नागरिक नायक

सधैँ सक्रिय

बुधबार, ११ बैशाख २०७६, ११ : ४७ अमृत भादगाउँले

संस्कृतिविद् सत्यमोहन जोशीको नाम सम्झनेबित्तिकै श्रद्धाले शिर झुक्छ। सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत सक्रिय उनी शतायुमा आइपुग्दा पनि उत्तिकै चिन्तनशील छन्। मानव हितमा क्रियाशील छन्।

हरेक मान्छेको चाहना हुन्छ– सुखी बन्ने। कोही आफ्नो र परिवारको स्वार्थमा मात्र सुख भेट्छन् भने कोही परकल्याणमा। आफ्ना लागि त पशु पनि बाँच्छ, समाजका लागि बाँच्नेहरू महान् हुन्छन्। त्यस्तै सामाजिक अगुवा हुन्– सत्यमोहन जोशी।

तिनै संस्कृतिविद्को नाम सम्झनेबित्तिकै श्रद्धाले शिर झुक्छ। सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत समर्पित जोशी सतायुमा आइपुग्दा पनि उत्तिकै चिन्तनशील छन्। मानव हितमा क्रियाशील छन्।

सादा जीवन उच्च विचारले उनको जीवन सार्थक भएको छ। स्वर्णिम बनेको छ। जुरेली दर्शन पच्छाएकैले आत्मसन्तुष्टि मिलेको छ। नेपाली समाज उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनेर सम्बोधन गर्छ। संस्कृति, कथा, कविता, उपन्यास, नाटक आदि वाङ्मयका विभिन्न फाँटमा अतुलनीय योगदान पु-याएकाले उनलाई वाङ्मय शताब्दी पुरुष भनिएको हो।

नेपाली साहित्यमा मदन पुरस्कार सम्मानित छ। जुन पुरस्कार पाउँदा स्रष्टाहरूको उचाइ बढ्छ। लोकप्रियता चुलिन्छ। जीवनमा तीन–तीन पटक मदन पुरस्कार पाउने भाग्यमानी सत्यमोहनमात्र हुन्। उनको भाग्यरेखा भावीले कोरिदिएको होइन, उनी आफैँ कोरेका हुन्। निरन्तर साधना र सत्कर्मबाट भाग्य चम्कन्छ। उनको जीवनले यही देखाउँछ।

मान्छेको मूल्याङ्कन आयुबाट होइन, योगदानबाट गरिन्छ। ऊ कति वर्ष बाँच्यो भन्दा पनि कसरी बाँच्यो भन्ने महत्वपूर्ण हुन्छ। वैशाख ३० गते हाम्रा वाङ्मय शताब्दी पुरुष सय वर्षमा पाइला टेक्दैछन्। समाज र राष्ट्रलाई योगदान गर्न उनलाई बुढ्यौली बाधक बनेको छैन। उनको जीवन कथाले राष्ट्रियता र संस्कृतिप्रति प्रेम गर्न प्रेरित गर्छ।

...

शताब्दी पुरुषको जीवन आफैँमा खुला विश्वविद्यालय बन्यो। एउटा मान्छेले जीवनमा कति धेरै सत्कर्म गर्न सक्छ भन्ने उदाहरण खोज्नेले सत्यमोहन पढे पुग्छ। सुरुमा चर्चा गरौँ उनले पाएका मदन पुरस्कारका सन्दर्भ।

उनले पहिलोपटक मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोकसंस्कृति’ हो। पश्चिम नेपालमा संकलन गरेका झ्याउरे, दोहोरी र लोकगीत समेटिएको छ यसमा। यसैले उनलाई २०१३ सालको मदन पुरस्कार दिलायो।

त्यसपछि उनले २०१७ सालमा फेरि मदन पुरस्कार पाए। ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि। त्यसमा नेपालको प्राचीनकालदेखि पुस्तक लेखुन्जेलसम्मका मुद्राको संकलन, अन्वेषण र अध्ययन गरेर सचित्र वर्णन गरिएको छ।

तेस्रोपटक २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनीसहित ५ जनाले संयुक्तरूपमा मदन पुरस्कार पाए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बखत उनको समूह (भाषाशास्त्री चुडामणि बन्धु, भूगोलवेत्ता जंगबहादुर सिंह, गायक प्रदीप रिमाल, सरकारी कर्मचारी बिहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशी) नेपाली भाषाको उद्गमथलो जुम्लाको सिञ्जा उपत्यका पुगेको थियो। उनीहरूले त्यहाँ २ महिना बसेर ५ खण्डको ग्रन्थ ‘कर्णाली लोकसंस्कृति’ लेखेका थिए।

यसरी लोकसाहित्य मात्र होइन, अन्य सांस्कृतिक र पुरातात्विक सम्पदाको खोज तथा अनुसन्धानमा समेत उनको गहिरो लगाव देखिन्छ। पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको शासनकालमा उनी पुरातत्व विभागका निर्देशक बनाइए। त्यतिबेला उनले महत्वपूर्ण काम गरेका इतिहास छ।

तिनताका छाउनीमा मात्र संग्रहालय थियो। उनकै पहलमा हुनमानढोकामा राष्ट्रिय मुद्रा संग्रहालय, भक्तपुरमा राष्ट्रिय चित्र संग्रहालय र ललितपुरमा राष्ट्रिय धातुकला संग्रहालय खोलियो। बुद्धको जन्मथलो लुम्बिनीको उत्खनन् पनि गरियो।

अर्को कुरा, उनले नेपाल भाषामा एउटा महाकाव्य पनि लेखे। नेपाल भाषा उत्थानका लागि नेपाल भाषा एकेडेमी स्थापना गर्नमा उनको योगदान उल्लेख्य छ। उनले प्रज्ञा प्रतिष्ठानमा बसेर पनि महत्वपूर्ण काम गरे।

२०२६ सालमा उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरे। त्यहीबेला कर्नालीको खोजमा निस्के। त्यसबाट ठूलै उपलब्धि पायो मुलुकले। पछि सूर्यविक्रम ज्ञवाली कुलपति हुँदा उनी सदस्यसचिव बनाइए। उनकै सोचअनुसार प्रतिष्ठानले हरेक वर्ष नाटक महोत्सव गर्न थाल्यो। महोत्सवमा उनका केही नाटक पनि मञ्चन गरियो। महोत्सवले नाटक मोह जगाउने काम गरेको थियो त्यतिबेला।

पञ्चायतकालमा पञ्चायतविरुद्ध व्यंग्य कस्ने कार्यक्रम ‘गाईजात्रा महोत्सव’ उनकै निर्देशनमा २०३५ सालमा सुरु भयो। त्यो परम्परा कायमै छ। यसरी हेर्दा सत्यमोहनमा विद्रोही चेत पनि देखिन्छ। राष्ट्रिय विभूति अरनिकोको खोजी गर्ने अभियन्ता पनि उनै हुन्। १३ औँ शताब्दीमा नेपालबाट चीन पुगेका कलाकार अरनिकोले उता स्वेत चैत्य बनाएका थिए। जोशीले चीनबाट फर्केर ‘कलाकार अरनिको’ नामक पुस्तक लेखे। अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गराउनुमा उनको खोजले काम ग-यो।

पहिलोपटक उनी २०१६ सालमा चीन पुगेका थिए। पछि २०१९ सालमा चिनिया सरकारको निम्तोमा त्यहाँका नागरिकलाई नेपाली भाषा सिकाउन गए। चार वर्षसम्म त्यहाँ बसेर भाषा सिकाए। अरनिकोको खोजी गरे। पछि २०३६ सालमा पनि २ वर्ष नेपाली भाषा पढाए। उताबाट पर्केपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा नेपाल भाषा पढाउन थाले। जबकि उनको औपचारिक शिक्षा स्नातक तहसम्ममात्र हो।

नेपाली मौलिकता खोजी गर्ने र त्यसको गोडमेल गर्ने माली हुन् सत्यमोहन। उनका ७० भन्दा बढी कृति प्रकाशित छन्। उनले निबन्ध, प्रबन्ध, कविता, कथा, नाटक र अनुसन्धानात्मक पुस्तक लेखे। नेपाली, नेपाल भाषा र अंग्रेजीमा लेखे उनले। नेपाली भाषामा लेखिएको याज्ञबल्क्य नाटक संस्कृति मन्त्रालयले संस्कृत भाषामा प्रकाशन गर्दैछ।

उनको लेखन यात्रा अविराम छ। २०७३ सालमा निस्केको ‘नेपाली कलाको रूपरेखा’ मा प्राचीन र मध्यकालीन कलाको सचित्र जानकारी पस्किएका छन्। त्यस्तै कवि अनिल पौडेलले उनको जीवन दर्शनमा आधारित पुस्तक ‘जुरेली दर्शन’ छापेका छन्।

नेपाली समाजमा मरेपछि मात्र गुनगान गाउने चलन छ। केही वर्षयता भने जिउँदैमा सम्मान गर्ने थिति बसेको छ। यो सुखद सन्देश हो। उनले राज्यबाट प्रख्यात त्रिशक्तिपट्ट, सुप्रबल गोरखा दक्षिणबाहु, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, महाउज्ज्वल राष्ट्रदीपसहित वाङ्मय शताब्दी पुरुष सम्मान पाएका छन्। अन्य थुप्रै साहित्यिक तथा सांस्कृतिक पुरस्कार पाएका छन्।

नागरिकस्तरबाट पनि सम्मान पाइरहेकै छन्। सबैभन्दा ठूलो कुरा उनी जनजनको मनमा बसेका छन्। गत वर्ष लक्ष्मीदास मानन्धरको अध्यक्षतामा गठित सत्यमोहन जोशी अभिनन्दन समारोह समिति मूल आयोजक र काठमाडौँं महानगरपालिका सहआयोजक भएर उनको अभिनन्दन गरिएको थियो। उनको रथारोहण पनि भइसकेको छ।

उमेर बूढो भए पनि सक्रियताले तन्नेरी बनाएको छ। दिनैजसो साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा प्रमुख अतिथिको निम्तो पाइरहन्छन्। भ्याएसम्म त्यहाँ पुग्छन्। आफ्नोपनमा गौरब गर्न हुट्हुटी बढाउँछन्। मञ्चमा उनी उभिँदा कार्यक्रमको गरिमा बढ्छ। हरपल दौरा–सुरुवाल, खैरो टोपी र कोटमा ठाँटिन्छन्। विगतमा उनी ठम्ठमी हिँडेरै कार्यक्रमहरूमा पुग्थे। वर्ष दिनअघि ललितपुर महानगरपालिकाले उनलाई गाडी सुविधा दिएको छ। अचेल त्यसमै गुड्छन्।

ललितपुर महानगरपालिकाले ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र’ स्थापना गर्दैछ। उसले वैशाख ३० देखि वर्ष दिनसम्म जोशीको शतायु कार्यक्रम मनाउँदैछ। नगरभित्र जोशीको प्रतिमासहित पार्क निर्माण गर्दैछ। ज्युँदैमा सम्मान गर्ने सबैलाई धन्यवाद!

उनको विचार, व्यवहार र जीवनशैलीमा नेपालीपन मग्मगाउँछ। पाटनको नेवारी समाजमा जन्मे/हुर्केका जोशीमा बाल्यकालदेखि नै सांस्कृतिक प्रभाव प-यो। समयक्रममा त्यही माहौलले उनलाई सांस्कृतिक अभियन्ता बनाइदियो।

मान्छे सांस्कृतिक पहिचान, भाषा र तद्नुरूपको जीवनशैलीबाट मात्र पूर्ण बन्छ। उनी आफू त पूर्ण बने नै, अरुलाई पनि त्यही बाटोमा हिँड्न प्रेरित गर्दैछन्। आज बखुम्बहाल, ललितपुरस्थित उनको निवास तीर्थस्थल बनिसक्यो।

घरको आँगनमा माता राजकुमारी र पिता शंकरदासको प्रतिमा बनाएका छन् उनले। हरेक बिहान तिनलाई तर्पण दिन्छन्। साँझ आरती गर्छन्। १९७७ वैशाख ३० गते जन्मेका थिए उनी। उनी आफूभन्दा पाँच वर्ष कान्छी जीवनसाथी राधादेवीसँगै त्यही तीर्थमा बस्छन्। उनको जीवन संघर्षलाई सफल बनाउन राधादेवीको ठूलो सहयोग मिलेको छ।

जोशीको जीवनकालमै बखुम्बहाललाई ‘वाङ्मय शताब्दी पुरुष खुला संग्रहालय’ का रूपमा विकास गर्न पाए राम्रो हुन्थ्यो। त्यसो गर्न सकियो भने मुलुकभित्रका मात्र होइन, बाहिरका नेपाली समेत त्यो तीर्थमा धाइरहन्थे। ज्ञानगुन बटुलिरहन्थे।

...

मान्छे कति वर्ष बाँच्छ? कसैले भन्न सक्दैन। ५ वर्षअघि फोक्सोमा पानी जमेर अस्पतालको बेडमा पल्टिएका बेला मनले भनेथ्यो– ‘मरिन्छ कि!’ मृत्युलाई जितिसके उनले। मृत्युदेखि डर छैन अब। मर्नु त एकदिन पर्छ नै, जीवनमा जति कमाए पनि साथमा केही लान पाइँदैन। धरतीमा जसरी आयो उसैगरी जानुपर्छ।

बुढ्यौलीलाई भगवानकै वरदान ठानेका छन् उनले। मान्छेले आफूलाई चिन्न सके आत्मसन्तुष्टि मिल्छ! ‘हामीले आफूभित्रको देवतालाई चिन्नुपर्छ’, एक साँझ उनले हामीलाई सुनाए– आफूले आफैँलाई चिन्न सके आनन्द मिल्छ।

जिन्दगीको यात्रामा फुर्सद पाएनन् उनले। शिखरबाट फर्केर हेर्दा जीवन सफल भएको अनुभूति हुन्छ। उनले धेरै सुकर्म गरे तर कर्नालीको लोकसंस्कृति अध्ययनबाट बढी सन्तुष्ट रहेछन्। भन्छन्– कर्नालीको कामले नै मलाई सबैभन्दा सन्तुष्टि दिलाएको छ।

उनले संकलन गरेका लोकगीत भन्छ– ‘के खायो होला के लायो होला वनकी चरीले..।’ यद्यपि ती चरा सुखी देखिन्छन्। उनी जुरेलीलाई आफ्नो गुरु मान्छन्। जुरेली चरा जसलाई भोलिको चिन्ता छैन, आनन्दपूर्वक बाँच्छ। त्यसैगरी बाँचे जोशी, कहिल्यै तनाव नलिइ।

नेपाल जातीय विविधताको साझा फूलबारी। हरेक जाति र भाषाभाषीको समृद्धि, समभाव र आपसी सद्भावबाट मात्र मुलुक समृद्ध बन्छ। उनको जीवन दर्शनले ‘पहिला हामी नेपाली’ भन्ने बुझाउँछ। राष्ट्रियताको डोरी कसिलो बनाउन योगदान गरे उनले। त्यसैले उनलाई सम्झँदा मनफूल चढाउन मन लाग्छ।    
उनको सुस्वास्थ्य र दीर्घायुको कामना!

मदन पुरस्कारमा ह्याट्रिक  
संस्कृतिविद् सत्यमोहन जोशीले वि.सं. २०१३ सालमा पहिलोपटक मदन पुरस्कार पाएका थिए। उनको गद्य कृति ‘हाम्रो लोकसंस्कृति’ ले पुरस्कार जितेको थियो। फेरि वि.सं. २०१७ मा उनले मदन पुरस्कार पाए। ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थबाट उनले दोस्रोपटक पुरस्कार जिते। तेस्रोपटक वि.सं. २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनीसहित ५ जनाले संयुक्तरूपमा मदन पुरस्कार पाएका थिए।

वाङ्मय शताब्दी पुरुष
सरकारले २०७४ वैशाख २१ गते सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ उपाधि दियो। त्यसअघि त्रिमूर्ति निकेतनले २०७१ मंसिर १५ गते उनलाई ‘शताब्दी पुरुष’ घोषणा गरेर ५ लाख नगदसहित सम्मान गरेको थियो। उनी ९५ वर्षको हुँदै शताब्दी पुरुष उपमा दिइयो। जसरी एसएलसी परीक्षामा ५ नम्बर ग्रेस मार्क दिएर पास गरिन्थ्यो, त्यसैगरी उनलाई ५ वर्ष ग्रेस दिएर शताब्दी पुरुष घोषणा गरिएको थियो।  

यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad