coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लोकमान जोगाउन भारतीय राजदूत सक्रिय

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्।

राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रोतले दाबी गरेको छ। व्यवस्थापिका संसद्मा बुधबार महाअभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारस्थित सरकारी निवासमा दुईपटक भेटिसकेका छन्। दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप भएको थियो।

यस्तै, दर्ता प्रस्तावमा हस्ताक्ष्।र नगरेको नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई रेले बिहीबार भेट गरेका छन्। विश्वस्त स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ। दुवै भेटमा राजदूत रेसँगै कांग्रेस संासद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन व्यक्ति रहेको स्रोतले जनाएको छ।

बुधबार रातिको भेटपछि बिहीबार अपराह्न रे र सिंहसहित अन्य तीन व्यक्तिको समूहले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेको थियो। स्रोतका अनुसार रे बालुवाटार पुगेको केही समयपछि सिंह तीनजना व्यक्तिसहित बालुवाटार पुगेका थिए। 

स्रोतका अनुसार संसद् बैठकपछि निवास फर्किएका दाहाललाई राजदूत रे र अमरेशकुमारले बुधबार साँझ ६ः४५ मा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहाल, रे र सिंह मात्र रहेको उक्त बैठकमा लोकमान प्रकरणका विषयमा कुरा भएको छ।

भारतीय संस्थापन पक्षले लोकमानको बचाउभन्दा समयानुकूल निर्णय र अवस्थालाई अवसरका रूपमा उपयोग गर्ने रणनीति तय गरे पनि राजदूत रे भने उनलाई यथावत राख्न नसके सुरक्षित अवतरणको लबिङमा लागेको स्रोतले जानकारी दियो। कार्कीविरुद्ध मुद्दा सर्वोच्च अदालतले ब्युँताएपछि नेपालबाट भारत पठाइएको एउटा गोप्य वायरमा लोकमानले अदालती प्रक्रिया आफैं सम्हाल्ने उल्लेख भए पनि बुधबारको घटना क्रमले भारतीय गुप्तचर निकायसमेत रनभुल्लमा परेका छन्।

लोकमानले प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकाल अवधिभर मुद्दा लम्ब्याउने तयारी गरेको जानकारी दिल्ली पठाए पनि बुधबार कार्की फर्केलगत्तै महाअभियोग दर्ता भएको थियो।

बुधबार रातिको भेटपछि बिहीबार अपराह्न रे र सिंहसहित अन्य तीन व्यक्तिको समूहले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेको थियो। स्रोतका अनुसार रे बालुवाटार पुगेको केही समयपछि सिंह तीनजना व्यक्तिसहित बालुवाटार पुगेका थिए। रे करिब ४५ मिनेट बसेर निस्किए पनि सिंहको समूहले करिब डेढ घन्टा बालुवाटारमा बिताएको थियो।

बालुवाटारबाट सोही समूह नारायणस्थानस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेको थियो। समूहले दाहाल र देउवालाई भेटेर लोकमानलाई बचाउ गर्ने अवस्था नभए केही समय प्रक्रिया रोक्दै राजीनामा दिने र सुरक्षित अवतरण गराउने पहल गरेको छ। रेको प्रस्तावअनुसार प्रधानमन्त्री दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य दलका नेतासँग भेतवार्ता गरिरहेका छन्। बिहीबार मात्र प्रधानमन्त्री दाहाल र नेपालबीच भेटवार्ता भएको नेपालका स्वकीय सचिव मोहन गौतमले नागरिकलाई बताए।

कांग्रेस सांसद सिंहले प्रधानमन्त्री दाहालसँग भेट भइरहेको स्विकारे पनि लोकमानका विषयमा कुनै कुरा नभएको दाबी गरे। उनले प्रधानमन्त्री दाहाल आफ्ना असल मित्र भएकाले नियमित नै भेटघाट हुने गरेको बताए।

'उहाँ (दाहाल)सँग मेरो भूमिगतकालदेखि नै सम्बन्ध छ, मैले कसरी लोकमानको बचाउ गर्न सक्छु र किन गर्ने? यो त ठूला नेताको कुरा हो,' सिंहले भने। उनले आफ्नो र दाहालबीच भएको भेटमा राजदूत रे सँगै नभएको दाबी समेत गरे।

राजदूत रे र सिंहको सक्रियतापछि प्रधानमन्त्री दाहाल समेत लोकमानको सुरक्षित अवतरणका पक्षमा उभिएको संकेत देखिएको छ। बिहीबार एमाले नेता नेपाललाई सिंहदरबार र कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटारमा भेटेका प्रधानमन्त्री दाहालले नयाँ कोणबाट लोकमान प्रकरणको निकासका विषयमा छलफल गरेका छन्।

दाहाल निकट एक नेताका अनुसार लोकमानका विषयमा प्रतिपक्षजस्तै सत्तामा रहेको कांग्रेस र माओवादी उभिन नमिल्ने पक्षमा आफ्नै सांसदको धारणा समेत आएपछि दाहालको बोली र व्यवहार फेरिएको हो। प्रधानमन्त्री दाहालकै सक्रियतामा बुधबार सांसदमा महाअभियोग दर्ता भएको थियो। यस्तै, उनकै अग्रसरतामा सभामुख ओनसरी घर्तीमगरले राति अबेरसम्म संसद् सचिवालयबाट महाअभियोग दर्ताको जानकारीपत्र राष्ट्रपतिसहित सम्बन्धित सबैलाई पठाएकी थिइन्।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने प्रधानमन्त्री र भारतीय राजदूतबीच कुनै भेट नभएको दाबी गरे। उनले योबीचमा आफू प्रधानमन्त्री दाहाल सँगै रहेको र कुनै भेट नभएको बताए। उनले भने, 'अनौपचारिक रूपमा माधव नेपाल र कृष्ण सिटौलासँग भेट भएको हो, हामीसँगै छौं, तपाईंले भनेका कसैसँग भेट भएको छैन।'

प्रकाशित: ५ कार्तिक २०७३ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App