८ वैशाख २०८१ शनिबार
राजनीति

एकता महाधिवेशन कि नियमित भन्नेमा विवाद

काठमाडौं - रााष्ट्रिय जनता पार्टीमा एकता महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चर्केको छ। आइतबारदेखि सुरु भएको राजपा पदाधिकारी बैठकमा महाधिवेशन गर्ने प्रक्रियाबारे नेतृत्व तहमै विवाद बढेको छ।

सोमबार बसेको पदाधिकारी बैठकमा अध्यक्षमण्डलका ६ सदस्यले मात्र धारणा राखेका थिए। तर उनीहरूको धारणा एकता महाधिवेश गर्ने कि नियमित भन्नेबारेमा फरक फरक रह्यो। अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारी र सदस्य राजेन्द्र महतो स्पष्टरूपमा एकता महाधिवेशनको पक्षमा देखिए भने महेन्द्र यादव र राजकिशोर यादव नियमित महाधिवेशनको पक्षमा उभिए। महन्थ ठाकुरले दुवै प्रस्ताव आफूलाई मान्य हुने बताए। दुइ प्रस्तावमध्ये जुन स्वीकार्य हुन्छ, त्यसमा आफ्नो सहमति हुने उनको भनाइ थियो। अनिल झाले महाधिवेशनको बारेमा प्रष्ट विचार राखेनन्।

स्रोतका अनुसार बैठककको प्रारम्भममा संयोजक भण्डारीले ५ वटा प्रस्ताव राखेका थिए। उनले राखेका प्रस्तावमा तत्काल विशेष महाधिवेशन गर्ने या दुई÷तीन महिना लम्ब्लाएर विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। उनको तर्क थियो, ‘पार्टीका केन्द्रीय सदस्य, पार्टीबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद, भ्रातृ संगठनका प्रमुखहरू, पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीलाई केन्द्रीय प्रतिनिधि मानी एकता महाधिवेश गरांै। एकता महाधिवेशनपछि नियमित महाधिवेशन गरौं।’ भण्डारीको प्रस्तावलाई महतोले पूरै सहमति जनाए। अहिले पनि राजपामा फरक फरक गुट रहेको बताउँदै गुटबन्दी हटाउन र पार्टीमा एकताको वातावरण बनाउन एकता महाधिवेशन गर्नुपर्ने तर्क महतोले राखेका थिए।

‘एकता महाधिवेशनबाट पार्टीलाई एकल नेतृत्वमा लैजाऔ। एकल नेतृत्व पछि नियमित महाधिवेशन गरौं,’ भन्ने महताको भनाइ थियो। अहिलेकै स्थितिमा नियमित महाधिवेशन गरे पार्टीमा एकता आउन नसक्ने उनको तर्क थियो। महतोको प्रस्ताव महेन्द्र यादवले ठाडै अस्वीकार गरेका थिए। उनले विशेष महाधिवेश भन्ने हुँदै हँुदैन। अब गर्ने भनेको नियमित र पूर्ण महाधिवेशन हो भनेका थिए। ‘बरू समय लाग्छ भने समय थपौं र नियमित महाधिवेश गरौं। तलैबाटै अधिवेशन सुरु गर्दै केन्द्रमा महाधिवेशन गरौं,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले बतायो। यादवको भनाइमा राजकिशोर यादवले पनि सहमति जनाउँद्यै एकता महाधिवेशन गर्ने प्रस्तावमा षडयन्त्र रहेको बताएका थिए। पदाधिकारी बैठकमा अनिल झाले अध्यक्षमण्डलका विघटन हुन नसक्ने तर्क राखेका थिए। अध्यक्षमण्डलका संयोजक हुन अब २ जना मात्र बाँकी रहेको बताउँदै सबैको पालो आउनुपर्ने धारणा उनले राखेका थिए। उनले भने, ‘पार्टीको विधानमै अध्यक्षमण्डलको व्यवस्था छ। त्यसैले अध्यक्षमण्डलका विघटन गर्नु हुँदैन।’ सोमबार अन्य पदाधिकारीले धारणा राख्ने मौका भने पाएनन्।

प्रकाशित: १० वैशाख २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App