाबुलाई पक्राउ गरे लगतै हत्याको पोल खुलेको थियो।  
 

प्रकाशित: ११ वैशाख २०७६ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App