७ वैशाख २०८१ शुक्रबार
राजनीति

फेरियो व्यवस्था, फेरिएन संस्कार

घटना १

गत फागुन २१ गत सेना दिवसका अवसरमा नेपाली सेनाले भद्रकालीमा आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएपछि ट्राफिक प्रहरीले राष्ट्रपतिको सवारी हुने सडक खाली गरायो। साँझका बेला काम सकेर आ–आफ्नो घर फर्किदै गरेका सर्वसाधारणलाई राष्ट्रपतिको सवारीका लागि सडकमा लामोसमयसम्म कुराएपछि सर्वसाधारणमा धैर्यटुट्यो।मोटरसाइकल चालक तथा अन्य सवारीसाधनले ट्राफिक प्रहरीको निर्देशनलाई उल्लंघन गर्दै अघि अघि बढे। सर्वसाधारणलाई अनावश्यक दुःख दिइएको भन्दै यो घटनाबारे सामाजिक सञ्जालमा सरकार र राष्ट्रपतिको चर्को आलोचना भयो। साँझको बेला गरिएको सवारी अवरोधले सर्वसाधारणले सास्ती बेहेर्नुपर्‍यो।

घटना २

२०७० साउन २७ मा तत्कालीन राष्ट्रपति रामवरण यादव भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाँदा प्रहरीले उनको सवारीलाई दृष्टिगत गर्दै सडक खाली गरायो। उनी नेपाली सेनाको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सहभागी हुँदा सडक अवरुद्ध हुनपुग्यो। बर्खाको बेला सर्वसाधारणलाई दुःख हुने गरी पूर्वराष्ट्रपतिको सवारीका नाममा सडक अवरुद्ध पाएिपछि त्यतिबेला पनि सरकार र राष्ट्रपति यादवको चर्काे आलोचना भएको थियो।

विगतमा राजा महाराजाको सवारीका बेला सास्ती व्योहोर्ने गरेका जनताले गणतन्त्र स्थापनापछि पनि मुक्ति पाउन सकेका छैनन्। बरु पहिले एउटा राजाका कारण भोग्नुपर्ने सास्ती अहिले उच्च पदस्थ धेरै हुँदा बढेको अनुभूति जनतामा छ। 

घटना ३

दसैंका बेला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्न राष्ट्रपति निवास पुगेका पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले घुँडा टेकेर टीका थापेको तस्बिर सार्वजनिक भयो। नेकपाकै नेता वामदेव गौतम, पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले पनि झुकेर टीका थापेका तस्बिर सार्वजनिक भए।तस्बिर सार्वजनिक भएपछि  राष्ट्रपति कार्यालयले त्यसको बचाउ गर्‍यो। जबकि राष्ट्रपति भण्डारीलाई दोस्रो कार्यकालका लागि शपथ खुवाएका पराजुलीले घुँडा टेकेर टीका थाप्दै गर्दा यसले कस्तो सन्देश जाला भन्नेबारे राष्ट्रपति वा उनका सहयोगीलाई जानकारी नहुने कुरै थिएन। यो जानीजानी गरिएको कमजोरी थियो। यस्ता घटना राजा महाराजाका पाला हुने गर्थे। तर गणतन्त्रमा पनि यसप्रकारका सामन्ती अवशेष रहनुले संस्कार नफेरिएको प्रष्ट हुन्छ।

राजतन्त्रका बेला राजालाई विष्णुको अवतारका रूपमा हेरिन्थ्यो र उनीसँग टीका थाप्दा पुण्य हुन्छ भन्ने मान्यता राखिन्थ्यो। तर गणतन्त्रमा आउँदा त झन् राष्ट्रपति, प्रधानमन्त्रीबाट मात्र नभएर दलका नेताहरूको घरमा धाएर टीका लगाउने प्रचलन पनि सुरु भएको छ। सामान्यत हिन्दु परम्परामा मान्यजन र आफूभन्दा ठूलाबाट टीका लगाउने मान्यता छ तर पछिल्लो समय दलका नेताहरूमा आफूलाई शासक ठान्ने र जनताले आफूलाई रैती नै ठान्ने प्रवृत्ति दोहोरिएको छ।

राजाकै शैलीमा राष्ट्रपति तथा दलका नेताहरूले टीका लगाइदिने शैलीलाई राजनीतिक विश्लेषक विष्णु सापकोटा लोकतन्त्रका लागि गरेको संघर्षप्रतिको व्यंग्य भन्छन्। ‘यो शासक हटाएर आफैं शासक बन्ने निम्नस्तरको प्रवृत्ति हो,’ सापकोटाले नागरिकसँगको कुराकानीमा भने। राजनीतिक नेतृत्वमा हाल देखिइरहेको प्रवृत्तिले विगतमा गरिएका लडाइँहरू जनताको लागिभन्दा पनि आफ्नो लागि मात्र भएको पुष्टि हुने उनको तर्क छ।

‘राजनीतिक नेतृत्वमा अहिले जुन किसिमको मानसिकता देखिँदैछ, यसले त आफू सत्तामा पुग्नका लागि मात्र सत्ताको विरोध गरेको देखियो,’ उनी भन्छन्। राजनीतिक नेतृत्वमा पुरानै सामन्ती प्रवृत्ति देखिएका कारण यस्तो समस्या आएको उनी बताउँछन्। ‘यो उहाँहरूले  थाहा नभएर गरेको होइन, यो त जानी जानी जनतालाई हेपेको हो,’ उनले भने।

नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्षभन्दा बढी समय भइसकेको छ। एउटा व्यक्तिलाई शासक मान्न तयार नहुने व्यवस्थाको विकल्पमा ल्याइएको गणतन्त्रमा पनि राष्ट्रप्रमुख र सरकार प्रमुखका क्रियाकलाप र रहनसहन राजाको भन्दा कम भने देखिदैन्। जनताबाट निर्वाचित जनप्रतिनिधिको राजा बन्न खोज्ने संस्कारका कारण जनतामा निराशासँगै आक्रोश बढाउन थालेको छ।

जनतालाई सास्ती हुनेगरी सवारी किन ?

२सय ४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै २०६५सालमा मुलुकको राष्ट्राध्यक्षको जिम्मेवारीमा जनताका छोरा पुगे। तर, राजा र राष्ट्रपतिबीच भिन्नता देखिएन। राजाकै शैलीमा राष्ट्रपतिको पनि सवारी चल्न थाल्यो तरपनि जनताका छोरा पनि त्यसमै रमाइरहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्त उच्च पदस्थको सवारी व्यवस्थापन उनीहरूलाई राज्यले दिएको सम्मान भएको तर्क गर्छन्। ‘केही विशेष दिनमा मात्र उहाँहरूलाई सम्मानस्वरूप सवारीको व्यवस्था गरिन्छ, यो सुरक्षा निर्देशिकामा नै व्यवस्था गरिएको छ,’ उनले भने। अन्य दिनमा उच्चपदस्थको सवारी पनि सामान्य ढंगले नै हुने भएकाले यो सुरक्षाको विषयसँग नजोडिने उनी बताउँछन्। राज्यका विशेष दिनमा नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि यस्तो व्यवस्था हुने उनी बताउँछन्।

सवारीका बेला छोटो अवधिका लागि सवारी डाइभर्ट गरेर उच्च पदस्थको सवारी व्यवस्था गरिने उनी बताउँछन्। ‘हाम्रो चाहना जनतालाई कमभन्दा कम दुःख होस् भन्ने हुन्छ, त्यसका लागि हामी प्रयासरत रहन्छौँ,’ उनले भने। पन्त राज्यको कानुनमा नै उच्च पदस्थलाई सम्मान दिने भनेर व्यवस्था गरिएकाले यो कसैले भनेकै आधारमा परिवर्तन हुन नसक्ने बताउँछन्। यसका लागि प्रक्रियागत ढंगले पनि परिवर्तन गर्नुपर्ने उनको तर्क छ। हाल सुरक्षा निर्देशिका परिवर्तन भइरहेको र त्यसमा यस्ता विषयमा पनि हेरफेर हुनसक्ने उनी बताउँछन्। हाल उच्चपदस्थलाई दिइने यस्तो सम्मान राजतन्त्रकै बेलादेखिको निरन्तरता भएको सुरक्षाअधिकारीहरू बताउँछन्। 

पछिल्ला केही वर्षयता राष्ट्रपति तथा प्रधानमन्त्रीको सेवासुविधा र अधिकारलाई लिएर विभिन्न किसिमको आलोचनासमेत हुने गरेकोछ। जनतालाई सार्वभौम सम्पन्न बनाउने भन्दै ल्याइएको व्यवस्थामा उच्च पदमा पुगेकाहरूमा देखिएको भोग, विलास र शक्ति आर्जनप्रतिको आशक्तिका कारण आलोचना हुन थालेको हो।

भूकम्प गएको चार वर्ष पुग्दासमेत जनतालाई राम्रो ओतको पनि व्यवस्था हुन सकेन। तर सेरेमोनियल राष्ट्रपतिका लागि महँगो हेलिकोप्टर खरिद गर्ने तथा करोडौंरुपैयाँ पर्ने सवारीसाधन खरिदको प्रक्रिया अघि बढाइएको छ। सरकारले महŒवपूर्ण विषयलाई छोडेर राष्ट्रपतिको सुविधाका लागिदिएको प्राथमिकता राजतन्त्रलाई समेत माथ खुवाउने किसिमको देखिन्छ। केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सिस्टाचार नीति नै परिवर्तन गरेर हात नमिलाउने बरु नमस्कार गर्ने प्रचलन सुरु गरिन्। कम्युनिस्ट पार्टीबाट राष्ट्रपति बनेकी भण्डारीको यो निर्णयलाई कतिपयले दरबारीया अभ्यासका रूपमा पनि अथ्र्याए। 

सुविधाका हिसाबले राष्ट्रपतिमा केही बढी मोह देखिएपनि शक्ति आर्जन, असीमित अधिकारको प्रयोग जस्ता विषयमा प्रधानमन्त्रीको महत्वाकांक्षाराजाकोभन्दा कम देखिँदैन। जनताको अधिकार र सुविधाका लागि ध्यान दिनुपर्ने सरकार प्रमुखले जनताका राजनीतिक अधिकारलाई संकुचित गर्ने तथा प्रेस स्वतन्त्रता, सुरक्षा निकायको परिचालन जस्ता विषयमादेखाएको आशक्तिले उनी कतातिर जाँदैछन् भन्ने कुरा संकेत गर्छ। उच्चपदस्थ एवं राजनीतिक दलका शीर्ष नेतामाउच्च सुरक्षा घेराभित्र रहनुपर्ने र धान्नैनसक्ने सम्मानको अपेक्षा गर्ने संस्कारले पनि गणतन्त्रलाई गिज्याइरहेको छ।

राजनीतिक विश्लेषक हरि रोका राजनीतिक परिवर्तनपछि पनि नेतृत्वको संस्कार परिवर्तन नहुनुमा राजनीतिक दलभित्र प्रजातान्त्रिक वातावरण नहुनु मुख्य कारण मान्छन्। ‘राजनीतिक दलभित्रको शिक्षा, छलफल र बहस कसरी हुन्छ भन्ने कुराले उनीहरूको संस्कार कस्तो छ भन्ने कुरा निर्धारण गर्छ,’ उनी भन्छन्।  यस्ता कुराको संस्कार आफ्नै घरबाट सुरु हुने रोका बताउँछन्। ‘घरभित्र कति प्रजातान्त्रिक व्यवस्था छ भन्ने कुराले पार्टीभित्र पनि प्रभाव पार्छ,’ रोका भन्छन्। आफ्नै घरमा बाबुसँग सिधै कुरा गर्न नसकेर आमाको माध्यमबाट कुरा अघि बढाउनुपर्ने संस्कारको विकसित रूप राजनीतिक दलमा पनि लागु भइरहेको उनको तर्क छ। ‘घरमा  जुन किसिमको अभ्यास भइरहेको हुन्छ, पार्टी भित्र पनि त्यही कुरा लागु  हुने हो,’ उनी भन्छन्।

‘नेतृत्वसँग विचार धारा र पार्टीभित्रका समस्याबारे कार्यकर्ताले बोल्न नसक्दा  नेतृत्व स्वेच्छाचारी बन्छ, जसले गर्दा नेतृत्वले आफूलाई राजा र अरुलाई रैती ठान्न थाल्छ,’ रोका भन्छन्। ‘हामीले दलभित्रको संस्कारलाई फेरि पनि परिवर्तन गर्न सकेनौं। हाम्रो प्रजातान्त्रिक वातावरणका लागि बहस र छलफल नै भएन,’ उनले भने। रोका संस्कारमा परिवर्तन नहुनुका पछाडि राजनीतिक दलभित्रको शिक्षा प्रणालीलाई दोष दिन्छन्। ‘संस्कार परिवर्तनका लागि राजनीतिक दललाई शिक्षित बनाउँ भन्ने अभियानको  सुरुवात हुन आवश्यक छ,’ उनी भन्छन्।

‘मानिसहरुले गणतन्त्रका लागि किन लडे ? किन परिवर्तन चाहे भन्ने कुरालाई नेतृत्वले बिर्सनु हुँदैन,  अर्कातर्फ आम जनताले पनि नेतृत्वलाई भन्न सक्ने स्थिति हुनुपर्छ,त्यो वातावरण भएन भने उनीहरूमा अर्काे ग्रहबाट आएको जस्तो व्यवहार गर्न थाल्छन्,’ उनले भन्छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठराजनीतिक प्रणालीमा परिवर्तन भएपनि त्यसले मागेको मूल्य र संस्कृतिको रूपान्तरण हुन नसकेको स्वीकार गर्छन््।‘राजनीतिक परिवर्तन आवश्यक थियो तर राजनीतिक प्रणालीको परिवर्तनसँगै जुन प्रकारको मूल्य र संस्कृतिको माग थियो त्यसअनुसार रूपान्तरण भएको छैन,’ उनले भने।

श्रेष्ठ मूल्य मान्यता र सांस्कृतिक रूपान्तरण निकै जटिल लक्ष्य भएको बताउँछन्। ‘राजनीतिक प्रणालीमा परिवर्तन भएजसरी सजिलै सांस्कृतिक रूपान्तरण हुँदैन, तर त्यसका लागि नेतृत्वले आफूलाई ध्यानपूर्वक परिवर्तन गर्नुपर्छ,’ श्रेष्ठले भने।

नेतृत्वले त्यसमा पर्याप्त ध्यान नपु¥याएपार्टीहरू, राज्य संयन्त्र र समाजमा परिवर्तन हुनुको सट्टा झन् जब्बर भएर जाने खतरा हुने श्रेष्ठ बताउँछन्। ‘त्यसले राजनीतिक प्रणालीलाई नै गतिहीन बनाइदिन्छ, यो गम्भीर विषय हो,’ उनले भने, ‘अहिलेको आवश्यकता के हो भने हामीले राजनीतिक प्रणालीमा परिवर्तनका लागि संघर्ष ग¥यौं, अब यसलाई वास्तविक अर्थमा कार्यान्वयनमा लैजाने हो भने ठूलो रूपान्तरण र मूल्य स्थापना आन्दोलनको आवश्यकता छ,’ श्रेष्ठले भने।

श्रेष्ठ मूल्य स्थापना र संस्कार परिवर्तनका लागि अर्को ठूलो आन्दोलन समाज र राजनीतिक पार्टीमा चलाउन आवश्यक रहेको बताउँछन्। आन्दोलनले मात्र  मूल्य स्थापनाको दिशातिर र सांस्कृतिक रूपान्तरणको दिशातिर राजनीतिलाई लैजाने र यसबाट मात्र राज्य संयन्त्रमा पनि रूपान्तरण गर्न सकिने उनको भनाइ छ। ‘अहिलेको आवश्यकता अर्काे आन्दोलनको हो, यो बन्द हडताल वा माग राख्ने नभएर समाज, राज्य संयन्त्र र राजनीतिक पार्टीमा रूपान्तरणको आन्दोलन हो,’ उनले भने।

श्रेष्ठअहिलेको स्थिति सिर्जना हुनुको कारण राजनीतिक परिवर्तनका लागि भएका संघर्षसँगै सांस्कृतिक रूपान्तरणको आन्दोलन नचलाउनु हो भन्छन्। यस विषयमा चीनमा माओले पनि जोड दिएको उनी बताउँछन्। उनी राजनीतिक परिवर्तन पछि पार्टी र राज्यमा प्रतिक्रान्तिहरु देखा पर्ने भन्दै सुरुवातदेखि नै जीवन मूल्य र सांकृतिक रूपान्तरणको अभियान चलाउन आवश्यक पर्ने बताउँछन्।‘पार्टीभित्र बोल्दा अवसर पाइँदैन कि भन्ने त्रासले नेतृत्वसँग बोल्न डराउने प्रवृत्तिले पनि समस्या निम्त्यिाइरहेको छ,’ श्रेष्ठले भने।

प्रकाशित: ११ वैशाख २०७६ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App