coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कहाँ छन् सार्क सम्मेलनमा सजाइएका गमला

काठमाडौं- २०७१ मंसिरमा भएको सार्क सम्मेलनमा सजाउन काठमाडौं महानगरपालिकाले लाखौं खर्चेर राजधानीका मुख्य सडकमा दुवै छेउमा राखेका गमलामध्ये अधिकांश अहिले देखिँदैनन्। त्यसबेला राजधानीलाई सजाउन र हरियो देखाउन राखिएका ५ सयभन्दा बढी गमलामध्ये अहिले सडकमा मुश्किलले ५० वटा पनि छैनन्।

राजधानीका मुख्य सडक प्रदर्शनीमार्ग, सिंहदरबार वरिपरि, सिंहदरबार–माइतीघर, माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–सोल्टीमोड–रविभवन, सुन्धारा–त्रिपुरेश्वरलगायत सडकमा राखेका ठूला गमला अहिले सडक छेउ देखिँदैनन्।

महानगरपालिकाले प्रति गमला १ हजार ९ सय ७४ रुपैयाँ र गमलामा रोपेका बिरुवा एउटाको ३ सय ७८ रुपैयाँका दरले खरिद गरी सडक सजाएको थियो। करिब १० लाख रुपैयाँमा ५ सय गमला सडकमा सजाइए पनि अहिले सडकमा १० प्रतिशत गमला पनि छैनन्।

नागरिकले गरेको स्थलगत अवलोकनमा त्रिपुरेश्वर चोक, सिंहदरबारको मूलद्वार, जमललगायत केही ठाउँमा केही गमला रहे पनि फोहर अवस्थामा छन्। सिमेन्ट निर्मित कलात्मक राता गमला धुलो र माटोले फोहर छन्। गमलामा कतै बिरुवा छैनन् भने कतै सुकिसकेका छन्। महानगरपालिका भने दिनहुँ गमला सफा गर्ने, पानी हाल्ने र बिरुवा मरेका गमलामा अर्को बिरुवा रोपेको दाबी गर्छ।

महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठ गमला फुटेकाले कम भएको र बाँकी गमला जोगाउन दैनिक बिहान ३ जना कर्मचारीले काम गरिरहेको बताए। 'राति गमलामा रोपेका बिरुवा उखेल्ने, गमला ढालिदिने गरेको पाइएकाले कर्मचारी नै खटाएर गमला जोगाइरहेका छौं,' प्रमुख श्रेष्ठले भने, 'कर्मचारीले ढलेका ठड्याउनेे, फुटेका सफा गर्ने र जोगाउनु पर्ने ठाउँका गमला कार्यालय ल्याउँछन्।'

श्रेष्ठका अनुसार गमला जोगाउन चुनौति नै भएकाले केही ठाउँका र सडक विस्तार भइरहेका सडकबाट टेकुस्थित महाशाखामा थन्क्याइएका छन्। 'सडकमा गमला जोगाउनै कठिन भयो,' उनले भने, 'जोगाउन नसकेपछि सडकबाट गमला उठाएर टेकुमा राखेका छौं।' टेकुमा राखिएका गमला वडा कार्यालय, मन्दिर र पार्क सजाउन आवश्यकता र माग भएअनुसार वितरण गरिने उनले बताए। यसअघि ३० वटा गमला रत्नपार्क, १० वटा बालाजु पार्कमा माग भएपछि दिइएको महाशाखाले जनायो।

टेकुमा ३ सय गमला सुरक्षित राखिएको श्रेष्ठले बताए पनि नागरिक प्रतिनिधि त्यहाँ पुग्दा जम्मा सय वटा जतिमात्र गमला त्यहाँ थिए। फुटेका गमला भने निकै थिए। भूकम्प, बटुवा र सडक विस्तार क्रममा गमला फुटेको महानगरपालिकाले दाबी गर्‍यो।

प्रकाशित: ५ कार्तिक २०७३ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App