५ वैशाख २०८१ बुधबार
अन्य

वैदेशिक रोजगारीले फेरिएको जीवन

जनकपुर - जनकपुरबाट २१ किलोमिटर दुरीमा पर्छ रघुनाथपुर गाउँ । तीन वर्षअघिसम्म आफैं गाविस रहेको रघुनाथपुर अब सबैला नगरपालिकाको एउटा टोल कहलिन थालिएको छ । पहिलेको गाउँ, नाउँले त नगर भयो नै । योसँगै स्थानीय बासिन्दाको जीवनशैलीले पनि सहरोन्मुख बस्तीको परिचय दिन थालेको छ । रघुनाथपुरबासीको जीवनशैली ग्रामीणबाट सहरिया ठाँटबाँटमा रुपान्तरण हुनुको मुख्य कारण हो, वैदेशिक रोजगारी ।

दुई दशकअगाडि यस क्षेत्रमा वैदेशिक रोजगारीबारे कसैलाई जानकारी नै थिएन । त्यसबेला अधिकांश परिवारले गाईभैंसी पाल्थे । सबैजसो घरमा दुई चारवटा खसी–बाख्रा हुन्थ्यो । स्थानीय हाटबजारमा गाउँघरकै किसानले उब्जाएको अन्न, तरकारी, फलफूल र गेडागुडी पाइन्थ्यो । माछामासु पनि स्थानीय उत्पादन नै हुन्थ्यो । भान्सामा प्रयोग हुने नुनबाहेक सबै सामान स्थानीय उत्पादनबाटै तयार भएको हुन्थ्यो । दूध, दही किनेर खाने चलन थिएन । धेरै भए नहुनेसँग अन्नले नै साटिन्थ्यो ।  
एक हिसाबले भन्ने हो भने दैनिक जीवनयापनमा पैसाको आवश्यकता कमै पथ्र्यो । लत्ता, कपडा, औषधि वा यस्तै केही वस्तुमात्रै पैसा तिरेर किन्ने चलन थियो । आफ्नै बारीमा उत्पादन हुने हरिया सागसब्जी र शुद्ध दूध सेवन गर्दा धेरै बिरामी पनि नपर्ने । खेतबारीमा काम गर्दा अनिवार्य व्यायाम हुन्थ्यो जसले गर्दा पनि मानिस हट्टाकट्टा रहन्थे ।

बेफुर्सदिला जीवनमा परिवार, समुदायमा अनाहक झैं झगडा र कलहको गुञ्जायस कमै हुन्थ्यो । त्यस्तै परे मात्र कोहीकोही अड्डा अदालत पुग्थे । जग्गा–जमिन खरिद–बिक्री वा दाजुभाइमा अंशवण्डा गर्नुपर्दाबाहेक सहर (जिल्ला सदरमुकाम) गइरहनुपर्ने खासै आवश्यकताा हुन्थेन ।

२० वर्षपछि रघुनाथपुरको परिचयसँगै सामाजिक जीवनशैली पूरै फेरिइसकेको छ । दुई दशकअघिको रघुनाथपुरे जीवनशैली एकादेशको कथा बनिसक्यो, अब । ‘त्यो रघुनाथपुरको जीवनशैलीबारे अब आउने पुस्तालाई परिवारका ज्येष्ठले कथाको रुपमा सुनाएबाहेक जानकारी प्राप्त हुने अर्को आधार रहेन,’ स्थानीय शिक्षक बौवेलाल माझी बताउँछन् ।

‘परिवारको भान्छामा पाक्ने परिकारदेखि पहिरनसम्म फेरिइसक्यो । २० वर्षअघि १० कट्ठा जग्गा (खेत) हुने परिवारलाई बजारबाट अन्न किन्नु पर्दैनथ्यो । अहिले जग्गाको मूल्य सयौं गुणा बढिसक्यो,’ शिक्षक माझी भन्छन्, ‘तर, पाँच बिघा जग्गा हुने परिवारको भान्छामा पनि भारतबाट प्याकिङ भएर आउने चामल पाक्न थालेको छ ।’ उनका अनुसार गाउँको बस्ती वरपरका अधिकांश खेतीयोग्य जग्गा घडेरी र बजारमा परिणत भएको छ, हुँदैछ । बाँकी जग्गा जनशक्ति अभावमा बाँझो बस्न थालेको उनको भनाइ छ ।

गाउँका ८० प्रतिशत पुरुष रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका छन् । परिवारमा उपलब्ध सदस्यमध्ये बालबालिका विद्यालय जान्छन् । वैदेशिक रोजगारीबाट अवकाश पाएकालाई खेतमा काम गर्न मन लाग्दैन अथवा आवश्यकता ठान्दैनन् । वृद्ध त्यसै अशक्त । पुरुष बिदेसिएपछि महिलालाई त्यहाँबाट आउने पैसा व्यवस्थापन (घर बनाउने, बालबच्चा पढाउने, जग्गा किन्ने) गर्नै ठिक्क छ ।

वैदेशिक रोजगारीमा जानेका छोराछोरीमध्ये अधिकांश सहरको निजी विद्यालयमा बोर्डर्स गरिएका छन् । कुनै कारणले सहर जान नसक्ने अधिकांश गाउँमै भए पनि निजी स्कुलमै पढ्छन् । ‘सामुदायिक विद्यालयको पढाइ राम्रो नभएर होइन, छोराछोरीको पढाइमा खर्च भएपछि मात्र अभिभावकलाई सन्तुष्टि प्राप्त हुन्छ,’ स्थानीय द्वारिका आधारभूत विद्यालयका शिक्षक रामजी साहको भनाइ छ ।

भान्छामा पाक्ने परिकारदेखि पहिरनसम्म फेरिइसक्यो । २० वर्षअघि १० कट्ठा जग्गा (खेत) हुने परिवारलाई बजारबाट अन्न किन्नु पर्दैनथ्यो । अहिले जग्गाको मूल्य सयौं गुणा बढिसक्यो । पाँच बिघा जग्गा हुने परिवारको भान्छामा पनि भारतबाट प्याकिङ भएर आउने चामल पाक्न थालेको छ ।

विदेश गएपछि त्यहाँबाट पठाउने पैसा जग्गा (घडेरी) खरिद, पक्की घर निर्माण र बालबच्चाको पढाइमै सकिन्छ । बचेखुचेको पैसा व्यवसायमा प्रयोग गरिन्छ । यस्तो प्रवृत्तिले गाउँमा उपभोक्ता मात्रै बढेको बताउँछन्, साह । उपभोग्य वस्तु सबै बाहिर (अधिकांश विदेशबाट) बाटै आयात हुन्छ । भान्छामा पाक्ने खाद्य परिकारदेखि पहिरन र सजावटका आयातित सामानको पसल गाउँमै सहरभन्दा ठूलो लगानीमा खुलिसकेका छन् । स्थानीय उत्पादन ठ्याप्पै रोकियो । उनी भन्छन्, ‘विदेशमा मजदुरी गरेबापत प्राप्त हुने पैसा परिवारले प्राप्त गर्ने र अनेक आवश्यकता पूर्तिको नाउँमा फेरी बाहिरै पठाउने संस्कृति विकास भयो ।’

उजाड खेतबारी, गुल्जार
रघुनाथपुरको बजार (हाट) दुई दशकअघिको तुलनामा पूरै परिवर्तन भइसकेको छ । त्यसबेला हरिया सागसब्जी, फलफूल, मसला, जडीबुटीदेखि जुत्ता–चप्पल र लत्ता–कपडा पाइन्थ्यो साप्ताहिक हाटमा । यीबाहेक अरु सामान किन्नुपरे सहर नै जानुपथ्र्यो । तैपनि एकाधबाहेक अधिकांश मानिस वर्षको चार–पाँच पटकभन्दा बढी सहर जाँदैनथे । हप्ताको दुई दिन लाग्ने हाटमा आसपासका गाउँबाट एक अर्कालाई भेट्ने बहानाले पनि मान्छे हिँडेर आउँथे । अहिले त्यस्तो केही छैन ।

यातायातका साधनको सुविधा विस्तारसँगै सहर र गाउँको परिवेश उस्तै भइसक्यो, सञ्चार प्रविधिको विकासले विश्व साँघुरिए जस्तै । स्थानीय सामाजिक कार्यकर्ता विनोदकुमार पालका अनुसार रघुनाथपुरका ८० प्रतिशतभन्दा बढी परिवारबाट कोही न कोही रोजगारीको सिलसिलामा विदेश गएका छन् । बाँकीलाई पनि तिनीहरुले पठाउने रेमिट्यान्स उपभोग गर्ने कुनै न कुनै आधार कायम भइसकेको छ । ‘विदेश नगएका परिवारले उनीहरुले नै पठाएको पैसा खेलाउने धन्धा चलाएका छन्,’ पाल भन्छन्, ‘कोही जग्गा कारोबारमा लागेका छन् त कोही स्कुल खोलेर बसेका छन् । केहीले गाउँमै निर्माण सामग्रीको पसल खोलेका छन् भने कोही रक्सी पसल र होटल चलाइरहेका छन् ।’

धनुषाबाटै सर्वाधिक
वैदेशिक रोजगारीमा जाने संख्याको आधारमा धनुषाले नेपालकै पहिलो जिल्लाको पहिचान बनाएको छ । यहाँबाट विदेश नगएको परिवार निकै थोरै छ । अधिकांश परिवारबाट उमेर पुगेका (१८ देखि ४५ वर्ष उमेर समूह) जति सबै पुरुष काम गर्न विदेश गएका छन् । निर्वाचनको बेला मतदान प्रक्रियामा देखिएको सहभागिता र ग्रामीण भेगमा हुने औपचारिक कार्यक्रमले यसको पुष्टि गर्छ ।

वैदेशिक रोजगारीमा जानेको संख्याका आधारमा दोस्रो बढी बिदेसिने जिल्ला महोत्तरीभन्दा झण्डै डेढ गुणा बढी धनुषाका छन् । गत आर्थिक वर्ष ०७४÷७५ मा वैदेशिक रोजगारीको दृष्टिकोणले प्रमुख पाँच मुलुक (कतार साउदी, दुबई, मलेसिया र कुवेत) जान धनुषाका २२ हजार दुई सय ११ जनाले श्रम स्वीकृति लिएका छन् । महोत्तरीका १५ हजार पाँच सय १४ र झापाका १४ हजार चार सय ७५ जनाले श्रम स्वीकृति लिएको श्रम विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७३/७४ मा पनि धनुषाबाट सबैभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको वार्षिक श्रम स्वीकृति विवरण तथ्यांकले देखाएको छ । विवरणमा उल्लेख भए अनुसार उक्त आर्थिक वर्षमा धनुषाका २० हजार पाँच सय ३४ जना, महोत्तरीका १५ हजार सात सय ९२ जना र झापाका १४ हजार ६ सय ६४ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । यो हिसाबले धनुषाबाट वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दो क्रममै रहेको बुझिन्छ ।

पछिल्लो दुई आर्थिक वर्षमा धनुषाका नागरिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको आधारमा रोजगारीको सिलसिलामा बिदेसिनेको संख्या अझ थपिँदो क्रममै छ । पछिल्लो केही वर्षदेखि वार्षिक श्रम स्वीकृति लिने औसत २० हजार हाराहारी देखिए पनि अहिले धनुषाका कतिजना वैदेशिक रोजगारीमा छन् भन्ने यकिन तथ्यांक पाउने आधार भेटिएन । तर, दुई वर्षअघि धनुषामा मात्र दैनिक दुई करोडभन्दा बढी रेमिट्यान्स आउने गरेको वर्तमान अर्थमन्त्री (तत्कालीन गभर्नर) युवराज खतिवडाले धनुषामै आयोजित एक कार्यक्रममा जानकारी दिएका थिए ।

अर्थविद् प्राध्यापक डा. भोगेन्द्र झाका अनुसार दुई वर्षअघिको तुलनामा अहिले धनुषामा दैनिक आउने रेमिट्यान्सको उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांक केलाउँदा मुलुकमा बर्सेनि रेमिट्यान्स बढ्दो क्रममा रहेको उल्लेख गर्दै डा. झाले भने, ‘धनुषाबाट सबैभन्दा बढी मानिस वैदेशिक रोजगारीमा गएका छन् र सबैले त्यहाँ आर्जन गरेको रकम नेपालमै पठाउँछन् । यसर्थ धनुषामा रेमिट्यान्स बढेको दाबी गर्न सकिन्छ ।’

काठमाडौं तथा पहाडी सहरी क्षेत्रबाट युरोपियन मुलुकमा जानेको संख्या बढी रहेको चर्चा गर्दै उनले भने, ‘पढेलेखेकाहरु युरोपेली मुलुक जान्छन् र तीमध्ये अधिकांशले नेपालको सम्पत्ति पनि बेचेर त्यतै स्थापित हुने गरेका छन् । तर, मधेसका जिल्लाबाट खाडी मुलुक जाने सबैले त्यहाँ मेहनत गरी आर्जन गरेको सबै रकम नेपालमा पठाउने भएकाले यहाँ रेमिट्यान्स बढेको हो ।’

फाइदा कि नोक्सान
अर्थशास्त्रका प्राध्यापक डा. झाका अनुसार बाहिरबाट हेर्दा वैदेशिक रोजगारीप्रति बढ्दो आकर्षणले भौतिक विकासमा धेरै फाइदा देखिन्छ । तर, सामाजिक र सांस्कृतिक क्षेत्रमा यसले धेरै नकारात्मक प्रभाव समेत पारिरहेको उनको दाबी छ । ‘हिजो दुई छाक खान र इच्छा अनुसारको लाउन असमर्थ परिवारमा वैदेशिक रोजगारीले निश्चित रुपले सम्पन्नता ल्याएको छ,’ डा. झा भन्छन्, ‘सतहलाई खोतलेर अध्ययन गर्ने हो भने यसले मुख्यतः दुई क्षेत्रमा नकारात्मक असर गरिरहेको छ, एक उपभोक्तावादी संस्कृतिलाई मलजल गरेको छ भने अर्को सामाजिक सांस्कृतिक क्षेत्रमा विकृति बढाएको छ ।’

कृषि तथा उद्योगमा काम गर्नेले जनशक्ति नपाउने समस्याले रेमिट्यान्सको रुपमा आउने ठूलो रकम दुरुपयोग भइरहेको उनी बताउँछन् । मुलुकमा दैनिक रुपमा भित्रिइरहेको रेमिट्यान्सलाई सदुपयोग हुने गरी उत्पादनमूलक क्षेत्रमा व्यवस्थित लगानी गर्ने हो भने अहिले सरकारले गरिरहेको लगानी सम्मेलनको आवश्यकता नपर्ने उनको दाबी छ । उपयुक्त कानुनको अभाव र सरकारको सोच परिमार्जन हुन नसक्दा मुलुकमा आइसकेको रकम खाद्यान्न र निर्माण सामग्री आयातको नाउँमा फेरि अर्को मुलुकमा गइरहेको चर्चा गर्दै उनले भने, ‘रेमिट्यान्स र त्यसको उपयोगबारे सूक्ष्म अध्ययन, योजना तर्जुमा तथा व्यवस्थापनमा सरकार गम्भीर हुनु आवश्यक छ ।’० वर्षअघि देखिएको रघुनाथपुरको एउटा बस्तीको झलक (माटोको टायल्सले छाएको घर) र अहिले (पक्की संरचना बन्ने लहर)
तस्बिर ः सुरेश÷नागरिक

प्रकाशित: ११ वैशाख २०७६ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App