८ वैशाख २०८१ शनिबार
अर्थ

निर्माण ढिलाइले सदरमुकामको सडक अस्तव्यस्त

गाईघाटस्थित निर्माणाधीन चार लेन सडक। तस्बिर: महेश्वर/नागरिक

उदयपुर - उदयपुर सदरमुकाम गाईघाटको चार लेनको सडक निर्माणको म्याद सकिएको ६ महिनासम्म पनि सम्पन्न नहुँदा अस्तव्यस्त अवस्थामा पुगेको छ। गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गतको उक्त सडकको काम डेढ वर्षअघि सुरु भए पनि निर्माण कम्पनीको ढिलाइका कारण तीन महिनायता काम ठप्प भएपछि बजारबासी धुलो र हिलोको सामना गर्न बाध्य छन्।

त्रियुगा नगरपालिकाको बसपार्कदेखि गाईघाट बजारको मुख्य चोकसम्म नौ सय ४० मिटर लामो चार लेनको सडक गत कात्तिक मसान्तमै सम्पन्न गर्ने म्याद सकिइसकेको छ। दुवैतर्फ नालीसहित साढे सात मिटर कालोपत्रे र बीचमा दुई मिटर मेडिएन (फूलबारी) र सौर्य ऊर्जा जडान गरी ०७५ कात्तिक ३० मा सक्नेगरी ०७४ जेठ २४ गते सम्झौता भएको थियो।

सम्झौता अवधिभित्र काम नसकिएपछि यही वैशाख २५ गतेसम्मका लागि म्याद थपिएको थियो। तर, उक्त म्याद सकिन लाग्दा पनि आधा काम मात्र हुनुमा निर्माण कम्पनीकै कमजोरी रहेको सडक कार्यालय, प्रशासन र स्थानीयको आरोप छ। सदरमुकामको बजारक्षेत्र भएकाले चाँडो काम सम्पन्न गर्नुपर्ने सडक, प्रशासन र स्थानीयको भनाइ छ।

डेढ वर्षको अवधिमा काम सक्नेगरी ठेक्का दिइएकामा ठेकेदारले दुई वर्ष बितिसक्दा पनि निर्माण नहुँदा सदरमुकामको शोभा नै बिग्रनुका साथै स्थानीयले धुलो र हिलोको मार खेप्नु परेको गुनासो छ। सुरुमा नाला बनाउने भन्दै स्काभेटरले दुवैतर्फ गहिरो खाल्डो खनेर लामो सयमसम्म नाला नबनाउँदा सडक छेउका व्यापारी, पैदल यात्रु तथा सवारी साधन दुर्घटना हुने जोखिम बढेको स्थानीय खुसीलाल ठाकुर बताउँछन्। ‘छिटोछिटो काम गरेको भए समयावधिभित्रै सकिने थियो,’ उनले भने, ‘ठेकेदारकै ढिलाइले एक वर्षयता स्थानीय धुलो र हिलोसँग खेल्न बाध्य छन्।’

तीन महिनादेखि फिल्डमा देखा नपरेका ठेकेदारले काममा अति ढिलाइ भएको भन्दै एक महिनाअघि स्थानीयले चक्काजामसहति विरोध प्रदर्शन गरेका थिए। त्यसपछि स्थानीय प्रशासन, सडक कार्यालय र त्रियुगा नगरपालिकाले ठेकेदारलाई बोलाएर काम चाँडो सक्न दबाब दिएको सडक कार्यालयका इन्जिनियर निज्जल श्रेष्ठले बताए। उनका अनुसार चक्काजामले सडक अवरुद्ध भएपछि प्रशासन र सडकले ताकेता गर्दा छलफलमा उपस्थित भएका कम्पनी प्रतिनिधिले यही वैशाखभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन्।

निर्माण ढिलाइ भएको भन्दै स्थानीयले पटक पटक गुनासो गरेपछि ठेकेदारलाई पत्राचार गरी चाँडो काम सक्न निर्देशन दिएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। उनका अनुसार हालसम्म दुईतर्फ नाला र त्यसमाथि स्ल्याब राख्ने काम सकिएको छ। ‘दुवैतर्फ विद्युत् पोल गाडेर विद्युत् सुचारु गर्ने काम सकिएको छ,’ उनले भने, ‘अब ग्राबेल, क्रसस्टोन र प्रि–पिच अनि कालोपत्रे गर्ने काम बाँकी छ।’ हालसम्म ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र सोही परिमाणको भुक्तानी पनि भइसकेको ज्ञवालीको भनाइ छ। उनका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक नौ करोड ९८ लाख ८४ हजार ६ सय ११ रुपैयाँ ठेक्कामध्ये पाँच करोड ७३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

निर्माण जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन प्रालिले डेढ वर्षभित्र काम सक्नेगरी सम्झौता गरेको भए पनि विविध कारण ढिला भएको जनाएको छ। कम्पनी प्रतिनिधि प्रदिप कार्कीले दुवैतर्फ नाला बनाउने क्रममा विद्युत्का पोल अवरोध भएकाले पनि ढिलाइ हुन गएको बताए। अब चाँडै काम सक्ने उनले दाबी गरे। केही दिनयता ग्रेडिङ मेसिन बिग्रेर काम सुचारु हुन नसकेको बताउँदै उनले स्थानीयको आरोपको खण्डन गर्दै आफू कतै नभागेको बताए। ‘म कतै भागेको छैन, ग्रेडिङ मेसिन बिग्रेर केही दिनयता काम रोकिएको मात्र हो,’ कार्कीले भने, ‘यसै साताभित्र काम सुचारु गरेर आउँदो असारभित्र सडक कालोपत्रे भइसक्छ।’ उनले थपिएको वैशाख अन्तिमसम्मको म्यादभित्र पनि काम नसकिने भएकाले आउँदो असारसम्म म्याद थप्न आग्रह गर्ने तयारी भइरहेको बताए।

प्रकाशित: ११ वैशाख २०७६ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App