७ वैशाख २०८१ शुक्रबार
समाज

दानवीरकाे दैनिकी

‘घाँसीले त घाँस बेचेर कुवा खनाई कृति राख्यो, तर मैले जीवनभर कमाएको सम्पत्ति बेचेर समाजलाई किन नदिने भन्ने सोच पलाउँछ’

विद्यालय होस् या कुनै सामाजिक तथा धार्मिक संघसंस्था या त पुस्तकालय नै कि नहोस्। यी सामाजिक क्षेत्रमा दान दिन आतुर हुन्छन्, धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका बद्रीनाथ भण्डारी। ९३ वर्षीय बद्रीनाथले जीवनकालमा जोडजाम पारेको जग्गा जमिन बेचेरै भए पनि सामाजिक क्षेत्रमा दान गर्दै आएका छन्।

२०२२ सालदेखि २०४१ सम्म तत्कालीन उर्मा गाउँपञ्चायतको प्रधानपञ्च भएर काम गर्दाताका उनी लोकप्रिय समाजसेवी बने। जनताको काम घरदैलोमै गएर गर्ने र जनताको दुःखमा सहयोग गर्दै आएको बानी परेपछि पछिल्लो समयमा उनी हरेक सामाजिक क्षेत्रमा दान गर्दै आएका छन्।  २०३७ सालमा कैलालीमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस थिएन। धनगढीमा तत्कालीन शिक्षाप्रेमीको अगुवाइमा सामुदायिक क्याम्पसका रुपमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो। क्याम्पस स्थापनाताका धेरथोर रुपैयाँ सबैले सहयोग गर्न थाले। त्यही बेला बद्रीनाथले एक हजार रुपैयाँ दान गरेर शिक्षा क्षेत्रको सहयोगीमा नाम दर्ज गरे। ‘कैलाली बहुमुखी क्याम्पसलाई २०३७ सालमा एक हजार रुपैयाँ दान दिएर दान गर्ने कार्यको सुरुवात गरेँ,’ उनले भने,‘त्यसपछि डोटीको रघुनाथ माध्यमिक विद्यालयलाई २०४० सालमा आफ्नै लगानीमा ६ कोठे पक्की भवन निर्माण गरिदिएँ।’ आफूले पूर्ण शिक्षा आर्जन गर्न नपाएको र गरिबीका कारण शिक्षा आर्जन गर्ने समयमा गाई भैँसी चराउनु परेका कारण आफूलाई पछुतो लागेकाले गरिब विद्यार्थीहरुलाई पढ्न सहज होस् भनेरै सामुदायिक विद्यालयलाई सहयोग गर्दै आएको उनी बताउँछन्।

आफूले कमाएको निजी सम्पत्तिबाट सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा करिब नगदै अढाई करोड रुपैयाँ दान गरेको उनी बताउँछन्। कैलाली बहुमुखी क्याम्पस, रघुनाथ माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय धनगढी,  बेहडाबाबा उच्च माध्यमिक विद्यालय, घण्टेश्वर उच्च माध्यमिक विद्यालय,  शिव सूर्य क्याम्पस र जनता आधारभूत विद्यालयलाई भवन निर्माण, कम्प्युटर खरिद, पुस्तकालय निर्माण तथा तह स्वीकृतिका लागि भन्दै अढाई करोड रुपैयाँ सहयोग गरेका छन्। यसका अलावा उनले  सामाजिक क्षेत्रमा पानी धारा, जग्गा दान, चौतारा निर्माणलगायतका सार्वजनिक हितमा लगानी गरेका छन्।

उनले विभिन्न पटक गरेर ३१ पटक विभिन्न विद्यालय तथा सामाजिक संघसंस्थालाई नगद, जग्गा दान गरेका हुन्। आफूले कति दान गरेँ भन्ने हिसाब किताब नराखेको बताउँदै उनी भन्छन्,‘करिब अढाई करोड बढी सहयोग गरेको छु, अझै गर्नेछु।’ उनले सुदूरपश्चिमका विभिन्न १४ वटा सामुदायिक विद्यालय तथा सामुदायिक क्याम्पसलाई जग्गा दान गर्नुका साथै नगद प्रदान गरेका छन्। त्यस्तै सुदूरपश्चिमका भाषा, कला, संस्कृतिलाई उजागर गर्नका लागि भन्दै उनले सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई भवन निर्माणार्थ दुई लाख ५६ हजार नगद, प्रतीभा सामुदायिक पुस्तकालयलाई भवन निर्माणका लागि एक लाख नगद प्रदान गरे। २०७२ सालमा आएको भूकम्पबाट पीडित बनेकालाई राहतस्वरुप नगद प्रदान, सुदूरको साहित्यलाई उजागर गर्नका लागि बद्री–कृष्ण साहित्य पुरस्कार स्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग, रेडक्रसलाई जग्गा दान, गेटा आँखा अस्पतालमा बिरामीलाई आराम गर्नका लागि अतिथि कक्ष निर्माण गरेका छन्। यसैगरी,  लक्ष्मी नारायण मन्दिरमा धर्मशाला निर्माणका लागि नगद सहयोग, बेहडाबाबा उच्च माविलाई कम्प्युटर खरिदका लागि एक लाख ५० हजार रुपैया, जनता आधारभूत विद्यालयमा अध्ययन गर्ने दलित विद्यार्थीका लागि छात्रवृत्ति कोष भन्दै एक लाख सहयोग गरेका छन्।

वि.सं. १९८३ वैशाख २७ गतेका दिन डोटीको निरौलीमा जन्मेका बद्रीनाथ हाल धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा बसोबास गर्दै आएका छन्। कुञ्जरमणि भण्डारी र इन्द्रादेवीका काइँला सन्तानका रुपमा जन्मेका उनी वर्षौैदेखि सामाजिक क्षेत्रमा दान दिन थाकेका छैनन्।  भण्डारीले समाज सेवाका क्षेत्रमा ठूलो लगानी र योगदान गरेका छन्।

उनले श्री रघुनाथ उ.मा.वि. निरौली डोटीको ६ कोठे टिनको छाना भएको पक्की भवन निर्माणका लागि सहयोग, श्री शारदा उ.मा.वि. बैयाबेहडीको एक कोठे पक्की भवन निर्माणका लागि नगद एक लाख २५ हजार सहयोग,धनगढी–२ मा रहेको शिव मन्दिर निर्माणका लागि नगद ४६ हजार सहयोग, धनगढी–२ मा वाचनालयका लागि आमा इन्द्रदेवीको स्मृतिमा दुई लाख, धनगढी स्थित रामजानकी मन्दिरलाई आर्थिक सहयोग २१ लाख, बेहडाबाबा उ.मा.वि. स्वीकृतिका लागि आर्थिक सहयोग स्वरुप एक लाख, कैलाली बहुमुखी क्याम्पस स्थापना वर्ष आर्थिक सहयोग एक हजार, नेपाल अपाङ्ग संघ कैलालीलाई ५० हजार मूल्य बराबरका कम्प्युटर तथा प्रिन्टर सहयोग, घण्टेश्वर उ.मा.वि. जोरायल डोटीलाई  आर्थिक सहयोग २५ हजार,  रघुनाथ उ.मा.वि.निरौली डोटीमा आमा इन्द्रादेवीको नामबाट छात्रावास निर्माणका लागि दुई लाख सहयोग,  कैलालीको चौमालामा आश्रम निर्माणका लागि ५२ हजार, सुदूरपश्चिमको भाषा संस्कृतिको जगेर्ना गर्न भूमिका खेल्दै आएको सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई भवन निर्माणका लागि दुई लाख ५६ हजार, सोही साहित्य समाजबाट उत्कृष्ट लेखन तथा कृति प्रकाशन पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

त्यस्तै, लक्ष्मीनारायण मन्दिर धनगढी –१ धर्मशाला निर्माणका लागि ५० हजार, गेटा आँखा अस्पतालमा श्रीमती स्वर्गीय कृष्णा भण्डारीको स्मृतिमा एक कोठे बिरामी विश्राम कक्ष निर्माणका लागि तीन लाख, शिव मन्दिर धनगढी–४ मा धारा निर्माणका लागि १७ हजार पाँच सय, बेहडाबाबा उ.मा.वि. उर्मा भवन निर्माणका लागि एक लाख, श्री बद्रीनाथ सामुदायिक अध्ययन केन्द्र धनगढी–२, मा १९ लाख ५० हजार बराबरको तेह्रधुर जग्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा–२, कैलालीलाई दस लाख ५० हजार मूल्य बराबरको सात धुर जग्गा दान, शारदा उच्च मावि बैयाबेहडीमा बद्रीनाथ सामुदायिक शिक्षा केन्द्र स्थापनाका लागि १९ लाख ५० हजार रुपैयाँको लागतमा पुस्तकालय निर्माण गरी समाजमा उदाहरणीय काम गरिसकेका छन्। भण्डारी सहयोगी मन भएका समाज परिवर्तनका सेतु बन्न सफल व्यक्ति भएको यस क्षेत्रका स्थानीय तथा शिक्षाविद् डा. हेमराज पन्त बताउँछन्। ‘बद्रीनाथले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा ठूलो लगानी गर्नुभएको छ,’ पन्तले भने,‘धन र मन दुवै भएका भण्डारी सुदूरपश्चिमको शिक्षा क्षेत्रका लागि उदाहरणीय व्यक्ति हुन्।’

उर्मा गाउँ पञ्चायत प्रधानपञ्च (२०२२–२०४१),  बेहडाबाबा उ.मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष (२०३८–२०४१), कैलाली जनपुस्तकालय प्रबन्ध समिति सदस्य, शिवमन्दिर समिति ध.न.पा.–२ स्थापनाकालदेखि हालसम्म अध्यक्ष, पशुपति विद्या मन्दिर धनगढी–१ गठियार, कैलाली बहुमुखी क्याम्पस, नेपाल रेडक्रस सोसाइटी उपशाखा–२ कैलाली, नेपाल नेत्र ज्योति संघ कैलाली, सुदूपश्चिमाञ्चल साहित्य समाज, नेपाल अपाङ्ग संघ, विश्व हिन्दू परिषद् समन्वय समिति कैलाली,  सनातन धर्म सेवा समिति कैलाली, शिव सेवा केन्द्र धनगढी–२, सृजनशील समाज, शिवमन्दिर धाम उत्तरबेहडी लगायतका संघ संस्थामा आजीवन सदस्य तथा संलग्न रहेका समाजसेवी भण्डारी सुदूरपश्चिमाञ्चल साहित्य समाज, गेटा आँखा अस्पताल, शारदा उच्च माध्यमिक विद्यालय बैयाबेहडी, विद्यार्थी साहित्य प्रतिष्ठान, रघुनाथ उच्च मा.वि. निरौली, शिवमन्दिर धनगढी, सामुदायिक शिक्षा केन्द्र ललितपुर लगायत विभिन्न २५ संघसंस्थाबाट सम्मानित भइसकेका छन्।

स्वास्थ्य खबर पत्रिकाले भण्डारीलाई २०७४ मा ज्येष्ठ नागरिक हेल्थ अवार्डबाट समेत सम्मानित गरिसकेको छ। पत्रिकाले आफ्नो वार्षिकोत्सवमा देशभरबाट भण्डारीलाई ज्येष्ठ नागरिकबाट स्वस्थ नागरिक अवार्ड दिएको हो। झण्डै एक शताब्दी पुग्नै लाग्दा पनि स्वस्थ  र निरोगी भई बाँचेको भन्दै उनलाई स्वास्थ्य खबर पत्रिकाले अवार्ड प्रदान गरेको हो। उनी अहिले पनि एक्लै हिँडडुल गरेर सार्वजनिक सरोकारका कार्यक्रममा सहभागी हुन्छन्। ‘म आफै साहित्यिक, शैक्षिक कार्यक्रममा हिँडेरै सहभागी हुन्छु,’ उनले भने,‘राम्रो काम गरेको शैक्षिक संस्था देख्ने वित्तिकै सहयोग गर्न पनि मन लागिहाल्छ र फ्याट्टै सहयोगको घोषणा गरिहाल्छु।’

उर्मा गाउँपञ्चायतको तीन–तीन पटक प्रधानपञ्च भएका भण्डारी राजनीतिमा रहँदा पूर्णरुपमा समाजसेवामा समर्पित बने। उनले प्रधानपञ्च भएकै समयमा वि.सं. २०२९ सालतिर  उर्माको घसिता गाउँमा आफ्नै नेतृत्वमा बेहडाबाबा मा.वि.को स्थापना गरे। उनले त्यसबेला विद्यालयको नाममा ११ बिघा जमिन समेत सहयोग गरे। विद्यालयलाई जमिन उपलब्ध भएपछि भौतिक संरचना निर्माणमा सहजता भएको उनी बताउँछन्।

‘विद्यालय स्थापना त  ग-यौँ, तर जमिन नै थिएन,’ उनले भने,‘जब ११ बिघा जमिन दर्ता गराइदिएँ त्यसपछि भौतिक संरचना निर्माणमा टेवा पुग्यो।’ समाजमा आफूले पूर्ण अध्ययन गर्न नपाए पनि सबैले सहज रुपमा अध्ययन गर्न पाउन् भनेरै आफूले सरकारी विद्यालयलाई सहयोग गर्दै आएको बताउने भण्डारी भन्छन्,‘धन भएकाहरुको मन हुँदैन, मन भएकाहरुको धन हुन्न भन्ने चिर्न पनि मैले भएभरको सम्पत्ति बेच्दै शैक्षिक संस्था, पुस्तकालय र धार्मिक कार्यमा लगाउन थालेको हुँ।’

घाँसीले घाँस बेचेर कृति राखेको स्मरण गर्दै उनी भन्छन्, ‘घाँसीले त घाँस बेचेर कुवा खनाई कृति राख्यो, तर मैले जीवनभर मिहिनेत गरेर कमाएको सम्पत्ति बेचेर किन समाजलाई किन नदिने भन्ने सोच पलाउँछ।’ समाजमा आर्थिक दान गर्ने सोचलाई छोराहरुले समेत राम्रो साथ दिइरहेको उनी बताउँछन्। ‘सबै छोराहरुको अंशबण्डा गरिदिएको छु,’ उनले भने,‘दान गर्छु भनेर नै छोराहरुको सहमतिमा मैले केही जमिन राखेको छु।’

बुबाले सामाजिक क्षेत्रमा गर्ने दानलाई आफूहरुले पनि सहयोग गर्दै आएको बताउँदै उनका कान्छा छोरा राजेश भण्डारीले भने,‘बुबाको पहिलेदेखिकै दान गर्ने रहरलाई मर्न नदिन हामीले पनि आम्दानीको केही अंश बुबालाई दिँदै आएका छौँ।’ आफूहरुले दिएको पैसा र बुबाले दान गर्न भनेरै राखेको केही जमिन बेचेरै समय समयमा दान गर्दै आइरहेको उनी बताउँछन्। बद्रीनाथ भण्डारी यस समाजको एउटा दानवीर समाजसेवी व्यक्तित्व भएको २०७२ का मदन पुरस्कार विजेता रामलाल जोशी बताउँछन्।

‘सुदूरपश्चिमको शिक्षा, धर्म, संस्कृति, कला साहित्य र समाज सेवाका क्षेत्रमा उहाँको अमूल्य योगदान छ,’ उनले भने,‘उमेरले सुदूरपश्चिमेली समाजका ज्येष्ठ सदस्य भएर पनि एउटा युवा जोश र जाँगर समेत राखेर उहाँले ती हरेक क्षेत्रमा उत्तिकै योगदान र सहयोग पु-याइरहनु भएको छ।’ आफूले बाँचेको समयको युवादेखि वृद्ध पुस्तासम्मको उहाँ एक प्रेरणादायी अगुवा नागरिक भएको उनी बताउँछन्।

प्रकाशित: ११ वैशाख २०७६ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App