६ वैशाख २०८१ बिहीबार
समाज

यस्ती आमा

उनलाई यति धेरै फोन आउँछन् कि, आएका फोन रिसिभ गर्नसमेत कहिलेकाहीं  नभ्याइएलाजस्तै हुन्छ। जन्मदिन, विवाह, आफ्ना आमा–बुबाको श्राद्ध वा जे अवसर आइलाग्छ, विष्णु दाहाललाई फोन गर्नेको संख्या उत्तिकै बढिहाल्छ।

जति फोन आउँछन्, ९५ प्रतिशतभन्दा बढी चाहिँ आफूले गरेजस्तै सामाजिक कामकै लागि हुने भएकाले फोन उठाउन झर्किन्नन् उनी। ‘वृद्धवृद्धालाई खानेकुरा दिन्छु, चामल दिन्छु, लगाउने कपडा दान गर्छु, पैसा दिन्छु र फलफूल दिन्छु भन्नेले फोन गर्छन्,’ दाहाल भन्छिन्, ‘मलाई जीवनमा राम्रै काम गरिएछ भनेर सबैभन्दा खुसी लाग्ने क्षण पनि त्यही नै हो।’

जीवनको साढे सात दशक पार गर्दा आफ्नो जीवनसँग सन्तुष्ट बनेकी महिला हुन् विष्णु। सधैं अरूको भलाइ र सामाजिक काममा दत्तचित्त दाहाल घरमा बस्न भ्याउँदिनन्, गाउँले महिलामाथि भएका घरेलु हिंसा, अन्याय, अत्याचार र विशेषगरी ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा उनी संवेदनशील देखिन्छिन्। युवावयदेखि नै घरेलु हिंसाविरुद्ध उठाएको आवाजले उनलाई अधिकारप्राप्तिका लागि लड्न पाठ सिकायो। र, दाहाललाई समाजसेवीका रूपमा चिनाउने गरी स्थापना भएको माई भगवती वृद्धाश्रमको अवधारणा पनि आफैंले गरेको कामले नै दियो।

इलाममा सशक्त, जुझारु महिला खोज्नुप-यो भने धेरैले पहिलो नम्बरमा रोज्ने नाम भएको छ–विष्णु दाहाल। कसैको आशीर्वाद र बहकाउले होइन, आफूले गरेकै कामले दाहाललाई यो सिँढीमा चढाएको हो। शिक्षा र चेतनाका हिसाबले निकै पछाडि रहेको पूर्वको लिम्बू समुदायमा जन्मेर आजभन्दा ५५ वर्षअघि नै प्रवेशिका (एसएलसी) पास गर्दा मात्र होइन, त्यतिबेलाको समाजमा लिम्बूकी छोरी भएर बाहुनको छोरासँग अन्तरजातीय बिहे गर्नुले पनि विष्णु लिम्बूलाई साहसी महिलाका रूपमा चिनायो। ‘महिलालाई पढाए बोक्सी हुन्छन्’ भन्ने जमानाको त्यो पढाइ, बाहुनकी लिम्बू बुहारीका रूपमा घर–व्यवहारमा गर्नुपरेको संघर्ष र त्यसपछिको समाजसेवाले नै उनलाई अहिले जिल्लामा परिचित गराएको छ। असहाय वृद्धवृद्धाकी ‘आमा’का रूपमा परिचित गराएको छ।

संघर्षैसंघर्षले भरिएको जीवनमा दाहालले गरेको सबैभन्दा अनुकरणीय काम हो माई भगवती वृद्धाश्रम स्थापना। वृद्धाश्रमले वृद्धवृद्धालाई आश्रय मात्र दिएको छैन, आफ्ना बाबु–आमा नहुनेले वृद्धाश्रमका वृद्धवृद्धामाथि निर्वाह गरेको कर्तव्य बाबु–आमा हुनेका लागि सबैभन्दा ठूलो प्रेरणा भएको छ। देश–विदेशबाट वृद्धाश्रम आएर वृद्धवृद्धाको सेवा गर्नेहरू घरमा जिउँदा बाबु–आमालाई हेला गर्नेका लागि गतिलो जवाफ भइदिएका छन्। ‘धेरै हन्डर–ठक्कर खाएर ७० भन्दा बढी वसन्त छिचोलियो, वृद्धाश्रम नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ,’ दाहाल मुस्कुराउँदै भन्छिन्, ‘जब मन अरू कारणले अशान्त हुन्छ, वृद्धाश्रम सम्झेर भित्रैदेखि खुसी भइहाल्छु।’

इलाम सदरमुकामभन्दा करिब १५ किलोमिटरमा रहेको माइखोला किनारमा स्थापना भएको वृद्धाश्रममा अहिले ११ वृद्धवृद्धा बस्छन्। २०६३ सालयता यो वृद्धाश्रममा ३० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइसकेका छन्। घरेलु हिंसा न्यूनीकरणका लागि दाहालकै अगुवाईमा स्थापना भएको महिला जागरण संघमार्फत् स्थानीयकै चन्दा र दाताको सहयोगमा वृद्धाश्रम स्थापना भएको हो। अहिले कसैलाई जिन्सी, नगद वा अरू केही दान गर्न मन लाग्यो कि, सबैभन्दा पहिले यही वृद्धाश्रम सम्झिन्छन् र उनै विष्णु दाहाललाई फोन गरिहाल्छन्। ‘आज मेरो जन्मदिन, आज मेरो बाबु वा आमाको श्राद्ध, आज मेरो फलानो अवसर, यो र त्यो चिज दान गर्छु भन्नेको लर्काे लागिरहन्छ,’ दाहाल भन्छिन्, ‘घर वा पार्टी प्यालेसतिर बिहे गरेर खर्च गर्नुभन्दा वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल, खाद्यान्न र लुगाफाटो दिएर बिहे उत्सव मनाउँछु भन्नेहरू आइरहेका छन्।’

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक जो बेसहारा छन्, उनीहरू वृद्धाश्रममा बस्न सक्छन्। खाने–लाउने व्यवस्था वृद्धाश्रममै छ। बिरामी भए उपचारको व्यवस्था पनि यहीं छ। अहिले यहाँ रहेका ८१ वर्षसम्मका वृद्धवृद्धा आफूले वृद्धाश्रममा आएपछि घर बिर्सेको सुनाउँछन्। ‘यहाँ बस्न थालेपछि त घरभन्दा राम्रो लागेको छ,’ ८१ वर्षीया देउमाया घिमिरेले सुनाइन्, ‘धन्न यो घर (वृद्धाश्रम) रहेछ र बुढेसकालमा सुख पाइयो। विष्णु बहिनी हाम्री आमाजस्तै हुन्।’ अर्की वृद्धा लालमाया गुरुङलाई चाहिँ आफू कसरी यहाँसम्म आइपुगें भन्ने पनि खासै हेक्का छैन। घर–परिवारबाट तिरस्कृत लालमायालाई ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्रालयको पहलमा आफूहरूले यहाँसम्म ल्याएको विष्णुले बताइन्। ‘इलाम र यहीं वरपर घर भएका मात्र होइन, मन्त्रालयले बिजोक अवस्थामा फेला पारेका वृद्धवृद्धासमेत हामीलाई सम्पर्क गरी यहाँ पठाइदिन्छ,’ दाहालले सुनाइन्, ‘वृद्धाश्रम ३० जना क्षमताको हो।’

स्थापनाका बेला साविक इलाम नगरपालिका–३ का बान्सिन्दाले संकलन गरेको मुठीदानबाट यो वृद्धाश्रम सञ्चालन भयो। स्थानीयले हरेक दिन खाने खानाको एकमुठी चामल निकालेर वृद्धाश्रमका लागि छुट्याउने गरेका थिए। यसरी छुट्याइएको अन्न प्रतिमहिनामा प्रतिघरको १ किलो संकलन हुन्थ्यो। अहिले अन्य स्थानबाट चन्दा संकलन भएर त्यसैले वृद्धाश्रमलाई पुग्न थालेको छ। स्थानीयबाट भएको मुठीदान अहिले इलाम नगरपालिकाकै राहसल बाल अनाथालयलाई जिम्मा लगाइदिएको उनले बताइन्। वृद्धाश्रममा नेपालका विभिन्न स्थानका मात्र होइन भारतबाटसमेत आउने दाताले सहयोग गरेका छन्। ‘दाताको दान र सहयोगले नै वृद्धवृद्धालाई खान–लाउन पुग्दैछ,’ उनले भनिन्, ‘कहिलेकाहीं त वृद्धाश्रममा आएको दान प्राकृतिक विपत्तिमा परेकालाई राहतसमेत दिन्छौं।’

घरमा हेलाहोचो खपेर बाँच्न बाध्य बनेका वृद्धवृद्धाको सेवा गर्न वृद्धाश्रम स्थापना गरेको उनी बताउँछिन्। सुरुमा तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, वृद्धाश्रमनजिकै रहेको दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र समाजसेवी प्रेमप्रसाद शर्माको १–१ लाख रुपैयाँको सहयोग तथा स्थानीयको चन्दाबाट ५ लाख रुपैयाँ संकलन गरी वृद्धाश्रमको खर्च जुटाइएको थियो। यो रुपैयाँको वार्षिक व्याजका रुपमा हुन आउने ३४ हजार रुपैयाँले केही वर्ष वृद्धाश्रमको खर्च चलाउनुपरेको थियो। वृद्धाश्रम स्थापनाका लागि पुराण लगाएर अढाई लाख रुपैयाँ जुटाइएको थियो।

२००२ साल फागुन ५ मा इलामको तत्कालीन साङरुम्बा गाउँमा जन्मेकी दाहालले प्राथमिक शिक्षा गाउँकै विद्यालयमा लिइन्। गाउँमा स्कुल थिएनन्। चौतारामा ‘क’ ‘ख’ सिकिन्। गाउँको एउटा स्कुलमा कक्षा २ सम्म पढेपछि उनी अरूलाई पनि त्यही स्कुलमा ‘क’ ‘ख’ सिकाउन थालिन्। गाउँमा कक्षा ६ सम्म मात्रै पढाइ हुन्थ्यो। कक्षा ७ पढ्न इलाम सदरमुकाम आउने अवसर उनलाई आफ्नै दिदीले दिएकी थिइन्। ‘म परिवारमा ६ दिदी–बहिनीकी अन्तरी हुँ,’ उनले भनिन्, ‘दिदीले घरेलु उद्यमको एउटा तालिम लिएपछि छोरीहरूलाई पढाउनुपर्छ भन्ने बुझ्नुभएको रहेछ, उहाँले नै आमासँग कुरा गरेर मलाई पढाउन इलाम सदरमुकाम ल्याउनुभयो।’

२०१७ सालमा सदरमुकाम आएकी दाहालले ०२१ सालमा सरस्वती कन्या स्कुलबाट एसएलसी परीक्षा पास गरिन्। त्यतिबेला नेपालमा शिक्षक नभएर भारतको दार्जिलिङ र खर्साङबाट उनको विद्यालयमा शिक्षक ल्याइएका रहेछन्। ‘एसएलसी पास गरेपछि इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा १ वर्षका लागि छात्रवृत्ति पाएँ,’ उनले सम्झिइन्, ‘लिम्बूकी छोरीले पढाइमा छात्रवृत्ति पाउँदा केहीले विरोध गरे। तर, कसैको केही लागेन। परीक्षा दिन काठमाडौं जानुपर्थ्याे, काठमाडौंको परीक्षा पास गर्न सकिनँ, १ वर्षपछि विराटनगरमा पुनः परीक्षा भयो, त्यसमा मात्रै सफल भएँ।’

विराटनगरमा परीक्षा दिएकै बेला उनको इलामका वेदप्रकाश दाहालसँग भेट भएको थियो। ‘परीक्षा दिएपछि वेदप्रकाश र मैले बिहे गर्ने निधो ग-यौं,’ उनले २०२४ साल सम्झिइन्, ‘लिम्बूकी छोरीले दाहालको छोरासँग बिहे गरेको सुनेर घर–परिवारदेखि समाजले पचाउने कुरा थिएन। तर, अन्ततः दुवै पक्षका घर–परिवारले चाहिँ जे हुनु भइगयो भनेर हामीलाई बोलाउनुभयो।’

बाहुनकी बुहारी भएपछि उनलाई घरमा त्यति सहज भएन। सासु–ससुराले आफूले पकाएको खाना खाइदिएनन्। ‘धेरै समस्या आए तर मैले हरेस खाइनँ,’ उनले भनिन्, ‘त्यतिबेला हाम्रो होटल पनि थियो। अगाडि आएका सबै काम म गरिदिन्थें, सक्ने र मैले हुनेजति सबै काम गरेपछि सासु–ससुराको मन फिर्थ्याे। मलाई घर–परिवारले हेला नै त गरेनन् तर समाजमा समायोजन हुन चाहिँ निकै संघर्ष गर्नुपर्थ्यो।’ परिवार र समाजमा संघर्ष गर्दागर्दै उनले महिलामाथिको विभेद, घरेलु हिंसा र मानिसमाथि हुने अधिकार हनन्का घटना थाहा पाइन्। ‘अलि–अलि पढेलेखेकी भएकैले पनि म त्यस्ता समस्या बुझ्न सक्थें,’ उनले भनिन्, ‘त्यसपछि सामाजिक सेवा गर्ने अवसर चाहिँ नारी विकास संघ र रेडक्रसले दिए।’

२०३८ सालमा नेपाल रेडक्रस सोसाइटीको सदस्य रहेकी दाहाल २०४१ सालमा जिल्ला अध्यक्ष भइन्। ‘केही गरेर देखाउने जोस, जाँगर भएकी महिला देखेर मलाई रेडक्रसको अध्यक्षजस्तो पदमा साथीहरूले ३५ भोटले जिताउनुभयो,’  उनले भनिन्, ‘अन्य २ जना पुरुष उम्मेदवारलाई हराएर मैले जित्नु निकै ठूलो उपलब्धि थियो त्यो।’ दाहालले २०४१ सालमा नारी विकास संघ स्थापना गरेर काम गरिरहेको पनि गाउँ–समाजले देखेको थियो। उनकै पहलमा गठन भएको नारी विकास संघले इलामको गोलाखर्कमा रेशम खेती सुरु गरेको थियो।

रेडक्रस र नारी विकास संघमा आबद्ध रहँदा दाहालले गाउँ–समाजमा भइरहेका महिला हिंसा र विभेद अन्त्य गर्ने अठोट गरिन्। तर, त्यसका लागि कुनै उपयुक्त संस्था चाहिने थियो। महिलामाथिको विभेद अन्त्य गर्नकै लागि उनको अगुवाईमा २०४८ सालमा महिला जागरण संघ स्थापना भयो। संघले हिंसामा परेका महिलाको न्यायका लागि काम गर्न थालेपछि महिनामा दर्जनौं त्यस्ता मुद्दा आउन थाले । ‘त्यो जमानामा महिलाहरू परिवारभित्र भएको हिंसाविरुद्ध बोल्न सक्दैनथे, तैपनि महिला जागरण संघमा यति मुद्दा आउँथे कि, हामीले छलफल चलाउनै गाह्रो थियो,’ उनले भनिन्, ‘हामी गाउँ–गाउँका त्यस्ता मुद्धा स्वयंसेवी रूपमा खटेर छलफलमार्फत् समाधान गरिदिन्थ्यौं, अहिले पनि गर्छौं ।’ उनले त्यतिबेला आएका र नमिलेका मुद्दा प्रहरी–प्रशासन र न्यायालयसम्म पठाइदिने गरेको बताइन्।

अहिले पनि कोही घरेलु हिंसामा प-यो, कसैले आफू अन्यायमा परेको अनुभव ग-यो वा कोही असहाय व्यक्तिलाई आश्रय चाहियो भने सम्झिने नाम भएकी छिन् विष्णु दाहाल। उनी हिंसापीडित महिलालाई लिएर प्रहरी–प्रशासनसम्म पुगिदिन्छिन्, न्यायिक समितिमा जाने सल्लाह दिन्छिन् र सानातिना झगडा त आफैं मध्यस्थकर्ता भएर मिलाइदिन्छिन्। ‘हामीले तालिम दिएर महिला हिंसाविरुद्ध बोल्न सिकाएका महिला अहिले जनप्रतिनिधि हुनुभएको छ, उहाँहरू पनि गाउँका समस्याबारे बारम्बार सम्पर्क गरिरहनुहुन्छ,’ दाहालले भनिन्, ‘अहिले त गाउँमै न्यायिक समिति बनेकाले मुद्दाको लोड पनि घटेको छ।’ संघमार्फत् विभिन्न सीप सिकेका महिला आफैं व्यावसायिक बनेको देख्दा आफूलाई सन्तुष्ट लाग्ने गरेको उनले सुनाइन्।

दाहाललाई इलामे अगुवाहरू निकै हक्की र निस्वार्थी महिलाका रूपमा चिन्छन्। ‘निकै हक्की स्वभावकी दाहालको व्यक्तिगत स्वार्थका लागि सार्वजनिक सम्पत्तिमा मोह छैन,’ २०६१ सालदेखि वृद्धाश्रम सञ्चालनमा सहयोग गरिरहेका अग्रज पत्रकार धर्म गौतम भन्छन्, ‘निकै संघर्षशील विष्णु दाहाल घरेलु हिंसा अन्त्य गर्न र ज्येष्ठ नागरिकको सेवामा सधैं क्रियाशील हुनुहुन्छ। उहाँ धेरैजनाको प्रेरणाको स्रोत पनि हो।’

इलामस्थित हरितनगर महिला समूहकी अध्यक्ष रीना घिमिरे विष्णु दाहालका कामलाई सबैले अनुकरण गर्नुपर्ने बताउँछिन्। ‘बुढेसकालमा उहाँको सक्रियता देख्दा हामीलाई काम गर्ने जाँगर बढ्छ, अरूलाई हौस्याउनुभएको छ उहाँले,’ घिमिरे भन्छिन्, ‘इलाममा कुनै कामविशेषले महिला छान्नुपर्दा अग्रपंक्तिमा उहाँकै नाम आउँछ। उहाँले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानको प्रतिफल हो त्यो।’ नयाँ पिँढीलाई असर चरित्र र सामाजिक न्याय सिकाउन व्यवहार नै परिवर्तन गराउनेसम्मको चेतना जगाउन सफल व्यक्ति विष्णु दाहाल नै भएको घिमिरे बताउँछिन्।

दाहाल २०५० सालयता महिला जागरण संघको अध्यक्ष छिन् । जिल्ला सहकारी संघको २ कार्यकाल अध्यक्ष भइसकेकी दाहाल भर्खरै पुनः तेस्रो कार्यकालका लागि चुनिएकी छिन्। ‘बुढेसकाल नै भएपनि काम गर्ने जाँगर मरेको छैन,’ उनले भनिन्, ‘समाजसेवा गरेरै जीवन बिताउने सोचमा छु।’ २०६४ सालयता संविधानसभासहित स्थानीय निर्वाचनहरूमा उनलाई धेरैले उम्मेदवारका रूपमा अनुमान गर्छन्। नेपाली कांग्रेसबाट उम्मेदवारका रूपमा उनी स्थानीय समितिबाट सिफारिसमा समेत नपरेकी होइनन्। तर, उनको नाम हरेक पटक अन्तिम समयमा आएर उम्मेदवारको सूचीबाट हटाइएको थियो। ‘नातावाद, क्रिपावाद र गाँठ (पैसा) ठूलो हुनेले मात्रै राजनीति गर्नुपर्नेरहेछ भन्ने थाहा छ,’ उनले भनिन्।

प्रकाशित: ११ वैशाख २०७६ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App