८ वैशाख २०८१ शनिबार
समाज

ढाकाले ढपक्कै

तेह्रथुम र ढाका एक अर्काबीच पर्यायवाची बनेका छन्। तेह्रथुमे ढाकाको चर्चा देशबाहिर समेत हुँदै आएको छ। तेह्रथुमे ढाका कपडालाई ब्रान्डिङ गर्न म्याङलुङ नगरपालिका–२ की उज्ज्वलता लिम्बु (५९) महत्वपूर्ण योगदान छ।

२०३० सालतिर उज्ज्वलता किशोरी थिइन्। त्यसबेला छोरीले पढ्ने चलन थिएन। सीप भएका छोरीलाई लक्षिन भनिन्थ्यो। उज्ज्वलताले ढाकाको टोपी बुन्ने सीप सिकिन्।  आमा पृथीमाया लिम्बू तानमा खाडी कपडा र ढाकाको टोपी बुन्थिन। आमाकै सहयोगमा उनले ढाकाको टोपी बुन्न सिकिन्। उनले बुनेका टोपी सुरुमा स्थानीय बजारमा बिक्री हुन्थे। २०३० सालमा खार्डेप भन्ने बेलायती परियोजना तेह्रथुममा सञ्चालन भयो। यो संस्थामा कार्यरत विदेशी तथा नेपाली कर्मचारीले उपहार दिन टोपी किन्न थालेपछि आम्दानी हुन थाल्यो। तर,  २०३५ सालमा खार्डेप परियोजना सकिएपछि टोपी बिक्न छाड्यो।

त्यही बेला उज्ज्वलताको विवाह जिल्ला शिक्षा कार्यालय, झापामा कार्यरत रुद्र मेयाङवोसँग भयो। उनको पारिवारिक जीवन सुखद हुन सकेन। २०४० सालमा सवारी दुघर्टनामा उनका श्रीमान् रुद्रको मृत्यु भयो। त्यतिबेला उनी ३ सन्तानकी आमा भइसकेकी थिइन्। श्रीमान्को मृत्युपछि उज्जवलताका दुःखको दिन सुरु भए। ‘श्रीमान्को मृत्युपछि परिवारले नानाथरी आरोप लगाउन थाले। तर, छोराछोरीको मायाले कतै नगई बसेँ,’ उनले भनिन्। दुःखका दिनमा उनले माइतीको साथ पाइन्। आमाले घर बनाउन चार आना घडेरी दिइन्। त्यो जग्गामा उनले झुपडी बनाइन्।

त्यस बेला बिहान–बेलुका खाना लगाउन धौधौ थियो। उनलाई लाग्यो–अब केही उद्यम गर्नैपर्छ। ‘१ सय ५० रुपियाँमा तान र धागो किनेर घरैमा टोपी बुन्न थालेँ,’ उज्ज्वलताले भनिन्, ‘काममा निरन्तर लगावले अहिले मलाई नाम र दाम दिएको छ।’ उनले आँटै गरेर माइती गाउँमा ढाका उद्योग चलाइन्। उद्योग चलाउने क्रममा संर्घष गर्दै कामलाई निरन्तरता दिइन्। उनले २०४१ सालमा म्याङलुङमा पहिलोपटक ढाका उद्योग खोलिन्। ‘२४ वर्षकै उमेरमा श्रीमान गुमाएँ। परिवारको जिम्मेवारी आफ्नो काँधमा आएपछि परिवार पाल्न उज्ज्वलता ढाका उद्योग खोलेकी थिएँ,’ उनले सम्झिइन्।

घरमा एक–दुई  तान राखेर ढाका बुन्ने चलनलाई उनले उद्योगका रूपमा विकास गरेकी हुन्। उनले उद्योग सुरु गर्दा तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटाका ग्रामीण क्षेत्रमा ढाका टोपी र मफलर बुनेर लगाउने चलन थियो। त्यही भएर उनले पनि उद्योगमा टोपी बुन्न थालिन्। केही वर्षपछि उनले ढाकाको चोली र पछ्यौरा बुन्न थालिन्। आफूले उत्पादन गरेका ढाका कपडा स्थानीय बजार र काठमाडौंमा बिक्री हुन थाल्यो। तेह्रथुममा सडक पुगे पनि गाडी चल्दैन थियो। ‘बोकेर धनकुटासम्म कपडा पु-याउनुपर्थ्याे, काठमाडौंबाट माग आएपछि लगानी थपेर काम गर्न थालेँ,’ उनले भनिन्।

त्यही उद्योगबाटै सिकेर अरुले तेह्रथुममा अन्य ढाका उद्योग सञ्चालन गरेका हुन्। तेह्रथुमको सिको गर्दै पूर्वी पहाडका धनकुटा, ताप्लेजुङ, पाँचथर र इलाममा ढाका उद्योग खुल्यो। अहिले उज्ज्वलता ढाका उद्योगबाट कोट सर्ट, टाई, सारी, चोली, टोपी, कुर्ता सलवारलगायत माग अनुसार सामग्री उत्पादन हुन थालेका छन्। कोटको कपडा ६ हजारदेखि १२ हजारसम्म पर्छ। कुर्थाको ३ हजार ५ सय, पछ्यौरा ३ हजार २ सय, टोपी २ सय देखि ८ हजारसम्म बिक्री हुने गरेको छ। ढाका कपडाको बुट्टा र साइजका आधारमा मूल्य घटबढ हुने गरेको उनले बताइन्।  यी सामग्री तेह्रथुम सदरमुकाम म्याङलुङमा स्थापित सोरुमबाटै बिक्री भइरहेको छ। ढाका पूर्वी पहाडकै सबैभन्दा ठूलो उद्योग हो।

रोजगारी र तालिम केन्द्र
उज्ज्वलता ढाका उद्योग रोजगार दिने र सीप सिकाउने केन्द्रका रूपमा विकास भएको छ। हरेक वर्ष दुई सयभन्दा बढी  महिलाले ढाका कपडा बुन्ने तालिम लिन्छन्। अहिले उद्योगमा ४३ जनाले रोजगारी पाएका छन्। ढाका कपडा उद्योगबाट तान र धागो लगेर घरघरमा ढाका बुन्ने महिलाको संख्या एक हजारभन्दा बढी छन्। उनीहरूलाई उद्योेगकै तर्फबाट ढाका बुन्ने, तान दिने, धागो दिने, ज्याला दिने र उत्पादित कपडा किनीदिने गरेको उद्यमी उज्ज्वलताले बताइन्। अहिले पूर्वमा जति उद्यमी भएका छन्। उज्ज्वलता तिनीहरूको प्रेरणा हुन्।

हिंसापीडित महिलाको संरक्षक
उज्ज्वलता ढाका उद्योगले एकातिर परम्परागत हाते तानर्को  संरक्षण गरेको छ भने अर्कोतिर विधवा र घरेलु हिंसापीडित महिलालाई रोजगार दिएको छ। त्यस्ता महिलाका लागि उद्योग परिसरमै निःशुल्क आवास व्यवस्था गरिएको छ। त्यस उद्योगमा आधाजसो महिला घरेलु हिंसापीडित र विधवा छन्। १५ वर्षदेखि उद्योगमा तान बुनिरहेकी जिरिखिम्तीकी गंगामाया लिम्बू (५४) ले भनिन्, ‘लोग्नेले दोस्रो विवाह गरेपछि घरमा दिनरात रडाको मच्चिन्थ्यो। त्यसपछि यही उद्योगमा आएर तान बुन्न थाले। एक छोरा र दुई छोरीसँगै यही बस्छु। छोराछोरी पढ्दैछन्।’ ढाका बुन्ने सीप नसिकेको भए यतिबेला उनी श्रीमान्को पीडा सहेर बस्नुपर्ने थियो।  अहिले उनले छोराछोरीको पढाइ खर्चका लागि  मासिक २ हजार बचत गर्छिन्।

जिरीखिम्तीकै सीता तामाङ (३४) ले पनि उज्जवलता ढाका कपडा उद्योगमा काम गरेको १५ वर्ष पुगेको छ। घरमा बुबाले कान्छीआमा विहे गरेपछि उनी घर निकालामा परिन्। उनले ढाका उद्योगमा काम गरेपछि  जीवन निर्वाह गर्न सजिलो भयो। उनीहरू म्याङलुङ बजारमा घर बनाएर बसेका छन्।

हिंसा र द्वन्द्वपीडित महिलालाई सहयोग गर्नुका साथै संरक्षण दिने गरेकी छन्। सशस्त्र द्वन्द्वका बेला उनको उद्योगमा १ सय ५० जनाभन्दा बढी महिला आएका थिए। उनीहरू सीप सिक्ने बहानामा परिवार विखण्डन भएका तथा श्रीमान्ले छाडेका महिला थिए। उनीहरूले त्यहाँ आएर ढाकाको कपडा बुन्ने सीप सिके। उनीहरूले बुनेको कपडा बेचेर आयस्ता आउन थाल्यो।  ‘पीडित महिलाले विलौना गरेपछि मन पलाएर आउँछ। खानेबस्ने व्यवस्था गरी सीप सिकाउने गरेकी छु,’ उज्ज्वलताले भनिन्।

उज्ज्वलताले उद्योगमा तान बुन्नेबाहेक कुनै कर्मचारी राखेकी छैनन्। ‘हातले बुन्नुपर्ने भएकोले खर्च धेरै हुन्छ। त्यही अनुसार दाम राख्दा बिक्री हुँदैन। त्यसैले उद्योगको प्रवन्धक, लेखापाल, श्रमिक सबै एक्लैले भ्याउँदैछु,’ उनले भनिन्।

उनले पूर्वाञ्चलकै पहिलो र सबभन्दा ठूलो ढाका उद्योग सञ्चालन गरेकी छन्। उनी भन्छिन्, ‘मैले यो उद्योग चलाएर मेरो २ छोरा र १ छोरी हुर्काए। यही उद्योगको भरमा दुःख पाएका र मजस्तै विधवा धेरै दिदीबहिनीले छोराछोरी हुर्काए। यसैमा खुसी छु,’ उनले भनिन्।

राष्ट्रिय सम्मानले खुसी
२०५० साल घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाले आयोजना गरेको औद्योगिक मेला प्रदर्शनीमा उनले उत्कृष्ट उद्यमी पुरस्कार पाइन्। नेपाल उद्योग वाणिज्य महासंघबाट २०५३ सालमा उनले उत्कृष्ट घरेलु उद्यमी पुरस्कार समेत पाएकी छिन्। भृकुटी मण्डपमा आयोजित घरेलु प्रदर्शनीमा भाग लिँदा उनले पुरस्कार पाएकी थिइन्।

प्रकाशित: ११ वैशाख २०७६ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App