७ वैशाख २०८१ शुक्रबार
राजनीति

लोकमान महाभियोग प्रस्तावको पक्षमा उभिन कांग्रेसमा दबाब

काठमाडौं- नेपाली कांग्रेसका नेताहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्तावको सदुपयोग गर्नुपर्ने पक्षमा देखिएका छन्। पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैंठकमा नेताहरूले महाभियोग प्रस्ताव पारित गरेर विगतको गल्ती सच्याउने उपयुक्त समय आएको धारणा राख्दै यसको पक्षमा उभिनुपर्ने बताएका हुन्।

केन्द्रीय सदस्य गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोग प्रमुखबाट कार्कीलाई हटाउने उपयुक्त अवसर आएकाले पार्टीले दायाँ/बायाँ नगरी संसद्बाट महाभियोग प्रस्ताव पारित गर्न नेतृत्व गर्नुपर्ने धारणा राखे। तर, सभापति शेरबहादुर देउवाले प्रस्तावको समर्थन गर्दा वा नगर्दा पनि गाह्रो हुने जनाउँदै पार्टीका नेतालाई आफ्ना धारणा खुलेर राख्न आग्रह गरेका छन्। कार्कीकै कायैशैलीका कारण अहिलेको अवस्था आएको देउवाको भनाइ थियो। केन्द्रीय सदस्य प्रदीप पौडेलले देउवालाई उद्धृत गर्दै भने, 'संक्रमणकालीन अवस्थामा समर्थन गर्दा वा नगर्दा पनि गाह्रो छ, खुलस्त आफ्ना धारणा राख्नुहोला।'

'अब दायाँ–बायाँ कुरा छैन, कांग्रेसले महाभियोग प्रस्ताव पारित गर्न त्यसको नेतृत्व लिनुपर्छ,' थापाले भने, 'हामीले यो वा त्यो बहाना बनाउने होइन।'

तत्कालीन शाही आयोगले जस्तै कार्कीले आतंकै र्सिजना गरेको सभापति देउवाको भनाइ थियो। देउवालाई उद्धृत गर्दै अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, 'हिजो शाही आयोगले मन नपरेका मान्छेलाई दुःख दिएजस्तै कार्कीले पनि सबैलाई दुःख दिएर त्रसित बनाएको कुरा आइरहेको थियो। संसद्मा प्रस्ताव पेस भएपछि खसियाली आएको छ।'

स्वास्थ्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य थापाले कार्कीले पदीय मर्यादा दुरुपयोग गर्दै मानिसलाई दुःख दिने, धम्क्याउने गर्दै आएकाले उनलाई जोगाउन सभापति देउवालाई अब कठिन हुने सञ्चारकर्मीसँग बताए।

बैठकमा देउवाले शाही शासनकै बेला कार्कीले आफूलाई पटकपटक दुःख दिएको जनाउँदै अख्तियार प्रमुख भएपछि पनि उनलाई पटक पटक भेटेर बिनाकारण कसैलाई दुःख नदिन सम्झाएको बताएका थिए। 'उनले आफ्नो विरोधमा कोही लाग्यो भने मुद्दा उल्ट्याइदिने धम्की दिएर तर्साउने गरेका थिए,' सभापति देउवालाई उद्धृत गर्दै थापाले भने।

संसदको बुधबारको बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लैजाने विषयमा छलफल भए पनि दर्ता गराउने विषयमा कुरा नभएको देउवाले बैंठकमा बताएका थिए। 'संसदको बैंठकपछि कुरा भएको हो, तर हामी आजै (बुधबार) प्रस्ताव दर्ता गर्दैछौं भनेर प्रधानमन्त्री र एमाले अध्यक्षले भन्नुभएन,' देउवालाई उद्धृत गर्दै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीसँग भने, 'यसमा उहाँहरूको राजनीतिक इमानदारी देखिएन, बेइमानी भयो।'

आफूले केन्द्रीय समितिको बैंठकबाट महाभियोग प्रतावबारे निर्णय लिने जानकारी गराए पनि एमाले र माओवादीले हतार गरेको पनि देउवाले बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले नै महाभियोग प्रस्ताव दर्ता बारे अनभिज्ञता प्रकट गरेको प्रति असन्तुष्टि जनाउँदै सिटौलाले बैठकमा भनेका थिए, 'कि प्रधानमन्त्रीले पार्टी आफ्नो नियन्त्रणमा छैन भन्नुपर्‍यो। होइन भने सत्ता साझेदार दलसँग छलफल नगर्नु राम्रो भएन।'

महाभियोग प्रस्तावले केन्द्रीय समिति बैंठकमा प्रवेश गरिसकेको जनाउँदै बडूले भने, 'यो संसदको पनि विषय बनिसकेकाले पार्टीको जारी केन्द्रीय समितिले उपयुक्त निर्णय लिन्छ, यसबाट कांग्रेस भाग्दैन।'

बैंठकमा केन्द्रीय सदस्य थापाले जनआन्दोलनका दोषी कार्कीलाई अख्तियार प्रमुख बनाएर राजनीतिक दलहरूले ऐतिहासीक गल्ती गरेको जनाउँदै सत्यको पक्षमा पार्टी उभिनुपर्ने बताएका थिए। उनले भने, 'राष्ट्रिय राजनीतिक दलहरूले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गरेर गम्भीर राजनीतिक भुल र अपराध गरेका थिए, अहिले त्यो भुल चोख्याउने अवसर आएको छ।'

कार्कीको कर्म र आचरणले पनि उक्त पद उनका लागि योग्य नभएको उनको भनाइ थियो। 'अब दायाँ–बायाँ कुरा छैन, कांग्रेसले महाभियोग प्रस्ताव पारित गर्न त्यसको नेतृत्व लिनुपर्छ,' थापाले भने, 'हामीले यो वा त्यो बहाना बनाउने होइन।'

उपप्रधानमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य विमलेन्द्र निधिले कार्कीविरुद्ध संसद्मा पेस महाभियोग प्रस्ताव विषयमा अनभिज्ञता जनाउँदै हस्ताक्षरकर्ता दलहरूमै मतभेद आइरहेका बेला पार्टी अहिले यसमा अल्भि्कन नपर्ने धारणा राखेका थिए। ऊर्जा मन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जर्नादन शर्माले विद्युत्को पोल र तारका लागि सांसदले दिएको हस्ताक्षरलाई महाभियोग प्रस्तावमा प्रयोग गरेको सुन्नमा आएको बताउँदै उनले भने, 'प्रधानमन्त्रीको पार्टीको पोजिसन के हुन्छ त्यो हुनुपर्छ।'

नेता कृष्णप्रसाद सिटौलाले जनतामा कार्कीको इमेज बिग्रिएको जनाउँदै जनताले नरुचाएको व्यक्तिलाई समर्थन गर्न कठिन हुने तर्क गरेका थिए । 'कोलिसन कल्चरविपरीत सत्ता साझेदार माओवादीले एमालेसँग मिलेर महाभियोग प्रस्ताव ल्याएको भन्दै सिटौलाले प्रस्तावको समर्थन वा विरोध गर्दा पार्टीलाई के फाइदा वा घाटा हुन्छ भन्नेमा ध्यान दिनुपर्ने बताएका थिए। प्रस्ताव विपक्षमा उभिए एमालेर माओवादी नजिकिने र संविधान संशोधनमासमेत अप्ठेरो पर्न सक्ने सिटौलाको भनाइ थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले नै महाभियोग प्रस्ताव दर्ता बारे अनभिज्ञता प्रकट गरेको प्रति असन्तुष्टि जनाउँदै सिटौलाले बैठकमा भनेका थिए, 'कि प्रधानमन्त्रीले पार्टी आफ्नो नियन्त्रणमा छैन भन्नुपर्‍यो। होइन भने सत्ता साझेदार दलसँग छलफल नगर्नु राम्रो भएन।'

बैंठकमा केन्द्रीय सदस्य रामशरण महतले कार्कीमाथि लगाइएका अभियोग बाहिर नआएको र त्यो पारित हुने/नहुने निश्चित पनि नभएकाले हतारमा निर्णयमा पुग्न नहुने धारणा राखेका थिए। 

कांग्रेसले संविधान संशोधन, राज्य पुनःसंरचना र पार्टी संगठन र कार्कीविरुद्धको महाभियोगमा केन्द्रित भएर छलफल थालेको छ। बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ।

कांग्रेस बैंठक बस्नुअघि सभापति देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बुढानीलकन्ठ पुगेका थिए। महाभियोग प्रस्ताव विषयमा छलफल गर्न पुगेका दाहालसँग देउवाले संयुक्त सरकारको संस्कृति विपरीत प्रस्ताव दर्ता गरिएको गुनासो गरेका थिए।  

प्रकाशित: ५ कार्तिक २०७३ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App