४ वैशाख २०८१ मंगलबार
समाज

चुपचाप छैन मधेसी समाज

लहान - घरबाहिरको काम, उद्यम वा अध्ययन, मधेसी महिलाका लागि अझै चुनौतीपूर्ण सपना सरह छ । मधेसका महिलाको दैनिकी भनेकै परम्परागत चुलोबाट सुरु भई चुलोचौकोमै समाप्त हुन्थ्यो, कतै कतै अझै यस्तै छ । पछिल्लो समय यो चुनौतीपूर्ण सपना साकार पार्न धेरै मधेसी महिला अघि बढेका छन् । उच्च शिक्षा अध्ययन र उद्यमतर्फ मधेसी महिलाको बढ्दो सहभागिताले समाजमै बदलाब सुरु भएको अनुभूत गर्न थालिएको छ ।

औरही गाउँपालिका–४, खजनपुरकी रामझरी यादव दूरदेहातको महिलामा परिवर्तन ल्याउने ‘रोल मोडल’ हुन् । उनी एकीकृत महिला कृषि फर्ममार्फत् कृषि उद्यममा अघि बढ्दै छिन् । उनको सफलताले यस भेगका ग्रामीण महिलामा व्यावसायिक जागरण फैलिएको छ । धेरै महिला घरेलु उद्यममार्फत परिचय फेर्दै छन् ।

चुलोचौको जस्तो सजिला विकल्प छाडेर मधेसका ग्रामीण महिला संघर्षपूर्ण व्यवसायमा जोखिम उठाइरहेका छन् । रामझरी त्यही उदाहरण हुन्, जसले साहस र हिम्मत बटुलेर जोखिम बेहोर्दै आफ्नो व्यवसायमा सफलता पाएकी छन् । चार वषअघिसम्म आर्थिक हिसाबले कमजोर रामझरी अहिले दैनिक तीन–चार हजार आम्दानी गर्छिन् । पहिला कुरा काट्नेहरू अहिले उनको सफलताको चर्चा गर्छन् । ‘कर्म प्रधान हो, कर्मको अगाडि बाँकी कुरा गौण हुन्’ भन्ने मान्यतालाई रामझरीले स्थापित गरेरदेखाएकी छन् ।

चुपचाप छैन समाज
मधेसका बासिन्दा स्थानीयस्तरकै स्रोत परिचालन गरेर आर्थिक उन्नतिको पथमा अग्रसर छन् । उद्योग, व्यापार र व्यवसायमा मधेसी समाजका सदस्य जोडिने क्रम बढ्दो छ । जहिल्यै घरधन्दामा गुम्सिएर बस्न बाध्य ग्रामीण महिला पनि विस्तारै व्यवसायमा अघि बढ्दै छन् । व्यवसायमा ग्रामीण महिलाको प्रवेशले मधेसी समाज चुपचाप नबसेको देखाउँछ । शिक्षा, आर्थिक अवसर, साहस, दृढ इच्छाशक्ति भएकाहरुले केही न केही गरिरहेकै छन् । व्यवस्था परिवर्तनसँगै आएको महिला सशक्तीकरण, लैंगिक तथा जातीय समानता र प्रतिस्पर्धी भावनाले ‘म पनि केही गर्छु’ भन्ने भावना ग्रामीण समाजमा जागृत गरिदिएको छ । सँगै सामाजिक अभियान, लघुउद्यम, ऋण, सहकारी जस्ता कार्यक्रमले महिलामा उद्यमशीलता बढाउनमा विशेष भूमिका खेलेको घरेलु तथा साना उद्योग कार्यालय लहानका निमित्त प्रमुख लक्ष्मी पौडेलको कथन छ ।

 व्यवस्था परिवर्तनसँगै आएको महिला सशक्तीकरण, लैंगिक तथा जातीय समानता र प्रतिस्पर्धी भावनाले ‘म पनि केही गर्छु’ भन्ने भावना ग्रामीण समाजमा जागृत गरिदिएको छ ।

बुहारी पनि के कम ?
मधेसका बुहारीको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, चुलोचौको गर्र्ने र बालबच्चा रेखदेख गर्ने थियो । अचेलका बुहारीले भने घरको कामसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन् । बिहे भएको घरका बाबुआमाले नै बुहारीको पढाइ अगाडि बढाइरहेका छन् ।
लहानकी साहनाज प्रवीणले लहानस्थित जेएस मुरारका क्याम्पसबाट एमएड गरिन् । मुस्लिम समुदायकी उनको नामांकनदेखि कलेज शूल्कसम्मको बन्दोबस्त ससुराले नै गरे । भर्खरै थेसिसका लागि के कति शुल्क तिर्नुपर्छ भन्दै प्रवीणका ससुरा कलेज आएको क्याम्पस प्रमुख तुलसी पोखरेलले जानकारी दिए । ‘यस कलेजबाट स्नातकोत्तर गर्ने साहनाज नै मधेसका मुस्लिम समुदायकी पहिलो बुहारी हुन्,’ उनले भने । अरु पाँचजना जति मधेसी मुस्लिम समुदायका बुहारी उक्त कलेजमा विभिन्न तह र संकायमा अध्ययनरत रहेको प्रमुख पोखरेलले बताए ।

मधेसको मुस्लिम समुदायमा बुहारीहरु अझै पर्दामा बस्ने परम्परा छ । त्यो समुदायकी बुहारीहरु उच्च शिक्षाका लागि कलेज आउनु नौलो र प्रेरणादायी घटना हो । ‘ससुरा नै बुहारीको नामांकन गराउन आउनुले शिक्षाप्रतिको चेतनालाई मात्र दर्शाउँदैन मधेसी समाजमा आएको बदलाबको समेत प्रतिनिधित्व गर्छ,’ पोखरेलले भने । पुराना पुस्ताका ससुराले बुहारीको उच्च शिक्षाको आकांक्षालाई बल पु¥याउनुमा जागिर खान मात्र नभई पढाइले सामाजिक प्रतिष्ठामा पार्ने फरक कारण रहेको पोखरेलको विश्लेषण छ ।

गोलबजार–४ की पूजा महरा ११ कक्षा पढ्दै गर्दा बिहे भयो । गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ क्याम्पसमा अध्ययनरत उनको ११ कक्षाको परीक्षाफल प्रकाशित हुँदा उनी सफल हुन सकिनन् । त्यो बेला उनको बिहे सप्तरी सुरुंगा नगरपालिका–४ का मुकेश महरासँग छिनिसकेको थियो । परीक्षाफल आस गरेअनुरुप नआउँदा निराश पूजालाई स्नातक अध्यनरत मुकेशले ढाड्स दिए, ‘अझ मिहिनेत गर्नू अवश्य सफल हुन्छौ ।’ ०७४ सालमा पूजा र मुकेश वैवाहिक बन्धनमा बाँधिए । मुकेश लहानकै सलहेश क्याम्पसमा स्नातक (कमर्स) अध्ययनरत छन् । पूजा लहान एभरेस्ट कलेजमा प्लस टू पढ्दैछिन् ।
पूजालाई ससुरा बलिराम मोची (चमार)ले पढाइमा हौसला बढाउँछन् । राजमिस्त्री बलिरामलाई बुहारी उच्च शिक्षा पढेर जागिरे भएको देख्ने लालसा छ । पूजा भन्छिन्, ‘उच्च शिक्षा पढ्न बुबाले रोक्नुभयो तर ससुरा र श्रीमान्ले हौस्याउनु भयो ।’
०७२ सालमा एसइई परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण पूजालाई बुबाले उच्च शिक्षा पढाउन आनाकानी गरेका थिए । ‘अब पढाइ पुग्यो, बिहे गरेर आफ्नो घर जाऊ’ भन्दा पूजाले प्रतिवाद गरिन् । घरमा झगडा गरेर उनी प्लस टू शिक्षा संकायमा भर्ना भइन् । ‘स्नातक नगरी बिहे नगर्ने मेरो अडान परिवारको कारण कायम रहन सकेन,’ उनी भन्छिन्, ‘हुनेवाला श्रीमानले पढाइलाई निरन्तरता दिलाउने वचन दिएपछि बिहेका लागि राजी भएँ ।’

 लहानस्थित एभरेस्ट कलेजका चार सय ५० विद्यार्थीमा तीन सय १५ जना छात्रा छन् । तीमध्ये करिब १५ प्रतिशत मधेसका बुहारी छन् ।

सप्तरी सुरुंगा नगरपालिका–२ भेडियाकी सुस्मिता यादवको एसइई दिएलगत्तै बिहे भयो । कर्मघर लहान नगरपालिका–२ भगवानपुर गएको महिना दिनपछि श्रीमान् रोजगारीका लागि कुवेत फर्के । ‘सासु–ससुराले मलाई लहान एभरेस्ट कलेजमा भर्ना गरिदिएपछि पढाइ रोकिएन,’ उनले भनिन्, ‘पढ्न पाएँ, खुसी छु ।’ उनको श्रीमान् नन्दकिशोर पाँच वर्षदेखि रोजगारीको क्रममा कुवेतमा छन् ।

‘ससुरा किसान भए पनि मेरो पढाइप्रति अत्यन्त चिन्तित हुनुहुन्छ,’ सुस्मिता भन्छिन्, ‘राम्रो पढेर समाजमा प्रतिष्ठा बढाउनुपर्छ भन्नुहुन्छ ।’ सुस्मिताकी सासु कमलादेवी गृहिणी हुन् । तर, बुहारी आफूजस्तै चुलोचोकौमै सीमित नहोस् भनेर पढ्न हौस्याउँछिन् । बुहारीलाई उच्च शिक्षा पढाउने कमलादेवी र घुरन यादवलाई समाजले खिस्सी उडाउँछन्– बुहारीलाई पढाएर डाक्टर बनाउलास् । बुहारीको पढाइमा लाग्ने खर्च बरु व्यापारमा लगाए फाइदा हुन्छ भन्दै समाजका केही व्यक्ति उनको सासु ससुरालाई भड्काउँछन् । तर, उनीहरुको बुहारी पढाउने संकल्प अडिग छ ।

एक दशकअघि सुस्मिताकी दिदी ममताको एसएलसी दिँदै गर्दा बिहे भयो । वैवाहिक बन्धनमा बाँधिएकी उनले पढाइलाई निरन्तरता दिन सकिनन् । उनी गृहिणीकै रुपमा सीमित छिन् । सिरहा लक्ष्मीपुरपत्तारी गाउँपालिका–५, पिप्राकी पिंकी मण्डल कक्षा १० मा पढ्दै गर्दा ०७३ असार १९ गते लहान–४ रघुनाथपुरमा बिहे भयो । कर्मघर गएको महिना दिनपछि श्रीमान् काशीलाल मण्डल रोजगारीका लागि मलेसिया फर्के । एसइई उत्तीर्ण भएपछि उनले लहानमै ६ महिनाको कम्प्युटर कोर्स गरिन् । त्यसपछि सासु कपुरदेवी र ससुरा झमेली मण्डलले उनलाई लहान एभरेस्ट कलेजमा भर्ना गरिदिए । प्लस टू (कमर्स) अध्ययनरत पिंकी भन्छिन्, ‘ससुरा र सासुका कारण मेरो पढाइ रोकिएन ।’

पिंकीलाई कलेजसम्म छोड्न कहिले ससुरा त कहिले सासु आउने गरेको कलेजका प्रिन्सिपल चक्रपाणि दाहालले जानकारी दिए । ‘यो नौलो र उदाहरणीय दृश्यले जोकोहीलाई गम्भीर बनाउँछ,’ दाहालले भने । लहान नगरपालिका–२४ की प्रियंका महतोको कक्षा ११ को परीक्षा दिएपछि बिहे भयो । कर्मघर लहान आएपछि पनि उनको पढाइ निरन्तर रह्यो । यसको श्रेय उनी ससुरालीलाई दिन्छिन् । प्रियंका भन्छिन्, ‘सासु–ससुरा र विशेष गरी श्रीमान सन्तोषको साथका कारण पढाइलाई निरन्तरता दिन सकेकी छु ।’

उनी लहानकै एक निजी स्कुलमा पढाउँछिन् पनि । श्रीमान सन्तोष लहानमै बिबिए पढ्दै छन् । सँगै व्यापार पनि छ । भन्छिन्, ‘ससुराली पक्षको साथबिना बिहेपछि पढाइलाई निरन्तरता दिन कठिन थियो ।’ बुहारीलाई घरधन्दामा सीमित गर्नुभन्दा पढाएर जागिरे बनाउने सासु–ससुराको सोचलाई पछ्याउँदै प्रियंका अघि बढ्दै छिन् ।
पछिल्लो समय मधेसी समाजमा बुहारीले पढाइलाई निरन्तरता दिन थालेका यी उदाहरण मात्र हुन् । ‘हाम्रो जमानामा पढ्ने चलन थिएन,’ पिंकीकी सासु कपुरले भनिन्, ‘बुहारी पनि छोरीसरह हुन्छ । पढेपछि जागिर खानुपर्छ भन्ने छैन, घरपरिवार शिक्षित बनाउन बुहारीले पढ्नैपर्छ ।’ घरको काम आफू र बुहारीले मिलेर गर्ने गरेको कपुरले जानकारी दिइन् । पढेपछि जीवन चलाउन धेरै सजिलो हुने उनको बुझाइ छ । ‘अहिले पनि कतिपयले बुहारीलाई टाढाकै सम्झन्छन्, तर मैले पढ्न पठाएकी छु,’ उनले भनिन् ।

‘छोरी–बुहारी पढ्न आउने धेरै छन्,’ लहान एभरेस्ट कलेजका प्रिन्सिपल धरणिधर अधिकारीले भने, ‘भर्ना भएका चार सय ५० विद्यार्थीमध्ये करिब ७० प्रतिशत मधेसका छोरीबुहारी छन् ।’ ‘विदेशमा रहेका श्रीमान् मेरो पढाइप्रति धेरै खुसी हुनुहुन्छ,’ सुस्मिता भन्छिन्, ‘परिवार र समाजलाई शिक्षित बनाउन पुरुषले भन्दा महिलाले अनिवार्य पढ्नुपर्दो रहेछ ।’ छोरीबुहारीलाई घरबाहिर राखेर पढाउन अझै पनि अभिभावकले अप्ठेरो मान्ने हुँदा घरको कामधन्दासँगै क्याम्पस पठाउन थालेको उनी बताउँछिन् ।

एभरेस्ट कलेजका प्राध्यापक चक्रपाणि दाहालका अनुसार एसइईपछि अधिकांश राम्रा विद्यार्थी जिल्लाबाहिर पढ्न जान्छन् । उच्च शिक्षा पढ्न नचाहने युवा पैसा कमाउन बिदेसिन्छन् । जस कारण यहाँका कलेजमा पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्ने छोरीबुहारीको संख्या उल्लेख्य रुपमा बढेको पाइन्छ ।

उच्च शिक्षाले घट्दै बालविवाह
सिरहाको सुखिपुर नगरपालिका–५ लरकन्हाकी अमृता यादवलाई १२ कक्षा पढ्दै गर्दा बिहेको लागि कुराकानी सुरु भयो । आमाबुबा सामाजिक कारणले उनको बिहेका लागि हतारिए । अमृता बिहेका लागि तयार थिइनन् । बिहेप्रतिको अनिच्छा उनले खुलेर आमाबुबासँग बताउन पनि सकिनन् । अनिच्चित बिहे न स्वीकार गर्न सकिने र अस्वीकार । उनी अलमलमा परिन् । लहान एभरेस्ट कलेजमा अध्ययनरत उनको अनुहारमा देखिने अस्वीकारोक्ति अध्यापकहरुले सजिलै पढे । पढाइमा जस्तै उनको उज्यालो अनुहार मलिन देखेर अध्यापकले सोधे– तिमीलाई के भइरहेको छ ? उनले तत्कालै जवाफ दिइन– मँ हजुरलाई भन्छु, तर पछि ।

कक्षा सकिएपछि उनले कलेजका प्रिन्सिपल धरणिधर अधिकारीसँग आफू अहिले बिहेका लागि तयार नभएको बताउँदै अभिभावकलाई ‘कन्भिन्स’ गरिदिन आग्रह गरिन् । अधिकारीले अभिभावक बोलाएर सम्झाए र उनको तत्काल बिहे ट¥यो । प्लस टू प्रथम श्रेणीमा उत्तीर्ण यादव पढाइमा अब्बल छिन् ।

प्लस टू पढ्दै गर्दा छिनिएको बिहे त प्रिन्सिपल लगाएर उनले थामथुम पार्न सफल भइन् । तर, स्नातक पढ्दै गर्दा छिनिएको बिहे अस्वीकार गर्न सकिनन् । कारण उमेरले उनी २० वर्ष पुगिसकेकी थिइन् । अर्कोतर्फ ससुराली पक्ष पढाइ निरन्तर गराउन राजी थियो । उनले यो बिहे सहर्ष स्वीकार गरिन् । ०७५ वैशाख २४ गत्ते विवाह बन्धनमा बाँधिएकी उनका इन्जिनियर श्रीमानले अमृतालाई अध्ययनमा निरन्तर हौस्याउँछन् । अमृता लहानमा डेरा लिएर बिबिएस दोस्रो वर्षमा अध्ययन गरिरहेकी छिन् ।
लहान एभरेस्ट कलेजका अध्यक्ष संजयराज शर्माका अनुसार दुई दशकअघि कलेज सुरु हुँदा ४८ जना विद्यार्थी थिए । जसमा १० जना छात्रा थिए । त्यो बेला कलेज पढ्न आउने मधेसका बुहारी थिएनन् । पछिल्लो पाँच वर्षयता कलेज पढ्ने मधेसका बुहारीको संख्या उल्लेख्य रुपमा बढेको छ । वर्षैपिच्छे कलेजमा बुहारीको संख्या बढ्दै गएको उनले बताए । अहिले यस कलेजमा चार सय ५० विद्यार्थी अध्ययनरत छन, जसमा तीन सय १५ छात्रा छन् । तीमध्ये करिब १५ प्रतिशत मधेसका बुहारी छन् ।

‘देश संघीय संरचनामा गएपछि रोजगारीको अवसर सिर्जना हुने देखेर पनि होला मधेसमा छोरीबुहारीलाई उच्च शिक्षा अध्ययन गराउने क्रम बढ्दो छ,’ शर्माले भने ।  शिक्षा समन्वय एकाइ प्रमुख डोलराज पाण्डे गाउँका माविमा प्लस टूमा मधेसका छोरीबुहारी पढ्ने लहर नै आएको बताउँछन् । ‘घरपायक भएकाले पढ्न पाएका हुन्, मधेसका गाउँमा अहिले बुहारीहरु शिक्षित बनाउने लहर चलेको छ,’ उनले भने । जिल्लाका ३३ मावि र ६ क्याम्पसमा १४ सय विद्यार्थी रहेकामा ७० प्रतिशत छात्रा छन् । जसमध्ये ६० प्रतिशत मधेसका बुहारी छन् । एकाइको अभिलेखमा जिल्लामा सामुदायिक माध्यमिक विद्यालयको संख्या ७७ छ । निजी माध्यमिक विद्यालय ५६ छ । जसमा ४५ सय १९ विद्यार्थी अध्ययनरत रहेको एकाइको अभिलेखमा उल्लेख छ । यसमा २३ सय ६६ महिला र दुई हजार ५३ पुरुष छन् । यसमा ११ र १२ कक्षा मात्र सञ्चालन भएका निजी विद्यालय समेटिएको छैन ।

प्रकाशित: ११ वैशाख २०७६ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App