१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दीनदुःखीका डाक्टर

लाखौं रुपियाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा पाइला टेक्नै चाहँदैनन्। समाजमा केही यस्ता डाक्टर छन्, जो सहरको सुखसयल र अवसर छाडेर दुर्गममा बिरामीको उपचार गर्छन्। आफूले पाएको तलबले दीनदुःखीको घाउमा मल्हम लगाउन तत्पर हुन्छन्।

कर्णाली प्रदेश अस्पताल, सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी यस्तै अपवाद हुन्। उनले कर्णाली क्षेत्रको बालस्वास्थ्य सुधारका साथै स्वास्थ्य र वातावरणसम्बन्धी अभियान चलाउँदै आएका छन्। उनले मन मिल्ने साथीहरूको साथ लिएर विङ्स फाउन्डेसन स्थापना गरेका छन्। आफ्नो मासिक तलबवापत आउने रकम फाउन्डेसनलाई दिन्छन् उनी।

पछिल्लो समय केही उदारमना स्वास्थ्यकर्मी र अन्य पेसाकर्मीले पनि आफ्नोे आम्दानीको निश्चित रकम फाउन्डेसनलाई दिने गरेका छन्। यो नितान्त स्वयंसेवी संस्था हो। अहिलेसम्म कुनै पनि विदेशी दाताको सहयोग लिएका छैनन् उनले। नेपालगन्ज मेडिकल कलेजबाट छात्रवृत्तिमा एमबिबिएसको पढाइ सिध्याएपछि उनले फिलिपिन्सबाट एमडी पूरा गरे। उनका लागि देशका सुगम क्षेत्र मात्र होइनन्, विदेशमा पनि रोजगारीका ढोका खुलै थिए। अहँ उनले यसो गरेनन्। उनले आफ्नै क्षेत्रमा सेवा गर्ने निधो गरे र, पाँच वर्षअघि सुर्खेत आइपुगे।

सुर्खेत आएको छोटो समयमै उनले गरेका सामाजिक काम उदाहरणीय छन्। देशकै दुर्गम कर्णाली प्रदेशका विभिन्न जिल्ला पुगेर उनले निःशुल्क स्वास्थ्य शिविर र तालिम सञ्चालन गर्दै आएका छन्। विङ्स फाउन्डेसनमार्फत् उनी अपांगता भएका दुर्गमका बालबालिकाको निःशुल्क उपचार गराउँछन्।

गत चैत २३ गते रिपोर्टिङको सिलसिलामा नागरिक संवाददाताले कुराकानी गर्न खोज्दा डा. केसी मुगुको गमगढीमा थिए। मुगुका स्वास्थ्यकर्मी (अहेब, सिएमए, अनमि) हरूको क्षमता अभिवृद्धिका लागि त्यहाँ उनले आफ्नै खर्चमा स्वास्थ्य सम्बन्धी तालिम आयोजना गरेका थिए। कर्णालीका मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालिकोट जिल्लामा बाल स्वास्थ्य सुधार गर्न उनी अहोरात्र खटिइरहेका छन्। ‘बच्चाको रोगमध्ये ६०–६५ प्रतिशत हिस्सा गाउँमा छ, तर, गाउँमा ५–१० प्रतिशत बच्चाका डाक्टर पनि छैनन्,’ उनी भन्छन्, ‘बजेट विनियोजनको अवस्था पनि उस्तै छ, अधिकांश बजेट सहरी क्षेत्रमा खर्च हुन्छ। गाउँका स्वास्थ्य केन्द्रमा बालबालिकाका नाममा न्युन बजेट छुट्याइएको हुन्छ।’ दुर्गम क्षेत्रको बाल स्वास्थ्यका लागि सरकारले ध्यान दिन नसकेको उनको धारणा छ। स्वास्थ्य क्षेत्रको सुधारले मात्र समाजमा परिवर्तन आउन नसक्ने उनी बताउँछन्। त्यही भएर डा. केसीको विङ्स फाउन्डेसनले अन्य सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ। स्वास्थ्य, सरसफाइ, वातावरण आदि क्षेत्रलाई उनले प्राथमिकतामा राख्ने गरेका छन्। ‘एक चिकित्सकले रोगको पहिचान गरी निदान गर्नु ठूलो होइन, समाजको रोग खुट्याएर त्यसको निदान गर्नु महत्वपूर्ण कुरा हो,’ डा. केसी भन्छन्, ‘त्यही सोच र भावनाले आफ्नै गाउँ–ठाउँमा बिरामीको उपचार साथै सामाजिक काममा सक्रिय छु।’ उनी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बाल स्वास्थ्य सुधार अभियानमा  समर्पित छन्।

फाउन्डेसनमार्फत् उनले कर्णालीका विभिन्न जिल्लामा अपांगता भएका बालबालिकाको निःशुल्क उपचार व्यवस्था मिलाएका छन्। यसका साथै विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ अभियान र अन्य सामाजिक कामलाई निरन्तरता दिँदै आएका छन्। चिकित्साशास्त्र अध्ययन गर्ने अधिकांशको लक्ष्य हुन्छ–डाक्टरी पढेर नाम र दाम कमाउने। तर, उनले दामलाई कहिल्यै प्राथमिकतामा राखेनन्। ‘मैले स्वास्थ्य सेवालाई जागिरका रूपमा कहिल्यै लिइनँ, यसलाई सामाजिक सेवा र धर्मका रूपमा लिएर काम गरिरहेको छु,’ डा. केसीले भने, ‘जागिरबाट पाउने पूरै तलब फाउन्डेसनमा जम्मा गरेर सेवामा खर्च गर्छु।’

डा. केसी सुर्खेत आएको पाँच वर्ष भयो। यो अवधिमा कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा पुगेर ४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। निःशुल्क औषधि वितरण गरेका छन्। उनी गाउँमा उपचार हुन नसक्ने बिरामीलाई सहरका अस्पतालमा पु-याएर पनि सेवा दिन्छन्।

फाउन्डेसनमार्फत् उनले वीरेन्द्रनगरमा अपांगता भएका बालबालिकाका लागि पुन:र्स्थापना केन्द्र सञ्चालनमा ल्याएका छन्। हिँडडुल गर्न नसक्ने र विशेष क्षमता भएका बालबालिकाको यहाँ निःशुल्क उपचार हुन्छ। ‘आफ्नो  बच्चा स्वस्थ, तन्दुरुस्त होस् भन्ने चाहना सबै अभिभावकको हुन्छ,’ उनले भने, ‘विभिन्न कारणले उमेर पुगेर पनि हिँडडुल गर्न नसक्ने त्यस्ता बालबालिकाको निःशुल्क उपचारका लागि पुन:र्स्थापना केन्द्र सञ्चालनमा ल्याएको हुँ।’

तीन वर्षअघि स्थापित केन्द्रबाट हालसम्म तीन सयभन्दा बढी बालबालिकाले निःशुल्क उपचार पाएका छन्। पुन:र्स्थापना केन्द्रमा हिँडडुल गर्न नसक्ने बालबालिकाका लागि विभिन्न उपकरणमार्फत् अभ्यास गराउने, आवश्यक परेको खण्डमा औषधि दिने गरिन्छ। शारीरिक अपांगता भएका यस्ता बालबालिकाका आमामा ‘इन्जाइटी’ र ‘डिप्रेसन’को समस्या देखिन्छ। उपचारपछि भने त्यस्ता आमा सन्तानसँगै खुसी बोकेर घर फर्कने गरेको उनले बताए।

डा. केसी दैनिक दुई सय हाराहारी बालबालिकाको चेकजाँच गर्छन्। ‘उपचारका लागि आउने बालबालिकाको अनुहार हेर्दा थकान मेटिन्छ,’ डा. केसी भन्छन्, ‘अझ उपचारपछि सञ्चो भएर घर फर्कदा पाइने खुसीको सीमा रहँदैन।’ कर्णालीमा कुपोषणको समस्या धेरै छ।

एमडी पूरा गरेपछि उनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) पुगेका थिए। अस्पतालको अवस्था दयनीय थियो। बालरोग विशेषज्ञ थिएनन्। अस्पतालको दूरावस्था देखेपछि उनले आफ्नै जिल्लामा बस्ने निर्णय गरे। ‘गाउँका दुर्गम क्षेत्रबाट आउने विपन्न जनताको उपचार गर्ने अवसर प्राप्त हुने भएकाले आफ्नै ठाउँको अस्पताल रोजेको हुँ,’ उनले भने, ‘अहिले जे गरिरहेको छु, जुन किसिमको माया पाइरहेको छु, त्यसमा सन्तुष्ट छु।’

ग्रीन सुर्खेत, क्लिन सुर्खेत अभियान
अघिल्लो वर्ष वीरेन्द्रनगरका एक वयस्कको काठमाडौंको निधन भयो। उनको ब्लड कल्चर परीक्षण गर्दा किटाणुको संक्रमण देखियो। ‘यो नालीमा जमेको फोहोरबाट लाग्ने रोग थियो,’ उनले भने, ‘त्यसपछि व्यक्तिको उपचार गरेर मात्रै नहुने देखिएपछि ‘ग्रीन सुर्खेत, क्लिन सुर्खेत’ अभियान सुरु गरिएको हो।’ सुर्खेतलगायत बजार क्षेत्रका नालीमा अस्पतालदेखि क्लिनिकको फोहोर जम्मा हुन्छ। डा. केसीका अनुसार फोहोर व्यवस्थापन गर्न सकेको खण्डमा मात्रै ५० देखि ६० प्रतिशत रोग व्यवस्थापन गर्न सकिन्छ। फाउन्डेसनले वीरेन्द्रनगरमा चेतनामूलक सरसफाइ कार्यक्रम गर्नुका साथै ठाउँठाउँमा फोहोर राख्ने भाँडा (डस्टबिन) र पार्क निर्माण गर्ने गरेको छ। डा. केसीले प्रत्येक शनिबार वीरेन्द्रनगरमा सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्। उनी आफैं बेल्चाले नालीभित्रको फोहोर उठाउँछन्। झाडुले सडक र चोक सफा गर्छन्। फोहोर थुप्रिएको ठाउँमा पार्क निर्माण गर्छन्। उनकै अगुवाइमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले सरसफाइमा ठूलो फड्को मारेको छ ।

स्थानीय सरकार अहिले उनको अभियानमा जोडिएको छ। ‘गरे नहुने केही छैन,’ डा. केसी भन्छन्, ‘अहिले फोहर थुपारिने ठाउँ अहिले सुन्दर बगैचामा परिणत भएका छन्, अभियानमा दिनदिनै विभिन्न सामाजिक संघ–संस्था मात्रै होइन्, स्थानीय र प्रदेश सरकार पनि जोडिएका छन्।’ बिरामीको सेवामा लाग्नुपर्ने चिकित्सक हातमा झाडु र बेल्चा बोकेर सडक र नाली सफा गर्न निस्केपछि आफूहरूलाई पनि जिम्मेवारीप्रति बोध गराएको उनीहरू बताउँछन्। ‘डाक्टर केसीको अभियानले साँच्चै परिवर्तनको अनुभूति गराएको छ,’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भने, ‘अभियान प्रभावकारी हुँदै गएको छ, स्थानीय सरकारसँगसँगै रहेर अभियानलाई सघाउन र अगाडि बढाउन चाहन्छ।’

केसी केसी सामाजिक सेवाका लाग्नुको प्रेरणा भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामलाई मान्छन्। ‘तिमी जिन्दगीभर जागिर खानकै पछि लाग्यौ भने जीवन सफल हुँदैन, अरुलाई जागिर दिन सक्षम भयौ भने त्यो सफलता हो,’ कलामको यही आदर्शबाट डा. केसी प्रभावित छन्। डाक्टर केसीले एमबिबिएसको अध्ययन सिध्याएका थिए। दीक्षान्त समारोहमा भारतका पूर्वराष्ट्रपति कलाम आइपुगे। त्यहाँ उनले व्यक्त गरेका विचारबाट उनी धेरै प्रभावित भए।

संगीतमा लगाव
समाजसेवी डाक्टरको पहिचान बनाएका केसीको चाहना भने संगीतकार बन्ने थियो। उनले आफ्नो सपनाको बाटो हिँड्न पाएनन्। ‘बुवाले डाक्टर बनेर दुर्गमका बिरामीको सेवा गर्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘बुवाको चाहना पूरा गर्न आफ्नो सपना मनमै राखेँ।’ डाक्टर भइसकेपछि भने उनले सपनालाई साकार पारे। २०६५ सालमा उनले ‘अंगाली देऊ’ नामक गीति–एल्बम बजारमा ल्याए। आफ्नै शब्द तथा संगीत भएको उक्त एल्बमबाट आएको आम्दानी उनले द्वन्द्वपीडित बालबालिकाको पढाइमा खर्च गरेका थिए। थोरै भए पनि अधुरो संगीत यात्रालाई पूरा गरेको उनी बताउँछन्। उनी चिकित्सकीय र सामाजिक सेवाबाट बचेको समय अहिले पनि गीत सिर्जना र संगीत भर्नमै व्यस्त हुन्छन्।

प्रकाशित: ११ वैशाख २०७६ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App