७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘सोक्लामा छिट्टै आर्थिक समृद्धि ल्याउँछौं’

दोलखा - भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले केही वर्षभित्रै सोक्ला, खेलाप, न्यागल, फूलपा, नागदह गाउँका जनताको आर्थिकस्तरमा उल्लेख्य परिवर्तन आउने बताएका छन्। मेयर केसीले तेस्रो तामाकोसी जलविद्युत् आयोजनासँगै यहाँको आर्थिक अवस्थामा परिवर्तन आउने उनले बताए।

भीमेश्वर नगरपालिकास्थित दोलखामुनिका गाउँ ओझेलमा परेको र केही वर्षभित्रै त्यहाँ चमत्कारिक आर्थिक समृद्धि आउने उनको दाबी छ। उनका अनुसार सोक्ला–खेलाप तामाकोसी किनारामा तीन सय पाँच मेगावाट क्षमताको आयोजना छिट्टै निर्माण हुनेछ। सरकारले उक्त जलविद्युत् आयोजनालाई प्रभावकारी ढंगले सम्पन्न गर्न गृहकार्य अघि बढाएको मेयर केसीले बताए।

‘भीमेश्वर नगरभित्र गरिब तथा पिछडिएका स्थानीयको आर्थिक वृद्धिका लागि कृषि, पशुपालन तथा व्यावसायिक योजना अघि बढाएका छौं,’ प्रथम सोक्ला साँस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले भने, ‘यसले युवा पुस्तालाई स्वरोजगार र आत्मनिर्भर बनाउनेछ।’

महिलाका लागिसमेत विभिन्न योजना नगरपालिकाले अघि सारेको छ। सोक्ला फाउन्डेसन नेपालले ‘खेलाप–सोक्ला–डिलढुंगा–फूलपा पर्यटनको सम्भावना, आर्थिक समृद्धिका लागि प्रथम सोक्ला साँस्कृतिक महोत्सव’ नारासहित महोत्सव आयोजना गरेको थियो। भीमेश्वर नगरपालिकाको समन्वयमा भएको उक्त महोत्सव उद्घाटन सत्रका अर्का वक्ता ज्ञानेन्द्र प्रधानले सोक्ला खेलापको आर्थिक सुधारका लागि स्थानीय जनप्रतिनिधिले ठोस अजेन्डा नगर विकासमा प्रस्तुत गर्नुपर्ने बताए। यहाँ भएका समस्या चुनौती र सम्भावनाको विषयमा युवा पुस्तालाई समेटेर योजना तयार गर्नुपर्ने प्रधानको धारणा थियो।

यस्तै, फूलपा प्राविका प्रधानाध्यापक हरिनारायण श्रेष्ठले दोलखामुनि पहिलोपटक भएको महोत्सवले शैक्षिक, आर्थिक समृद्धिको परिकल्पनालाई सार्थकतातिर लैजाने बताए। आर्थिक कमजोरीकै कारण यहाँका स्थानीयले उच्च शिक्षा हासिल गर्न नसकेको उनको भनाइ छ।

सोक्ला फाउन्डेसनका संरक्षक तथा वडाका सदस्य निरबहादुर तामाङले विगतको तुलनामा यहाँको स्थानीय जीवनशैलीमा फेरबदल भएको बताए। अहिले डिलढुंगाबाट तामाकोसीसम्म सडक खन्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए। ‘सडक विस्तार भइसकेको छ। सडक फराकिलो र कालोपत्रे गर्न नगरपालिकाले तदारुकता देखाउनुपर्छ,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधले गर्ने काम कर्तव्यमा कुनै कमजोरी हुने छैन।’ 

सामाजिक अभियनता स्टालिङ श्रेष्ठले दोलखा भीमेश्वर मन्दिरमुनि रहेका स्थानीय समुदाय (थामी, तामाङ, दलित, माझी, मगर)को आर्थिक स्तरोन्नतिका लागि दोलखा–नागदह (साख सडकखण्ड) कालोपत्रे हुनुपर्नेमा जोड दिए। ‘उब्जानी र कृषिका लागि अति उपयोगी क्षेत्र हो। यहाँ सिँचाइका लागि पानी छ,’ उनले भने, ‘तर, परियोजना बन्न सकेको छैन। जब सडक पक्की हुन्छ, तरकारी बिक्री गरेर नै यहाँको आर्थिक समृद्धि आउन सक्छ।’ सोक्ला फाउन्डेसन नेपालका अध्यक्ष अर्जुन तामाङले सोक्ला गाउँ ग्रामीण पर्यटकीय क्षेत्रसँगै विदेशी पर्यटकको नयाँ गन्तव्य हुनसक्ने धारणा राखे।
 

प्रकाशित: १० वैशाख २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App