७ वैशाख २०८१ शुक्रबार
अर्थ

ठेकेदारले काम नगर्दा मध्य भोटेकोसी समस्यामा

काठमाडौं – आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा सम्पन्न भइसक्नुपर्ने बेला आयोजनाको भौतिक प्रगति ४२ प्रतिशतमात्र छ। निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण भएको प्रवद्र्धक संस्थाको भनाइ छ। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सो आयोजना निर्माण गरिरहेको छ।

१०२ मेगावाट क्षमताको सो आयोजनामा निर्माण व्यवसायीको लापरबाही पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निष्कर्ष निकालेको छ। सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्सट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ। जसका कारण आयोजनाको निर्माण कहिले सकिने हो, अनिश्चित छ।

आयोजनानै अन्योलमा पर्ने अवस्था देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनपहिले आयोजनास्थलको निरीक्षण गरी निर्माण अवस्थाबारे जानकारी लिएका छन्। निर्माण व्यवसायीले काम नगरेपछि आयोजनास्थल हाल सुनसानजस्तै छ। आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अलपत्र छ। ‘ठेकेदार कम्पनीलाई काममा सुधार गर्न निरन्तर निर्देशन दिँदै आएका छौं। सुरुङ, विद्युत्गृह, बाँधलगायत सबै क्षेत्रमा समानान्तर रुपमा काम गर्न कुनै समस्या छैन। तर, ठेकेदार कम्पनीले नगद प्रवाहको समस्या देखाउँदै काम गरिरहेको छैन,’ घिसिङले भने।

ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार काममा सुधार गर्न निर्देशन दिए पनि कम्पनीले काममा तदारुकता देखाएको छैन। ठेकेदार कम्पनीको मुख्यालयबाट उच्च तहका अधिकारीलाई बोलाएर छलफल गरे पनि कुनै प्रगति भएको छैन। आयोजना अन्योलमा फस्दै गएपछि आगामी दिनमा के कसरी निकास खोज्ने भनेर निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ।

आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको १० प्रतिशत संस्थापक सेयर छ। चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै आयोजना अगाडि बढाएका थिए। मध्य भोटेकोसीले गत २७ फेब्रुअरीमा ३० दिनको समय दिएर काममा सुधार गर्न पत्र दिएको थियो। त्यस अवधिमा काममा सुधार गर्न कम्पनीले कुनै चासो नदिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताए।

‘चीनबाट ठेकेदार कम्पनीका अख्तियार प्राप्त अधिकारी पनि छलफलका लागि आए तर ठोस निर्णय हुन सकेको छैन,’ प्रमुख कार्यकारी अधिकृत काफ्लेले भने, ‘निर्माणका लागि आवश्यक पर्ने उपकरण कसरी ल्याउने, नगद कहाँबाट जुटाउनेलगायत विषयसहित आयोजना निर्माणको लिखित प्रतिबद्धता माग गरेका छौं तर उसले दिन सकिरहेको छैन।’
आयोजनामा ढिलाइ भइरहे प्रवद्र्धक कम्पनीले ठेक्का तोड्ने तयारी गरेको छ। यस विषयमा छिट्टै निर्णय हुने बताइएको छ। जुरे पहिरो, भूकम्प तथा त्यसपछिका बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले अपेक्षा गरेअनुसार काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो।

हालसम्म बाँधस्थल खन्ने, मुख्य बाँध निर्माण गर्न नदी फर्काउनेलगायत काम भएका छन्। सात हजार एक सय २६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ खन्ने काम सकिएको छ। विद्युत्गृहको जग खन्ने काम सकेर ढलान भइरहेको छ। आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ। इलेक्ट्रिक मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदाका बेला निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड थियो। हाल आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख पुगेको छ। निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वःपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ। ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता भएको छ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत सेयरको स्वामित्व संस्थापक सेयरधनीमा छ। त्यसमा प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको एक प्रतिशत,नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावरको समान १–१ प्रतिशत सेयर छ।

यस्तै ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ।

आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र बर्खामा प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४० पैसा र चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ९० करोड बराबरको आम्दानी हुनेछ। रासस

प्रकाशित: ११ वैशाख २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App