समुन्द्री दिदी

बुधबार, ११ बैशाख २०७६, १५ : १४ मिथिलेश यादव

वैवाहिक बन्धनमा बाँधिएको दशक नबित्दै पतिको हत्या भयो। एकातिर, नाबालक छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको वियोगात्मक पीडाले एक गृहिणी महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्।

पारिवारिक तथा सामाजिक अपहेलनाको बाबजुद पनि सिरहा नगरपालिका–११ भलुवाहीकी समुन्द्री साह, ३५, जीवनका चुनौती सामना गर्दै अगाडि बढिरहिन्। अदम्य साहस र हिम्मतले उनी आफू मात्र अगाडि बढिनन्, समाजका विपन्न तथा पछाडि परेका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरसमेत बनाइन्।

८ वर्षअघि ‘गृहिणी महिला’ समुन्द्रीको अगुवाइमा सुरु गरिएको सहकारीले सफलता चुम्दै अगाडि बढेको छ। उनले महिला सशक्तीकरण तथा चेतनामूलक कामलाई पनि उत्तिकै महत्व दिएकी छन्।

भलुवाही बस्तीका २५ जना महिलाबाट २५ हजार रुपैयाँबाट सुरु गरिएको डिहबारनी महिला बचत तथा ऋण सहकारी संस्थाले सफलता चुम्दै अगाडि बढेको छ। समुन्द्रीको अगुवाइमा यस संस्थामा अहिले १५ लाखभन्दा बढी जम्मा भइसकेको छ। समाजमा यस संस्थाको ऋण लगानी पनि उत्तिकै परिमाणमा छ।

सहकारीमार्फत समाजलाई समृद्ध बनाउनका लागि गाउँमै बचत गर्ने परिपाटी समुन्द्रीले सुरु गरिन्। मधेसको गाउँमा महिला जागरण तथा बचतसम्बन्धी काम गर्न त्यति सजिलो कहाँ थियो र? सामाजिक परिवेशले उनको यो बाटोमा प्रशस्त काँडा ओछ्याइदियो। महिला समृद्धि अभियान रोक्न समाजका केही पुरुष सदस्य खुलेरै लागे। तर, उनको दृढ अठोट र इच्छाशक्तिका अगाडि सबै अवरोध पन्छिँदै गए।

संघर्ष यात्रा
आठ वर्षअघिको घटना सम्झेर उनका आँखा अझै इन्द्रावती बनेर ओइरिन्छन्। त्यो दिन आउला भन्ने उनले कहिल्यै सोचेकी थिइनन्, जसले उनलाई जीवनकै सबैभन्दा ठूलो चोट दियो। तीन छोराछोरीकी आमा समुन्द्रीको जीवन हाँसीखुसी चल्दै थियो। पतिको एक्कासि हत्याले उनको मुटु छियाछिया बन्यो। पतिको हत्यापछि उनले आफूलाई सम्हाल्दै अठोट गरिन्– लालाबालालाई बुवाको अभाव महसुस हुन दिन्नँ। पतिबिना समाजमा बस्नु सजिलो थिएन। लालाबाला पाल्नुपर्ने जिम्मेवारीको भार। उनले हरेस खाइनन्। समाजसँग जुद्धै जीवनको गति अगाडि बढाइरहिन्।

घरबाट बाहिर निस्कियो कि गाउँलेले उनको कुरा काट्न थालिहाल्थे। तर, उनी त्यसलाई वास्ता गर्दैनथिइन्। बरु, आफूलाई सम्हाल्दै पाइला अगाडि बढाउँथिन्। त्यही समाजका केही महिला उनका सहयोगी बने। हौसला बढाउने महिला समूहकै कारण उनका पाइला डग्मगाएनन्।

समुन्द्रीले एसएलसीसम्मको पढाइ गरेकी छन, उनका अधिकांश सहयोगी निरक्षर। गाउँमा प्रौढ शिक्षामार्फत् उनले धेरै महिलालाई अक्षर चिन्ने बनाइन्। त्यसपछि समुन्द्रीलाई महिला सशक्तीकरण तालिममा सहभागी हुने रहर जाग्यो। उनीमा आत्मबल बढ्दै गयो। शालीन स्वभाव तथा कम बोल्ने बानीले उनी महिलाबीच अगुवा भूमिकामा अग्रसर भइन्। आर्थिक रुपमा आत्मनिर्भर बनाए मात्र महिला सशक्तीकरण सम्भव हुन्छ भन्ने उनले राम्ररी बुझिसकेकी थिइन्। त्यसैले, महिला समूह बनाएर आत्मनिर्भर अभियान अगुवाइ गर्ने अठोट पलायो उनमा। समुन्द्रीले टोलका महिलालाई समेटेर समूह बनाउने कसरत गरिन्। २५ जना महिलालाई एकत्रित पारेर गठन भएको महिला बचत समूह अहिले ४ सय ७० सदस्य रहेको डिहबारनी महिला बचत तथा ऋण सहकारी संस्थाको रुपमा उभिएको छ।

३० वटा महिला बचत समूहमार्फत् यस सहकारीले बचत संकलन र ऋण लगानी गर्दै आएको छ। महिला सदस्य मात्र रहेको यस सहकारीमा बचत जम्मा गर्नेदेखि ऋण लिने सबै महिला नै छन्। महिलालाई जागरुक बनाउने अभियान मधेसी समाजमा कम्ता गाह्रो छैन। महिलालाई सबल, आत्मनिर्भर, स्वावलम्बी बनाउने अभियान सुरु गर्दा समाजका पुरुष उनका आँखी बन्न थाले। समुन्द्रीले बढी बुझ्न थालिन्, महिलालाई बिगार्न थालिन् भन्दै अनेक अड्चन खडा गर्न थाले–समाजका पुरुषले।

देहातका गृहिणी महिलालाई उनले बचतको तरिका मात्र  सिकाइनन्। चुरोट–बिँडी, मदिरालगायत समाजमा विकृति फैलिने पदार्थ सेवनमा हुने खर्च बचाएर जम्मा गर्न लगाइन्। उनको यो तरिकालाई गाउँका महिलाले सिद्धान्त मानेर बचत सुरु गरे। महिलाले पुरुषलाई जुवातास, मदिरा सेवनमा रोक लगाउने अभियान सुरु गरे। यो कार्यको उद्देश्य एउटै होे– बचत वृद्धि। विस्तारै गाउँका महिला पुरुषमाथि अनावश्यक खर्चमा लगाम लगाउन सफल भए। परिणाममा बचत वृद्धि हुन थाल्यो।

पुरुषहरु ‘मरद पुरुखके माइनजन आब जनिजाइत हुअ लगलै (पुरुषको अभिभावक अब महिला हुने )’ भनेर गिज्याउँथे। समुन्द्रीले केही सुनिनन्। नवजात शिशुजस्तै रहेको सहकारी, जसलाई हुर्काउने अठोटसाथ उनी एकहोरो महिला बचत अभियानमा सक्रिय भइरहिन्।

समुन्द्रीको सोच फैलँदै थियो। सहकारीमा महिला सदस्य पनि थपिँदै थिए। सदस्य थपिएसँगै बचत रकम पनि बढ्दै गयो। सदस्य संख्या बढेसँगै सहकारीको घरको आवश्यकता भयो। आरआरएनलगायत संस्थाले यस सहकारीको घर बनाइदिए। संस्थालाई यो उचाइमा पु-याउन समुन्द्रीले घरपरिवारको समेत परवाह गरिनन्। ‘पुरुषमा निर्भर समाजका महिला अहिले आत्मनिर्भर हुँदैछन,’ उनी भन्छिन्, ‘मेरा लागि यो नै ठूलो सन्तुष्टि हो।’

अहिले उनलाई हेर्ने समाजको नजर पनि बदलिएको छ ‘पहिले मलाई आँखी बनाएका पुरुष अहिले सम्मानको आँखाले हेर्छन,’ समुन्द्री भन्छिन, ‘निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ।’

आदर्श बनिन् ‘समुन्द्री’
समुन्द्री साह अचेल गाउँमा समुन्द्री ‘दिदी’ नामले परिचित छिन्। सेयर सदस्य, कर्मचारी, सञ्चालक समितिसमेत महिला रहेको उनको संस्थामा समुन्द्री महिलालाई संस्थामार्फत आयआर्जनका लागि सीपमूलक तालिम दिलाई उद्यमशीलताका लागि सहुलियत दरमा रकम उपलब्ध गराएर स्वरोजगार बनाउने अभियानलाई निरन्तरता दिँदै आएकी छन्।

‘घरेलु हिंसा, झैझगडा भएमा मेलमिलापका लागि प्रहरी कार्यालयदेखि बैठकहरूमा पुग्छु,’ उनले भनिन, ‘राजनीतिक, सामाजिक परिवर्तन भए पनि देहातमा अझै महिलाको पक्षमा न्यायको अवस्था सन्तोषजनक छैन, यसका लागि आफैं अग्रसर हुन्छु। महिलाले दुःख भोग्नु नपरोस, उनको अठोट छ।

संस्थाले विपन्न र पीडित महिलाका लागि सीपमूलक दिएर जीविकोपार्जनमा रकमसमेत सहयोग गर्दै आएको छ। सयौं महिला स्वरोजगारमा संलग्न छन्। बिहानै घरबाट सामाजिक काममा महिला टोलीसँगै निस्कने गरेकी समुन्द्री ‘दिदी’ दिनभर महिला सशक्तीकरणमै लागि परेकी हुन्छिन्। ‘समुदायप्रति चासो बढाउँदै हिंसापीडित महिलाका लागि सेफ हाउस समेत सञ्चालन गरेको छु,’ उनले भनिन।

सहकारीले महिलामा परिवर्तन
सिरहा–१० नरैहियाकी जुरनी मुखियालाई पाँच वर्ष अघिसम्म हातमुख जोर्न धौधौ पर्थ्यो। बचत अभियानकै क्रममा जुरनीसँग समुन्द्रीको भेट भयो। समुन्द्रीले जुरनीलाई सहकारीसँग जोडिन। त्यसपछि सुरुमा जुरनीले सहकारीबाट ५ हजार ऋण लिईन। २ हजारमा ठेला किनेर फुटपाथ व्यापार सञ्चालन गरिन। व्यापारबाट हुने आम्दानीबाट घर खर्च कटाएर ऋण चुक्ता गर्दै गइन्। पति उपेन्द्र मुखियाको दिल्ली पञ्जाब मजदुरीबाट जसोतसो जुरनी परिवारको गुजारा चल्दै थियो। सहकारीमा जोडिन पुगेपछि अहिले जुरनीको जीवन फेरिएको छ। पति उपेन्द्र दिल्ली पञ्जावको कष्टकर मजदुरी छाडेर पत्नीको व्यपारलाई सघाउँदै छन्। सहकारीबाट लिएकोे ऋणबाट सुरु गरेको फुटपाथ व्यापारको कमाइले उपेन्द्रले इरिक्सा किनेर कमाउँदै छन्। जुरनीले फुटपाथ व्यापारबाट सिरहा बजारमा स्थायी व्यापार सञ्चालन गरेकी छन्।

जुरनी एक प्रतिनिधि पात्र हुन्, सहकारीले धेरै महिलालाई सशक्त बनाएकोे छ।  समुन्द्री भन्छिन्,‘यस भेगका अधिकांश ग्रामीण महिलाको जीवन फेरिएको छ।’ पीडितको जीवनमा आएको सकारात्मक परिवर्तन देख्दा सन्तुष्टि हुन्छु, खुसी लाग्छ,’ समुन्द्रीले सुनाइन्।

डिहबारनी महिला बचत तथा ऋण सहकारीमा पदाधिकारीदेखि सेयर सदस्यसम्म सबै महिला छन्, यो सहकारीको विशेषता हो। सहकारीमा ४ सय ७० जना महिला बचतकर्ता तथा बचत १५ लाख छ। बचत समूहमार्फत् १५ लाख ऋण  लगानी भएको छ। ऋणकर्ताले १२ प्रतिशत ब्याज तिर्नुपर्छ। सहकारीमा ४ सय ७० जना महिलाले दैनिक बचत गर्छन्।

यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad