७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘विस्फोटनमा अन्तर्राष्ट्रिय सञ्जाल संलग्न’

नेगोम्बोस्थित एउटा गिर्जाघरमा भएको विस्फोटनको निरीक्षण गर्दै सरकारी अधिकारी। तस्बिरः रोयटर्स

कोलम्बो – श्रीलंकामा आइतबार गराइएको शृंखलाबद्ध आक्रमणमा अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता रहेको अधिकारीहरुले बताएका छन्। विभिन्न  गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या सोमबार यो समाचार तयार पार्दासम्म दुई सय ९० पुगेको छ।

अन्तर्राष्ट्रिय संलग्नतामा विस्फोटन गराइएको बताउनु अघि सरकारले कमै मात्रामा नाम सुनिएको स्थानीय जिहादी समूह ‘नेसनल तौहिद जमात’ले आइतबारको आक्रमण गराएको र उसले विदेशबाट सहयोग पाएको बताएको थियो। नेसनल तौहिद जमात जिहादी  समूहले आइतबारको आक्रमण हुनुभन्दा दुई साताअघि बम विस्फोटन गराउने चेतावनी श्रीलंकाली निकायलाई दिएको मन्त्रिपरिषद्को प्रवक्ता राजिथा सेनारत्नेले पत्रकार सम्मेलनका क्रममा बताए। यस्तो चेतावनी आएको भए पनि यसबारे प्रधानमन्त्री रनिल विक्रमासिंघे वा उनको मन्त्रिपरिषद्लाई जानकारी नगराइएको प्रवक्ता सेनारत्नेले बताए।

बम विस्फोटनको सूचनाबारे सुरक्षा निकाय जानकार भए पनि सो सूचनाबारे उसले काम नगरेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन्। श्रीलंकाली प्रशासनको बुझाईअनुसार आइतबारका आक्रमणकारीलाई अन्तर्राष्ट्रिय समर्थन रहेको थियो। ‘यो देशमा सीमित एउटा समूहका व्यक्तिहरुले आइतबारका आक्रमण गराए भन्ने हामी विश्वास गर्दैनौं,’ श्रीलंकाली सरकारका प्रवक्ता सेनारत्नेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘अन्तर्राष्ट्रिय सञ्जालबिना यी आक्रमण हुनै सक्दैन थियो,’ उनले बताए।

आइतबारको शृंखलाबद्ध आक्रमण कसले गराएको थियो भन्नेबारेमा विभिन्न अड्कलबाजी चलिरहे पनि हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी नलिएको बिबिसीले उल्लेख गरेको छ। गिर्जाघरहरु र होटलहरुमा गराइएको आत्मघाती आक्रमणमा परी पाँच सयजना घाइते भएको श्रीलंकाली अधिकारीहरुले बताएका छन्।  इसाई धर्मावलम्बीको ‘इस्टर पर्व’का अवसरमा आयोजित धार्मिक कार्यक्रम भइरहेका बेला गिर्जाघरहरुमा विस्फोटन गराइएका थिए। आक्रमणपछि प्रहरीले शृंखलाबद्ध छापा मारेर संदिग्ध २४ जनालाई पक्राउ गरेको छ र राष्ट्रपतिको कार्यालयले राज्य आपतकाल घोषणा गरेको छ।

सोमबार मध्यरातदेखि लागू हुने आपतकालले आक्रमणबारे अनुसन्धान गर्न र शंकास्पद व्यक्तिलाई पक्राउ र अनुसन्धान गर्नका लागि प्रहरी र सेनालाई अत्यधिक शक्ति प्रदान गर्नेछ। आपतकालको घोषणापछि अदालतको आदेशबिनै सुरक्षाकर्मीले शंकास्पद व्यक्तिलाई पक्राउ र अनुसन्धान गर्न सक्ने छ। यसैबीच सोमबार पनि राजधानी कोलम्बोमा रहेको एउटा गिर्जाघर नजिकैको सडकमा विस्फोटन भएको बताइएको छ। सोमबारको आक्रमणमा आक्रमणकारीले प्रयोग गरेको सवारी साधनभित्र रहेको विस्फोटक पदार्थलाई प्रहरीले निष्कृय पार्ने क्रममा विस्फोट भएको बताइएको छ। यद्यपि सो विस्फोटनबाट के कति क्षति भयो भन्नेबारे भने सार्वजनिक नगरिएको बिबिसीले उल्लेख गरेको छ।

सरकारका प्रवक्ताले नै आइतबारका आक्रमणमा अन्तर्राष्ट्रिय संलग्नताबारे बोलेलगत्तै जारी गरिएको एउटा विज्ञप्तिअनुसार राष्ट्रपति मैथ्रिपला सिरिसेनाले हमलाकारीको अन्तर्राष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्ने छन्। ‘स्थानीय आतंकवादीका पछाडि विदेशी आतंकवादी संगठनहरुको हात रहेको गुप्तचर निकायले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएका छन्,’ प्रवक्ता सेनारत्नेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

श्रीलंकाली सरकारले सोमबार राति आठ बजेबाट मंगलबार बिहान चार बजेसम्मका लागि कफ्र्यू जारी गरेको बताएको छ। यसैबीच आइतबारका आक्रमणमा परी ज्यान गुमाएकाका सम्झनामा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय पनि सरकारले गरेको छ। उता, श्रीलंकाको राष्ट्रिय सुरक्षा परिषद्ले सोमबार मध्यरातबाट ‘शर्तसहितको राष्ट्रिय आपतकाल’ लागू हुने र त्यसले ‘आतंकवादलाई लक्षित गर्ने’ बताएको छ। उसले बाहिर हल्ला भएजस्तो अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित नहुने प्रष्ट पारेको छ।

आइतबारका हमलामा मारिनेमध्ये अधिकांश श्रीलंकाली नागरिक भएको ठानिएको छ, जसमध्ये इस्टर पर्व मनाइरहेका इसाई धर्मावलम्बी पनि छन्। श्रीलंकाली विदेश मन्त्रालयका अनुसार मारिनेमध्ये ३५ जना विदेशी नागरिक रहेका छन्। त्यसमध्ये डेनिस अर्बपति एन्डर्स होज पोभल्सनका तीनजना बालबालिका पनि रहेको परिवारका एक प्रवक्ताले बिबिसीसँग पुष्टि गरेका छन्। अन्यमा पाँच बेलायती, एक पोर्चुगिस, छ भारतीय, दुई टर्किस, दुई चिनियाँ, दुई अस्ट्रेलियाली, एक डच र एक जापानी नागरिक रहेको बताइएको छ।

आइतबार इसाई धर्मावलम्बी कोच्चिकाडे, बट्टिकलोआ र नेगोम्बो जिल्लामा रहेका गिर्जाघरमा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका बेला विस्फोटन गराइएको थियो। त्यसैगरी राजधानी कोलम्बोस्थित सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए।

अधिकारीहरूका अनुसार आत्मघाती हमलाकारीले विस्फोट गराएका थिए। छ ठाउँमा विस्फोट भएपछि प्रहरीले छापा मारेको दुवै ठाउँमा विस्फोट भएको थियो। एउटा छापा देहिवालामा मारिएको थियो भने अर्को देमातागोडामा जहाँ तीन अधिकारी मारिएका थिए।

प्रकाशित: १० वैशाख २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App