भरियादेखि पर्यटन अभियन्तासम्म

शनिबार, १४ बैशाख २०७६, १७ : १८ नरहरि सापकोटा

उत्तरी गोरखामा कसरी धेरै विदेशी पर्यटक भित्र्याउने र त्यहाँका मानिसको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने योजना बनाउँदैमा दिन बित्छ।

‘२०वर्षको उमेरदेखि पर्यटकको भारी बोकेँ। उत्तरी गोरखाको मनास्लु पदमार्ग जाने पर्यटकको भारी बोक्न पाइन्थ्यो। इमान गुरुङ भन्ने लाप्राकको ट्रेकिङ गाइडले भारी बोक्ने काम दिएका थिए। २०४४ सालतिर एक दिन भारी बोक्दा ४५ रुपैयाँ कमाउँथेँ,’ धार्चे गाउँपालिका–५, गुम्दाका साने गुरुङले तीन दशकअघिको कुरा स्मरण गर्दै भने।

समान्य पढाइलेखाइ। घरको आर्थिक अवस्थाकमजोर। भारी नबोकेको दिन छाक टार्न हम्मे पथ्र्यो। खेतीबाली हुने ठाउँ नभएकाले मानस्लु पदमार्ग जाने पर्यटकको भारी बोक्नेबाहेक छाक टार्ने उपाय भएन।

अधबैँसे उमेर, हँसिलो चेहरा, तोते नेपाली तर अंग्रेजी फरर। काँधमा कालो झोला र शरीरमा बाक्लो स्विटर, जाडो न गर्मी हाफ ज्याकेट लाएर कहिले गोरखा सदरमुकाम त कहिले उत्तरी गोरखादेखि मन्त्रालयसम्म सधैँ दौडधुप गरिरहन्छन् उनी।

उत्तरी गोरखामा कसरी धेरै विदेशी पर्यटक भिœयाउन सकिन्छ भन्ने योजना, बनाउँदैमा दिन बित्छ। गोरखाको दुर्गम गाउँ, जहाँ अहिलेसम्म पनि सडक र सञ्चारको सुविधा राम्रोसँग पुगेको छैन, त्यहीँ जन्मिएका हुन् गुरुङ। पर्यटकको भरिया बनेर २० वर्षदेखि यस क्षेत्रमा उनलेकाम थालेका थिए। भरियाबाट सुरु भएको उनको करिअर पर्यटन अभियन्तासम्म पुगेको छ।

‘उत्तरी गोरखामा विदेशी पर्यटक कसरी ल्याउन सकिन्छ, त्यहाँका मानिसको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने चिन्ता छ,’ गुरुङ भन्छन् ‘आफूले पाएको दुःख सम्झेर म दुर्गम गाउँका जनतालाई सहयोग गर्न चाहन्छु।’ राज्यको संयन्त्रको पहुँच नपुगेका दुर्गम गाउँमा पुग्न सदरमुकामबाट पैदल हिँड्दा करिब सात दिनसम्म लाग्छ। ती ठाउँका समस्याबारे अनविज्ञ जिल्लाका विकासे अड्डालाई उनी वर्षौदेखि सूचना दिँदै आएका छन्। पदमार्ग भत्किएका, पुल पुलेसा बिग्रिएकालगायत आफैं तस्बिर खिचेर मर्मतका लागि सरकारी निकायलाई घचघच्याउने उनको निरन्तर कर्म बनेको छ।

अचेल सदरमुकामबाट सरकारी वा गैरसरकारी संस्थाका कर्मचारी फाट्टफुट्ट पुग्ने गरेपनि दुई वर्षअघिसम्म उत्तरी गोरखा विरलै पुग्थे। सडक सञ्जाल थिएन। हिँड्नुपथ्र्यो। कहाँ पदमार्ग बिग्रिएको–भत्किएको छ? अप्ठ्यारो के छ? पर्यटक बस्ने होटल, खाने मेनु, परिकार के–कस्ता छन्? पर्यटकको रोजाइ के छ? भन्ने जानकारी लिने सबैको माध्यम बनेका छन् साने गुरुङ। वर्षेनी छ हजार भन्दा बढी विदेशी पर्यटक जाने मनास्लु पदमार्गमा उनले धेरै पर्यटक लिएर हिँडे। भरियादेखि गाइड हुँदै पर्यटक अभियन्ता हुँदा उनको दैनिकी उस्तै छ।

तीन वर्ष भारी बोकेपछि उनी पर्यटक घुमाउने गाइड भए। गाइड बन्न सजिलो थिएन। दुई–तीन वर्ष ट्रेकिङ एजेन्सीमा काम गरेको हुनुपर्ने रहेछ। गोरखाको मनास्लु पदमार्गदेखि अन्नपूर्ण पदमार्ग, मुस्ताङ, मनाङ, डोल्पा, लाङटाङ लगायत थुप्रै ट्रेकिङरुटमा पुग्ने अवसर पाए उनले। गाइडलाई दैनिक तीन सय ५० रुपैयाँ दिइन्थ्यो। धेरै ठाउँमा घुमेर, पर्यटकसँग वर्षौ रहँदा कस्तो मन पराउँछन्, के हेर्न, जान्न बुझ्न चाहन्छन भन्ने थाहा पाए उनले।  गोरखाको मनास्लु पदमार्गमा पर्यटक लैजान त्यहाँको पूर्वाधार विकास र योजना बनाउन उनको ध्यान गयो। ‘अन्यत्र जस्तै मनास्लुको पनि विकास गर्नुपर्छ, आफ्नै ठाउँमा पर्यटक भित्र्याउनुपर्छ भनी अभियानमा लागेँ, गाइड भएर दुईचार पैसा बटुल्नभन्दा ध्यान यता खिचियो,’ उनले भने। गाइड भएर हिँडेको भए लाखौं रुपैयाँ कमाउने र विदेश जाने अवसर पनि उनलाई नआएको होइन। तर, सबै त्यागेर उनी रमाइरहेका छन्।

२०६५ सालमा ‘धार्चे मनास्लु पर्यटन विकास समिति’ दर्ता गरेर उत्तरी गोरखाको मनास्लु क्षेत्रको विकासमा एउटा टिम बनाएर काम गर्न थाले। अहिले पनि मनास्लु क्षेत्रमा कसरी पर्यटक धेरै लैजान सकिन्छ? भन्नेबारे योजना बनाएका छन्उनले। पहिले गाइड हुँदा चिनेका पर्यटक आए भने कहिलेकाही उनीहरुलाई लिएर मनास्लु घुम्न आफैं जान्छन्। बेलाबखत पर्यटकको करले घुमाउन गएका बेला खुसी भएर दिने टिप्सले उनको गुजारा चलेको छ। बाँकी समय जिल्लाका पदमार्गको अवस्था के छ भनी सोधखोज गर्दामै बित्छ।

महिनामा एकपटक मनास्लु पदमार्गको यात्रा गर्ने गरेको उनी बताउँछन्। कहाँ बाटो भत्किएको छ? कहाँ फड्के बगाएको छ? जानकारीमूलक बोर्डहरुको अवस्था के छ? होटल कस्ता छन्? सेवा कस्तो छ? पर्यटक के भन्छन्? स्थानीयका समस्या के छ? भन्ने विषयमा जानकारी लिन कुनै तालुकदार अड्डाले खटाएझैं उनी सोधखोज गर्छन्। उनले यो सोधखोज गरेर न तलब भत्ता पाउँछन् उल्टै खाना, खाजा र बास खर्च खल्तीबाट व्यहोर्नुपर्छ। मनकारी पदमार्गका व्यापारीले बास र चिया भने उनलाई सित्तैमा पनि खुवाउँछन्।

पदमार्गको समस्या र अवस्था त्यस क्षेत्रमा काम गर्ने मनास्लु संरक्षण क्षेत्र आयोजना, जिल्ला समन्वय समिति, गाउँपालिका र विभिन्न संघसंस्थालाई जानकारी गराउँछन्। माथिल्लो क्षेत्रको बारेमा सदरमुकाममा रहेका कार्यालय र प्रमुख, कर्मचारी खासै जानकार हुँदैनन। सानेले भनेपछि मात्र उनीहरूले थाहा पाउँछन्। आफ्नै आँखाले देखेजस्तो नहुने रहेछ। बारम्बार भनेपछि बजेट छुट्याउँछन तर, दुर्गम भेग भएकाले निर्माण सामग्री ढुवानी गर्न र ज्याला महँगो हुँदा विनियोजन गरेको पैसाले थोरै काम गर्न पनि पुग्दैन। भूगोल र माथिल्लो दुर्गम भेगको अवस्था थाहा नहुँदा छुट्याएको बजेटले त्यहाँ राम्रो काम हुन नसकेकोमा उनलाई चिन्ता छ।

हजारौँ पर्यटक मनास्लु क्षेत्रमा भ्रमण गर्दा कम्तीमा एक सातादेखि १० दिन बिताउँछन्। यो समयमा त्यहाँका किसानदेखि व्यापारी व्यवसायीसँगै जिल्लालाई पनि फाइदा पुग्छ। पर्यटकले यहाँ आउँदा रोयल्टी तिरेर आउँछन्। धेरै पर्यटक आए भने रोयल्टी रकम जिल्लामा पनि धेरै आउँछन्। पदमार्ग क्षेत्रका स्थानीयको पनि जीवनस्तर उकासिन्छ। तर, हाम्रो ध्यान, पदमार्गका स्थानीयको चासो, पर्यटनको क्षेत्रमा काम गर्नेहरूको चाहना सरोकारवालाको योजना त्यति प्रभावकारी देखिँदैन। एकपटक आएपछि पर्यटकलाई अर्को पटक आउने बनाउन उनीहरुको मन जित्नुपर्छ। अझै त्यस्तो गर्न नसकिएकोमा गुरुङलाई चिन्ता छ।

के–के गरे?
जिल्लामा मात्रै होइन उत्तरी गोरखालाई देश विदेशसम्म प्रचारप्रसार गर्न यहाँको पदमार्ग सुधार, भौगोलिक धरातल हेर्न जाने पर्यटकलाई होटल व्यवस्था, गाइड व्यवस्था गर्न दीर्घकालीन योजना बनाउनुपर्ने माग गर्दै उनी प्रदेशदेखि संघीय सरकारसम्मको ध्यान खिच्न सम्बन्धित अड्डामा पुग्छन्। जिल्ला, प्रदेश र संघीय मन्त्रालयमा पुराना कर्मचारी सबैजसोले चिन्छन् उनलाई।

पर्यटकको भरिया बनेर पर्यटन क्षेत्रसँग नजिकिएका साने अहिले पदमार्गको पहिचान र सुधारमा लागेका छन्। रुबीनाला बारपाक, धार्चे मनास्लु पदमार्गका सुधार गरेका छन् उनले। मानिस हिँड्न नसक्ने गरी भत्किएका पदमार्ग भूकम्पपछि उनले सुचारु गराएका हुन्। गोरखाको मनास्लु पदमार्गमा जाने विदेशी पर्यटक अप्ठ्यारो सडकका कारण भिरबाट खस्ने गरेकाले गोरखाको नराम्रो सन्देश जाने भन्दै उनी उक्त पदमार्गमा रेलिङ राख्ने अभियानमा सफल भए। गोरखाको मनकामनादेखि घैरुङ हुँदै सदरमुकाम, कासिगाउँ केरौँजा हुँदै मनास्ल पदमार्ग जोड्ने, सिरानडाँडा, लिगलिगकोट जोड्ने पदमार्गको प्रचार प्रसार र नयाँ ट्रयाकका लागि गुरुङ लागि परेका छन्। त्यहाँ उनले सूचना बोर्ड राख्ने, पदमार्गको प्याकेज बनाउने काम पनि गरे। पदमार्गको प्रचारप्रसार गर्न ‘गाइडबुक’ तयार गर्दैछन्। अमेरिकन नागरिक डाक्टर पिएन पिस्टेट र गुरुङ मिलेर गाइडबुक लेखेका हुन्। ‘गाइडबुकले गोरखालाई चिनाउन मद्दत गर्छ,’ गुरुङ भन्छन् ‘यहाँको पदमार्गको प्रचारप्रसार र पर्यटक केन्द्रित हुन्छ, यसबाट जिल्लाबासीले फाइदा लिन सक्छन्।’ केही महिनाभित्रै ती विदेशी नागरिक यहाँ आएपछि किताब प्रकाशित गर्ने उनले बताए।

अब के छ योजना?
पहिलेजस्तो ओढारमा बस्नुपर्ने अवस्था अहिले छैन तर अहिले हुनुपर्ने जति र पाउनुपर्ने सुविधा पर्यटकले अझै पाएको आभास गरेका छैनन्। गत वर्षपनि पदमार्गबाट लडेर पर्यटक मरे, केही पहिरो खसेर बेपत्ता भए। यस्तो घटना भइरह्यो भने पदमार्गमा जोखिम थपिन्छ, पर्यटकको आकर्षण घट्छ। अहिले भरिया, गाइड भएर रोजगारी पाएकाहरूको बेहाल छ। भौतिक संरचना बलियो बनाएर विश्वास जित्ने गरी योजनाबद्ध रुपमा काम गरे मात्रै पनि गोरखाको विकास दोब्बर गतिमा अगाडि बढ्ने उनको सुझाव छ। यहाँको विकासको आधार नै पर्यटन भएको गुरुङ बताउँछन्।

मनास्लु पदमार्गमा विस्तारै सडक सञ्जाल पुग्दैछ। सडक पुगेपछि उक्त पदमार्गमा विदेशी पर्यटक घट्नसक्ने चिन्ता गुरुङलाई छ। तिब्बतसम्म सडक जोड्न नेपाली सेनाले अहिले ट्रयाक खोलिरहेको छ। पदमार्ग हुँदै अधिकांश  ठाउँमा सडक पर्ने भएकाले यात्रा छोट्टिने, पर्यटक घट्न सक्ने भन्दै अहिले उनी नयाँ पदमार्गको खोजी रहेको बताउँछन्। साताअघि उत्तरी गोरखाको गणेश हिमालको फेदीमा पुगेर फर्किएका उनले भने, ‘त्यहाँ सम्मको पुलपुलेसा, बाटोको अवस्था हेर्न गाउँपालिकाको इन्जिनियरसहित गएको थिएँ, अब नयाँ गन्तव्य खोजिएन भने पर्यटक घट्न सक्छन्।’ रुपिनाला, तल्लो मनास्लु, काशीगाउँ, केरौँजा हुँदै हुल्चुक, दूधपोखरीलगायत ठाउँलाई पदमार्गको रुपमा विकास गर्ने योजनामा लागेको उनी बताउँछन्। गाउँपालिकालाई पदमार्गका लागि बजेट छुट्याउन र मर्मत गर्न उनले झक्झक्याउँदै आएका छन्। जनप्रतिनिधिलाई नै लिएर उनी पदमार्ग देखाउँदै हिँडेका छन्। अन्नपूर्ण पदमार्गपछि विदेशीको रोजाइमा पर्ने मनास्लु पदमार्गमा पर्यटक घट्न नदिने योजना बनाउनमा लागेको उनले सुनाए। पदमार्ग  क्षेत्रमा सचेतना जगाउने, सत्कारसँगै संस्कार सिकाउने, सुरक्षित महसुस गराउनसक्ने हो भने धार्चे र चुमनुब्री (उत्तरी गाउँपालिका) मा पर्यटक टिकाउन सकिने उनको दाबी छ । यसैमा उनी कस्सिएका छन्। ‘जति धेरै दिन बस्यो, गाउँकै खानेकुरा खान्छन्, होटलमा बस्छन्, भरिया, गाइड सबै स्थानीयले काम पाउँछन्,’ उनी भन्छन् ‘यसले सिंगो गाउँलाई फाइदा पु-याउँछ ।’








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad