७ वैशाख २०८१ शुक्रबार
समाज

जीवन बदल्ने नशा

टौमडीका  ४१ वर्षीय राजेश दिदिया  यतिबेला भक्तपुरमा लागु पदार्थ दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना केन्द्र खोलेर बसेका  छन्।  दुर्व्यसनीसँगै एचआइभी संक्रमित र तिनका परिवारले भोग्नुपरेका सामाजिक लाञ्छनासँग लड्न उनले कृषिको सहारा लिए। यसो भनौँ, भक्तपुरे किसानको छोरो बिग्रिएका भनिएका किसानका छोराहरूलाई सुधार्न किसानीकै बाटो पछ्याउँदै छन्।

यस्तो छ दिदियाको जीवन कथा

उमेर मात्र ११ वर्ष। पढाइ कक्षा ६ को। तर कलम र पापा हुनुपर्ने दुवै खल्तीमा भने लागु पदार्थका बोतल। मारेन अब? समय जति अघि बढ्दै गयो उति उति उनको लागु पदार्थप्रतिको लगाव पनि बढ्दै जान थाल्यो। दिन दुगुना, रात चौगुनाका दरले बढ्दो लागु पदार्थ सेवनबाट उनी सहजै उम्कन के सक्थे र? यसरी उनी आफूलाई अर्थै थाहा नभएको ‘दुर्व्यसनी’ बन्न पुगे।

जीवनका ऊर्वर १२ वर्ष यसैगरी बिते उनका। कुन दिन, कुन रात, सबै बराबर। जतिबेला पनि झुम्मै। तर अचम्म, उनी अचानक लागु पदार्थको यो खाडलबाट तैरिए। तैरिएमात्र हैन, सद्बुद्धि पनि सँगै आएछ तैराइसँगै। यही सद्बुद्धिको परिणाम हो कि उनी यतिबेला आफूजस्तै कुलतको दलदलमा फसेका युवालाई त्यसबाट कसरी उम्काउने भन्ने अभियानका अभियन्ता नै बनेका छन्।

उनी लागु पदार्थको कुलतमा फसेको समयका सबै कुरा सम्झन पनि चाहन्नन्। सम्झुन् पनि कसरी? ‘म दिनको १८ घन्टाभन्दा बढी समय त बेहोसीमा जिउँथेँ, आवश्यकता पूरा गर्न हुने÷नहुने थुप्रै कुरा गरियो’– अब ती दिन सम्झेर पनि केही अर्थ नहुने निष्कर्ष छ उनको।

यस्तो १२ वर्षे बेहोसीबाट अचानक रूपान्तरण हुने जादु के थियो त? उनले सुनाए– दुर्व्यसनीकै क्रममा जब उनले एकपटक घाइते कुकुर सडकमा हिँड्न नसकेर छट्पटाइरहेको देखे। तब उनले त्यस कुकुरसँग आफ्नो अवस्था दाँज्न पुगे। अनि यसैगरी अघि बढिरहे आफ्नो जीवन यस्तै हुन्छ भन्ने सोचे। यो सोच नै उनलाई भयानक दुर्व्यसनीबाट उतार्ने मुख्य कारक बन्यो। त्यसबाहेक सन्तानले तोतेबोलीमा बोल्ने गरेका ‘ड्याडी’ भन्ने शब्दले पनि जीवनप्रति आश  देखाएको उनले सुनाए।

नशा न हो, छोड्न चाहेर पनि कहाँ सजिलो छ र छाडिहाल्न। उनले छाड्न त चाहे तर कसैले पनि उनलाई उपचार गर्न मानेनन्। त्यतिबेला ‘बिग्रिएको भक्तपुरे केटो, सुध्रन्न’ भन्ने धारणा धेरै मानिसमा थियो। यो धारणाबाट उनी झन् पीडित भए। ‘यही क्रममा भक्तपुरकै एक दाइले ल सुध्रन्छस् भने मौका दिन्छु भनेपछि बल्ल उपचारको बाटोमा लाग्न पाएँ’– उनको भनाइ छ।

जब उनी सामान्य अवस्थामा फर्किए, त्यसपछि सोचे कि अब मैले आफू जस्तै पीडा अन्यले भोग्न नपरोस् भन्नका लागि केही गर्नैपर्छ। लगत्तै उनको सोचले मूर्त रूप धारण ग-यो। उनले भक्तपुरमै पुनर्स्थापना केन्द्र खोले। यो काम पनि सजिलो कहाँ थियो र? संस्था खोल्न पुलिस रिपोर्ट चाहिन्थ्यो। तर ‘बिग्रेको केटो’ भनेर नामै कमाएका उनलाई प्रहरीले ‘पटके’ भनेर रिपोर्ट नै दिन मानेन। तर दिदियाले भने जसरी भए पनि आफू ‘केही गरेरै छाड्ने’ अठोट गरिसकेका थिए। त्यसैले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ काठमाडौँबाट पुलिस रिपोर्ट बनाए र सुरुवात नामक संस्था दर्ता गरे।

बिस्तार उनको संस्थामा उपचार गर्न आउन थाले दुर्व्यसनमा फसेकाहरू। दिदिया दिनभर काउन्सेलिङ गर्थे र साँझ घर पठाउँथे त्यसरी आउनेलाई। तर कतिपयले भने रात पनि बस्नुपर्ने आफ्नो बाध्यता सुनाए। कुलतमा फसेका किसानका छोरासँग उपचारका लागि आवश्यक पैसा नहुने गरेको उनले देखे। त्यसैले दिदिया उनीहरूको उपचार गर्नका लागि आर्थिक उपार्जनको खोजीतर्फ लागे। जुन खोजी खेतीपातीमा गएर टुंगियो।

लागु पदार्थ दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना केन्द्र दिगोपनाका लागि उनले गोलभेडा खेती सुरु गरे। जहाँ उनले उपचार गर्न आउनेलाई उनीहरूको अवस्थाअनुसार काममा लगाउन थाले। त्यसपछि पैसा नहुनेले पनि उपचार पाउने भए। यसरी सित्तैमा उपचार पाएबापत केही समय लाभग्राहीले काम गर्नुपर्ने नियम पनि बसाले।

सुरुमा ४ रोपनी जमिनमा उनले टनेलमा गोलभेडा खेती गरे। न खेताला बोलाउनुपर्ने झन्झट न त कसैले आर्थिक अभावमा उपचार नपाउने तनाव झेल्नुपर्ने अवस्था। ‘कसैले झार उखेल्ने, कसैले खन्ने, कसैले गोड्न, कसैले टिप्ने...।’ जसले जे सक्छ त्यही गरे। गोलभेडा सपारे।

यस्तो खेतीबाट वार्षिक ४ लाखदेखि ६ लाख रुपियाँसम्म आम्दानी हुन थाल्यो । जसले पुनर्स्थापना केन्द्रलाई दिगो बनाउने भरपुर मद्दत ग-यो। उता उपचार गरेर फर्कनेहरूले पनि यहाँबाट सिकेको सिप आफ्नो खेतबारीमा प्रयोग गर्न थाले। यसरी दुर्व्यसनबाट मुक्त भएकाले ‘अब के गर्ने ?’ भनेर सोचिरहनु परेन। आफ्नो खेतीमा गएर तरकारी लगाउन सक्ने भए। ‘उपचारसँगै सिप पनि सिकेर जाने भएकाले उनीहरू काम नपाएर फेरि कुलतमा फस्ने सम्भावना घट्यो’– पुनर्स्थापनाका क्रममा गरिने तरकारी खेतीको प्रभाव यसरी प्रस्ट्याउँछन् दिदिया।

यसैबाट हौसिएर हो, अहिले उनले थप ५ रोपनी जमिन भाडामा लिएका छन्। ‘अब वार्षिक ४० हजार किलोग्राम गोलभेडा बेच्ने सोच बनाएको छु’, उनले भने– यसले हामीलाई आर्थिकरूपमा थप मजबुत गराउनेछ।

उनको यो अभियानको चर्चा मुलुकमा मात्र सीमित छैन। गत नोभेम्बरको पहिलो साता भियनामा भएको लागु औषध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनलाई नेपालको तर्फबाट वक्ताकै रूपमा निम्त्याइएको थियो। ‘फरक शैलीको काम देखेर उहाँहरू प्रभावित हुनुभएको छ’, दिदियाले थपे– ‘सामाजिक विभेदविरुद्ध लड्न कृषिको सहारा लिइएकाप्रति उनीहरू प्रभावित भएका छन्।’ त्यसैले त उनको यो अभियानलाई पछिल्लो समय एड्स हेल्थ केयर फाउन्डेसनले सहयोगसमेत उपलब्ध गराएको छ।

यो सहयोगसँगै उनले आफ्नो अभियानमा एचआइभी संक्रमितलाई पनि सहयोग गर्न थालेका छन्। तिनका परिवारलाई खेती गर्न सहज होस भनेर निःशुल्क बीउ र बेर्ना उपलब्ध गराउँछन् उनी। त्यो पनि काठमाडौँ खाल्डोमा मात्र हो र? पोखरा र बुटवलसम्म बिस्तार गरेका छन् यस्तो सहयोग अभियान। खुसी हुँदै थपे– अब सुदूरपश्चिमका कञ्चनपुर, कैलाली र डोटीमा पनि अभियान बिस्तार गर्दैछु।

प्रकाशित: ११ वैशाख २०७६ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App