coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बेइजिङमा नेपाली थाङ्काको प्रदर्शनी

बेइजिङ - नेपाली कला तथा संस्कृतिको प्रचारप्रसार गरी नेपाल र चीनबीचमा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा नेपाली पौभा चित्र अर्थात् थाङ्का प्रदर्शनी गरिएको छ। आर्ट काठमाडौंले चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रसँग मिलेर आयोजना गरेको ‘बीआरआई नेपाली पौभा चित्र प्रदर्शनी’ गत चैत्र ३० गते सुरु भई आगामी वैशाख २२ गतेसम्म चल्नेछ।

दुई वर्षअघि बेइजिङमा चिनियाँ निजी व्यवसायीहरूको सक्रियतामा चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्र स्थापना भएको हो। केन्द्रमा नेपाल सम्बन्धी सांस्कृतिक सामग्रीहरू बुद्धका मूर्तिहरू, कलाकृति, मुरली, टुङ्ना, बाँसुरी, सनाई, डम्फू, डमरु, सारङ्गी, झ्याली, मादल, नरसिंहा, आँखीझ्याल, तलवालगायतका सामग्री संकलन गरिएको छ।
चीनमा नेपालको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको केन्द्रसँग आर्ट काठमाडौंले दीर्घकालीन सहकार्य गर्ने सोचाइ बनाएर नेपाली पौभा चित्र प्रदर्शनी गरिएको चिनियाँ विज्ञान प्रतिष्ठानको नेशनल एट्रोनोमिकल अब्जरभेटरिजमा खगोलशास्त्रमा विद्याबारिधि गरिरहेका भक्तपुरका भुषण कायस्थले बताए। कायस्थ आर्ट काठमाडौंका प्रमुख कार्यकारी हुन्।

प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।    आर्ट काठमाडौंले यसभन्दा अघि पनि बेइजिङमा दुईपटक नेपाली पौभा चित्र प्रदर्शनी गरिसकेको छ। चीनमा आयोजना हुने विभिन्न मेलाहरूमा पनि नेपाली पौभा चित्र प्रदर्शनी गर्दै आएको कायस्थले बताए। कायस्थकै डिजाइनमा चिनियाँ रेशमी पत्तामा नेपाली थाङ्का बनाइएको छ। यस प्रकारका कलालाई चिनियाँले निकै मन पराएको उनले बताए।

प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।

चिनियाँ रेशमी पत्ताको महत्व चीनमा हजारौं वर्षदेखि रहँदै आएको छ। पुराना चिनियाँ बादशाहलाई हम्किने रेशमी पत्ताहरू महारानीका सुसारेका हातमा हुने गर्दथे। विभिन्न चिनियाँ ओपेराहरूमा पनि चिनियाँ रेशमी पत्ता देख्न सकिन्छ। परम्परागत चिनियाँ रेशमी पत्तामा ड्रागन र ग्रेटवाललगायतका प्रकृतिको चित्र अंकित हुन्छन्।

काठको आकर्षक फ्रेम राखेर बनाइने चिनियाँ रेशमी पत्तामा नेपाली थाङ्का बनाएपछि त्यसले दुई देशको संस्कृतिको प्रतिनिधित्व हुने ठानेर कायस्थले चीनको सुचौबाट त्यस्ता रेशमी पत्ता नेपाल लगी नेपालका ख्यातिप्राप्त कलाकारलाई थाङ्काको चित्र कोर्न लगाएका हुन्। चिनियाँ रेशमी पत्तामा हरित तारा, बज्रपाणी, खड्गपाणी, मन्जुश्री, खर्चली लोकेश्वरका चित्रहरू बनाइएका छन्। चिनियाँ रेशमी पत्तामा नेपाली थाङ्का बनाउने कलाकारहरूमा उदयचरण श्रेष्ठ, समुन्द्रमान श्रेष्ठ, पूर्ण ह्योन्जू, देवेन्द्रमान सिंखुवाल र गोपाल सिंखुवाल छन्।

नेपाली पौवा चित्र प्रदर्शनी हेर्न आएकी बेइजिङकी लिउ छियाङले पत्ता निकै मन परेको बताइन्। ‘मलाई पत्ता निकै मन प-यो। मैले किन्नलाई खोजेको थिएँ तर बेच्नका लागि रहेनछ’, उनले भनिन्। कायस्थले प्रदर्शनीमा राखिएका थाङ्काहरू बेच्नका लागि भए पनि पत्ता चाहिँ बिक्री नगर्ने गरी प्रदर्शनी मात्र गरिएको बताए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई’ले विभिन्न मुलुकसँग कनेक्टिभिटी बढाएर सांस्कृतिक आदानप्रदानलाई प्राथमिकतामा राखेको छ। कायस्थले पछिल्लो समयमा बीआरआईको चर्चा चुलिएकोले नेपाल र चीनबीचमा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न प्रदर्शनीको नाम पनि बीआरआई नेपाली पौभा चित्र राखिएको बताए। प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपाली नृत्यहरू पनि देखाइएको थियो।

प्रकाशित: १० वैशाख २०७६ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App