coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘अवरोध’ हटाउन सेनाको आग्रह

क्याप्सन ः सुडानका प्रदर्शनकारीले मुख्य सडकमा राखेका चेकप्वाइन्ट। तस्बिर: एजेन्सी

खार्तुम - सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

नागरिकलाई सत्ता हस्तान्तरण गर्नेबारेमा सत्तारुढ सैनिक परिषद्सँग भएको वार्ता विफल भएसँगै सेनाले उक्त आग्रह गरेको हो। प्रदर्शनमा सहभागी नेताले सेनालाई जनताको हातमा शासन सत्ता सुम्पन निरन्तर दबाव दिइरहेका छन्। गत अप्रिल ६ देखि नै सैनिक मुख्यालय बाहिर प्रदर्शनकारीको ठूलो भीड निरन्तर जम्मा भइरहेको छ। उनीहरुले सडकका ठाउँठाउँमा अवरोध सिर्जना गरेका छन्।

सैनिक परिषद्को वक्तव्यमा प्रदर्शनकारीको अवरोधका कारण रेलसेवा र यातायातका अन्य साधन सहज रूपमा नचल्दा नगरमा अत्यावश्यकीय सामानको ढुवानीमा असर परेको उल्लेख छ। सुडानका नयाँ सैनिक शासक जनरल अब्देल फताह अल–बुरहानले प्रदर्शनकारीले आइतबार जताततै चेक प्वाइन्ट बनाएर खानतलासी गरेकामा असन्तुष्टी जनाएका छन्। ‘यसले निरन्तरता पाउनु हुँदैन किनभने सुरक्षा राज्यको प्रमुख जिम्मेवारी पनि हो,’ बुरहानले बताए।

प्रदर्शनकारीले चेक प्वाइन्ट कुनै पनि हालतमा नहटाउने घोषणा गरेका छन्। ‘हामी यी अवरोध अहिले नै हटाउने अवस्थामा छैनौं,’ २३ वर्षीय एक प्रदर्शनकारी कथर हसाबल्लाहले बताए। ‘कसैले पनि, सैनिक परिषद्ले पनि हामीलाई यो ठाउँबाट हटाउन सक्दैन।’

महिनौंको प्रदर्शनपछि सुडानी सेनाले पूर्वराष्ट्रपति ओमार अल–बासिरलाई गत अप्रिल ११ मा सत्ताच्युत गरेको थियो तर बसिरको सैनिक सत्ता समाप्त भएकामा खुसी भएका जनता नयाँ सैनिक सत्ता सुरु भएकोमा आक्रोशित छन्। हाल सुडानमा जनरल बुरहानको नेतृत्वमा १० सदस्यीय सैनिक परिषद्ले शासन सञ्चालन गरिरहेको छ। प्रदर्शनकारीले उक्त परिषद् भंग हुनुपर्ने र नागरिकको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरिरहेका छन्।

प्रकाशित: १० वैशाख २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App