coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भित्रिन थाले फूल र माला

झापा- स्थानीय उत्पादन कहिल्यै फस्टाउन नसक्दा फूलमा समेत भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ। दसैं सकिएर तिहार नजिकिँदै गर्दा पूर्वी नाकाबाट भारतीय फूलको आयात पनि बढ्न थालेको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा फूल अधिक खपत हुने चाडपर्वमा मात्रै होइन, अन्य समयमा पनि भारतकै भर पर्नुपर्ने बाध्यता आएको हो। यो श्रृंखला लामो समयदेखि चलिरहेको छ। आउँदै गरेको तिहारलाई फूल र उज्यालोको महान चाडका रुपमा मनाइन्छ। यसैकारण पनि तिहारमा फूल र मैनबत्तीको प्रयोग धेरै हुन्छ। तिहारमा प्रयोग हुने फूलको अधिक हिस्सा भारतीय उत्पादनकै हुने गरेको छ। 'अहिले नै फूल आयात सुरु भइसकेको छ', मेची भन्सार कार्यालयका अधिकारी भन्छन्, 'अब तिहारमा झनै धेरै परिमाणमा आउँछ।' 

हरेक वर्ष तिहारमा मात्र कम्तीमा ५०  लाख रुपैयाँभन्दा बढी मूल्यका फूल काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिने मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए।

नेपालमा व्यावसायिक रुपमा फूल खेती नभएका कारण हरेक वर्षको तिहार होस् वा अन्य कुनै  पर्व वा उत्सव, नेपाली भारतबाट आयातित फूलमा निर्भर हुनुपरेको कृषि कार्यालय झापाले जनाएको छ। कार्यालयका प्राविधिक सहायक बुलुराम राजवंशीका अनुसार जिल्लामा करिब ३ देखि ४ हेक्टर जग्गामा फूल खेती गरिएको छ। जसको उत्पादनले पाँच प्रतिशत माग पनि धान्दैन। स्थानीय स्तरमा उत्पादित फूलले उपभोक्ताको माग धान्न नसक्दा नेपाल फूलका लागि पनि परनिर्भर बन्नु परेको हो। जिल्लाको दमक, लखनपुर, गौरादह, विर्तामोड, मेचीनगरक्षेत्रमा नर्सरी भए पनि किसानले खासै व्यावसायिक फूल खेतीमा चासो नदेखाएको कार्यालयले जनाएको छ।

जिल्लामा श्रीकृष्ण, लीला, राधा, धनलक्ष्मी, थुलङ, माधव, राजकमल, फ्लोरिडा फ्लावर्स नर्सरी सञ्चालनमा छन्। ४ कट्ठादेखि ५ बिघासम्ममा लाखौँ रुपैयाँ लगानीमा नर्सरी सञ्चालन गरिएको छ। तर,  व्यावसायिक फूल खेतीमा किसानको आर्कषण नहँुदा भारतको भर पर्नुपर्ने अवस्था आएको राजवंशीले बताए । दक्ष प्राविधिक र फूललाई सुहाउने हावापानी, जमिनको तयारी र बेर्ना रोप्ने तरिका, बीउ राख्ने तरिका, सिँचाइ तथा पानीको उचित निकास जस्ता समस्याका कारण नै फूलखेती व्यावसायिक रुपमा हुन नसकेको सो कार्यालयको भनाइ छ। तिहारमा सयपत्री र मखमली फूल बढी खपत हुने भएकाले यसको व्यावसायिक खेती हुनसके बजार सुनिश्चित रहेको कृषि विज्ञ बताउँछन्। फूल व्यवसायीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि विभागले गोदावरीमा पुष्प विकास केन्द्र स्थापना गरेको राजवंशीले बताए। तर, त्यसतर्फ खासै किसानको आर्कषण नभएको उनको भनाइ  छ।

फूलमा पनि सयपत्री र मखमलीप्रति धेरै मानिसको आर्कषण भएकाले सबैले यही जातको फूल नै खोज्ने गरेका छन्। तिहार नजिकिन थालेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै हरेक दिन ठूलो परिमाणमा भारतीय फूल आयात हुने गरेको मेची भन्सार कार्यालयका फूल भन्सार एजेन्ट गोपाल तिवारी बताउँछन्। भारतीय व्यवसायीले काँकडभिट्टासम्म फूलका टोकरी रिक्सा र ठेलागाडामा हालेर ल्याउँछन्। ठूलो परिमाणमा फूलका माला पनि नेपाल भिœयाउन थालिएको छ।

फूल यात्रु शाखा र संक्षिप्त कर बिजकमा जाने गरेकाले वार्षिकरुपमा कति परिमाणको फूल आयात हुन्छ भन्ने तथ्यांक भन्सारसँग छैन्। फूलको प्लान्ट क्वारेन्टाइन कार्यालयमा प्रमाणित गराई प्रमाणपत्र लिएर कृषिबापत्को ५ प्रतिशत राजस्व बुझाएपछि फूल भित्र्याउन कुनै बाधा नहुने तिवारी बताउँछन्।

हरेक वर्ष तिहारमा मात्र कम्तीमा ५०  लाख रुपैयाँभन्दा बढी मूल्यका फूल काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिने मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए। नेपालमा व्यावसायिक फूल खेती नभएकै कारण यो समस्या आएको उनको बुझाइ छ।

भारतको सिलिगुडी, कोलकाता लगायतबाट आयात फूल झापाका बजारदेखि काठमाडौं, पोखरा, भैरहवा, हेटौंडा, चितवनसम्म पुग्छ। भारतीय नर्सरी व्यवसायी रञ्जन दास नेपालमा खपत हुने  फूलका कारण भारतीय फूल व्यापारीले राम्रै आम्दानी गरिरहेको बताउँछन्। माला र फूलको स्तर हेरेर व्यापारीले मूल्य तोक्ने गरेको पाइन्छ। हिन्दु संस्कार र पर्वमा बढी प्रयोग हुने सयपत्री जातका फूलको व्यावसायिक खेतीका लागि नेपाल राम्रो सम्भावना भए पनि सरकारी बेवास्तका कारण फूलमा पनि परनिर्भर हुनु परेको मेचीनगरमा व्यावसायिक फूल खेती गर्दै आएका एक  व्यवसायीले बताए।

प्रकाशित: ५ कार्तिक २०७३ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App