नागरिक नायक

स्वर्गद्वारका सर्जक

बुधबार, ११ बैशाख २०७६, १३ : ०१ सुरेश यादव

मारवाडी समुदाय भन्नेबित्तिकै उद्यमी–व्यापारी बुझिन्छ। यो समुदायको जातीय पहिचान नै व्यापार–व्यवसाय हो। अहिले पनि राजनीति र जागिरतर्फ मारवाडी समुदायबाट प्रतिनिधित्व गर्ने प्रायः नगण्य छन्। यसले पनि यी समुदायको मुख्य आकर्षण व्यापार–व्यवसाय रहेको प्रस्ट हुन्छ।

तराई–मधेसमा परम्परागत रूपमा व्यापार, व्यवसायसँग सम्बन्धित २९ जातजातिलाई वैश्य समुदायको सूचीमा राखिएको छ। मारवाडी त्यही २९ मध्येको एक जात हो। त्यसो त सामाजिक कार्यमा आर्थिक सहयोग गर्ने यो समुदायमा स्वाभाविक सामाजिक प्रक्रिया बुझिन्छ। शिक्षण तथा जागिरमा यी समुदायको उपस्थिति न्यून छ। जागिरभन्दा व्यापारलाई उत्तम मान्ने सोचका कारण जनसंख्याको अनुपातमा जागिर तथा शिक्षण पेसामा यो समुदायको उपस्थिति कम देखिएको स्थानीय जगदीश ठाकुर बताउँछन्। त्यही मारवाडी समुदायमा एक फरक प्रवृत्तिका रूपमा परिचित व्यक्ति हुन्, पवन सिंघानिया।

५८ वर्षीय सिंघानिया पुस्तैनी सुनचाँदी व्यवसायीको परिवारमा जन्मे। तीन दाजुभाइमध्ये जेठा र कान्छा दुवै अहिले पनि व्यापारमै संलग्न छन्। ८२ वर्षीय बाबु हरद्वारीलाल सिंघानिया र ८० वर्षीया आमा जगदम्बादेवीका माइला छोरा पवनले भने योगीको पहिचान बनाएर अलग्गै जीवनशैली अपनाए। १७ वर्षअघिसम्म उनी पनि सामुदायिक तथा जातीय पहिचानकै दायराभित्र थिए। कुनै समय आफ्नो समुदायमा एकजनाको निधन हुँदा बिरामी बुवाको प्रतिनिधित्व गर्दै पवनले नै मलामी जानुपर्ने जिम्मेवारी थमाइयो। उनी मलामी गए, जनकपुरस्थित गंगासागरको डिलमा।

डिलभरि झाडी र त्यसको वरिपरि फोहोरैफोहोर थियो। फोहोरको डंगुरले त्यस्तै वातावरण मन पर्ने जीवजन्तुलाई आकर्षण गरिरहेको थियो। कुकुर र सुँगुरका बथान नै थिए त्यहाँ। त्यही फोहोरको डंगुरबीच शवको दाहसंस्कार हुँदै थियो। तीन घन्टासम्म त्यही ठाउँमा बस्नुपर्दा पवनको मनमा अनेक योजना फुरिन थाले। तत्कालै उनले समाजका करिब एक/सवा सयजनाका बीचमा नौलो प्रस्ताव राखे, ‘जनावरलाई जस्तो फोहोरको डंगुरमा मानव शवको अन्तिम संस्कार नगरौं । यही ठाउँलाई सफासुग्घर बनाएर नमुना स्वर्गद्वारको निर्माण गरौं।’

पवनको उक्त प्रस्तावप्रति धेरैले चासो राखेनन्, चासो राख्नेहरू पनि गिज्याए। ‘मलामी आएको बेला सबै वैरागीजस्तो कुरा गर्छन्। पोखरीमा स्नान गरी घर फर्केपछि सबै नयाँ सोचलाई पोखरीमै सेलाएर जान्छन्,’ साथीहरू सभने। गलत बाटो समात्न लाग्न लागेको जस्तै गरी साथीहरूले उनलाई त्यसबाट जोगिन सुझाए। उनले भने सबैको सहयोग पाए आफूले सोचेको योजना कार्यान्वयन गरेरै छाड्ने अठोट प्रकट गरे। उनी त्यस्तो काममा लागिसकेपछि गिज्याउनेहरूमध्येबाटै बिस्तारै–बिस्तारै प्रोत्साहन दिनेहरू पनि बढ्दै गए।

२०५८ फागुन १७ गते त्यही फोहोरको डंगुरभित्र ‘स्वर्गद्वार’ निर्माण कार्यको शिलान्यास गरियो। ‘आखिर एक दिन मलाई पनि यही आएर पृथ्वीमा विलीन हुनु छ’ भन्दै उनले स्वर्गद्वार निर्माणमा पूर्ण समर्पित हुने संकल्प लिए। आज १६ वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरिसक्यो त्यो अभियान। शवदाहका क्रममा एकछिन समय बिताउन सकस हुने त्यही ठाउँलाई सिंघानियाले करिब दुई करोड रुपैयाँ खर्चेर बिपनाको स्वर्ग बनाएरै छाडे।

किशोरकिशोरी र युवायुवती एकाबिहानैदेखि अबेर रातिसम्म थकाइ मार्ने, साथीहरूसँग भेटघाट गर्ने र डेटिङ स्पोटका रूपमा सुपरिचित भएको छ अहिले त्यो ‘स्वर्गद्वार’। बाहिर कुनै बगैंचामा भन्दा दिनहुँ दुईतीनवटा शवदाह गरिने त्यो स्वर्गद्वारमा बढी रमाइलो अनुभूति गर्छन् स्थानीय। ‘जनकपुरको एउटा ऐतिहासिक ठाउँ हो यो। यहाँ आएर बसेपछि थकान मेटिनुका साथै अकल्पनीय शान्तिको अनुभूति हुन्छ,’ शवदाह हुने ठाउँको छेउमै बसेर साथीसँग गफिइरहेका शिवचन्द्र चौधरीले भने।

आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो जहिले लागिरहेको हुन्छ यहाँ। दुई करोड लागतमा निर्मित सो स्वर्गद्वारमा सरकारी लगानी भने करिब–करिब शून्य छ। स्थानीयबाटै चन्दा संकलन गरी यति ठूलो योजना सफल बनाउने व्यक्तित्व हुन्, सिंघानिया। उनी बालशव व्यवस्थापनका लागि ‘स्वर्गद्वार–२’ निर्माण गर्ने अभियानमा पनि जुटेका छन् अहिले। करिब ६०/७० लाख रुपैयाँ थप व्यवस्था भए ‘पार्ट–२’ को निर्माण कार्य पनि पूरा हुने विश्वास उनको छ।

दुवै योजना सफल भइसकेर पनि जीवन बाँकी रहे विद्युतीय शवदाह गृह निर्माण गरी अझ व्यवस्थित गर्ने दीर्घकालीन सोच रहेको उनले सुनाए। स्वर्गद्वारमा व्यवस्थित बगैंचा, भूतनाथको आकर्षक मन्दिर, शिवपार्वतीको मूर्ति तथा वर्षात्को समयमा पनि शवदाह गर्न सकिने गृह निर्माण गरिएको छ। व्यवस्थित बगैंचा, मन्दिर र स्वर्गद्वारको सजावटले प्राकृतिक सुगन्ध फैलाइरहेको हुन्छ, त्यही नै स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

दुई छोरा र एक छोरीका पिता पवन सिंघानियाको आफ्नो कुनै व्यापार, व्यवसाय छैन। तीन दाजुभाइले पैतृक सम्पत्तिको अंशबन्डा गर्दा उनको हिस्सामा एउटा होटल परेको छ, ‘नमस्कार होटल’। कर्मचारीका भरमा चलिरहेको त्यही होटलको आम्दानीबाट पवन परिवारको दैनिकी चलिरहेको छ। एक छोरा पुनामा व्यापार गर्छन्, अर्का पनि त्यहीँस्थित एक बैंकमा जागिरे छन्। एक मात्र छोरी हैदराबादमा कोकाकोला कारखानामा कर्मचारी छिन्। सबै छोराछोरीको विवाह भइसकेको छ।

परिवारमा सिंघानिया दम्पती बुवाआमाका साथमा बस्छन्। छोराछोरी स्वाबलम्बी भइसकेपछि समाजका लागि काम गर्न सहज भएको सिंघानिया बताउँछन्। उनले जीवन नाशवान् रहेको र हरेक व्यक्तिलाई एक दिन एउटै बाटो भएर जानुपर्ने भएकाले समाजका लागि एउटा काम गर्ने अठोट लिएर अघि बढेको बताए। आज दाइ र भाइले व्यापारका माध्यमले जतिसुकै धन आर्जन गरे पनि व्यापार, व्यवसायमा चौपट उनले सबैभन्दा बढी मान, सम्मान र कदर पाएका छन्। ‘पवन सिंघानिया’ जनकपुरको हरेक उमेर समूहमा परिचित नाम हो। अठोट गरे जे पनि गर्न सम्भव रहेको उदाहारण आफैं बनेको बताउँदै उनले हरेक व्यक्तिले समाजका लागि कम्तीमा एउटा काम गरेर जानुपर्ने सन्देश दिन्छन्।

विजय सिंह (अधिवक्ता, सर्वोच्च अदालत):  पवन सिंघानियालाई समाजका लागि अतुलनीय काम गरेका आधारमा मैले चिनेको हुँ। जनकपुरमा धेरै ठूला मान्छे छन्। सिंघानिया ठूला मान्छे होइनन्, असल हुन्। बिपी कोइरालाले लेख्नुभएको ‘मोदिआइन’ उपन्यासमा ठूला र असल मानिसबारे व्याख्या गरिएको छ, सोही ज्ञानका आधारमा म सिंघानियालाई असल व्यक्तित्वका रूपमा चिनेको हुँ। उनी स्वार्थरहित लोककल्याणको कार्यमा आफूलाई समर्पित गरेका छन्। उनीजस्ता इमानदार व्यक्तित्वको अभाव छ समाजमा।

जगदीश ठाकुर (सामाजिक कार्यकर्ता): समाजमा प्रतिष्ठित र आर्थिक मामिलामा सम्पन्न घरानाका सदस्य पवन सिंघानियाजस्तो व्यक्तिले सारा सुखसयल त्यागेर सहरकै दुर्गन्धित ठाउँलार्ई स्वर्गतुल्य बनाउने काम अविश्वसनीय हो तर यथार्थ सिद्ध भयो।

कम्तीमा जीवनयापनका लागि एकदुई पुस्तासम्मलाई कुनै कामै नगरी खान पुग्ने हैसियत भएका व्यक्तिले समाजहितको कामका लागि दिनरात चन्दा संकलन गर्दै हिँड्नुभयो। उहाँको अथक प्रयास र दूरदृष्टिको कारण एउटा स्मसानघाट स्वर्गद्वारीको पहिचान पाएको छ। कुनै बेला दिउँसै त्यहाँ पुग्न डर लाग्ने अवस्था थियो भने अहिले अबेर साँझसम्म मानिसहरू कञ्चन हावा र मानसिक शान्ति अनुभूतिका लागि त्यहाँ बस्ने वातावरण बनेको छ।

यसमा तपाईको मत

अन्य समाचार

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्स नेपालले रोयल हेल्थ सिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad