coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चीनः विश्व अर्थतन्त्रको महत्वपूर्ण इन्जिन

बेइजिङ - चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो ‘सुधार र खुलापन।’ सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो।

चीनमा लगानी गर्न न कुनै मुलुक तयार थिए न त चिनियाँले अन्य मुलुकमा लगानी गर्न सक्थे। माओ च तुङको मृत्युसँगै दसवर्षे सांस्कृतिक क्रान्तिको पनि अवशान भयो। त्यसपछि तङ स्यावो फिङ शक्तिमा आएपछि उनले सुरु गरेका हुन् सुधार र खुलापन। आन्तरिक राजनीतिमा सुधार गर्ने र बाह्य मुलुकका लागि खुला गर्ने कुराको सारांश नै सुधार र खुलापन हो।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं महाधिवेशनबाट महासचिवमा सी चिन फिङ निर्वाचित भएपछि पश्चिमा मुलुकले उनलाई ‘हार्डलाइनर’ नेता भन्दै अब चीन फेरि सांस्कृतिक क्रान्तिताकाकै अवस्थामा फर्कन्छ भनेर विश्लेषण गरेका थिए। तर त्यस्तो भनाइलाई गलत साबित गर्दै सीले चीनलाई अझै खुला बनाएका छन्।

गत मार्चमा सम्पन्न १३औं राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनले वैदेशिक लगानी ऐन पारित गरेर सीले तङपछि चीनलाई खुला गर्ने काममा नयाँ पाइला सारे। सो ऐनमार्फत वैदेशिक लगानी प्रवद्र्धन, उचित अधिकार तथा फाइदाको सुरक्षा, वैधानिकीकरण, अन्तर्राष्ट्रिय तथा सुविधाजनक व्यापारिक वातावरण निर्माण गर्नका लागि नयाँ चरणको उच्च गुणस्तरीय खुलापनको प्रत्याभूति दिने कुरा समेटिएको छ।

चिनियाँ तथा विदेशी पुँजीबाट सञ्चालित संयुक्त व्यवसाय नियम, विदेशी पुँजीद्वारा सञ्चालित व्यवसाय नियम र चीन तथा विदेशको सहयोगमा सञ्चालित व्यवसाय नियम उक्त ऐनमा समावेश छन्। यी तीनवटा नियमले चीनमा विदेशी लगानीलाई अझै स्पष्ट रुपमा वैधानिकता प्रदान गरेको छ।  चीनमा विगत ४० वर्षयता विदेशी व्यवसायीले नौ लाख ५० हजार व्यवसाय सञ्चालन गरिरहेका छन् र ती व्यवसायमा २० खर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइसकेको छ।
सन् २०२० जनवरी १ देखि लागू हुने सो ऐनले वैदेशिक लगानीका लागि पूर्वाधारको तयारी, प्रवद्र्धन, संरक्षण र व्यवस्थापन जस्ता विषयबारे एकीकृत रुपमा नियम तोक्नुका साथै वैदेशिक व्यापार लगानी सम्बन्धी चीनको नयाँढाँचाको कानुनी व्यवस्थाको आधारभूत प्रारुपलाई पनि निश्चित पारेको छ।

यो ऐनभन्दा अघिदेखि नै चीनमा विदेशी लगानी बढ्दै आएको थियो। अब विदेशी लगानीलाई थप सहज र पारदर्शी बनाइएको छ। चीनमा विदेशी लगानी बढ्नुको खास कारण चिनियाँहरुको उपभोग्य क्षमता दिनप्रतिदिन वृद्धि हुँदै जानु मुख्य हो। त्यसैगरी, लगानीकर्तालाई सस्तो चिनियाँ श्रम र स्थिर राजनीतिक तथा सामाजिक अवस्थाले पनि आकर्षित गरेको छ। यी कुराले व्यवसायलाई चाँडै नाफामुखी बनाउँछन्।

सन् २०१८ मा विश्वमा अन्तर्राष्ट्रिय लगानी १९ प्रतिशतले घट्दा पनि चीनमा भने सात प्रतिशतले बढेको थियो। चिनियाँ वाणिज्य मन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार, गत जनवरीमा चीनले भिœयाएकोे विदेशी पुँजी अघिल्लो वर्षको सोही अवधिको तुलनामा साढे चार प्रतिशतले बढी हो। चीनमा अमेरिकी लगानी १२४.६ प्रतिशत र हल्यान्डको लगानी ९५.६ प्रतिशतले बढेको छ। चीन र अमेरिकाबीच व्यापारिक द्वन्द्व बढिरहेको बेला पनि अमेरिकी लगानी उल्लेख्य रुपमा बढ्नुलाई अनौठो संयोग मानिएको छ।

सन् २०१८ मा चीनले एक खर्ब ३४ अर्ब ९७ करोड अमेरिकी डलर विदेशी लगानी भिœयाएको थियो। यो सन् २०१७ को भन्दा तीन प्रतिशतले बढी हो। चीनले सबैभन्दा पहिले साङहाई स्वतन्त्र बजार क्षेत्र स्थापना गरेको हो। यसको अधिक सफलतापछि हाइनानलाई पनि स्वतन्त्र व्यापार क्षेत्रका रुपमा अगाडि सारेको छ। पछिल्लो समय चिनियाँ नेताहरुले हाइनानलाई चीन चियाउने झ्यालको रुपमा व्याख्या गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रतिवेदनमा सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने अनुमान छ। कोषले यसअघि चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत मात्र हुने बताएको थियो। व्यापारिक द्वन्द्व र अस्थिर मौद्रिक नीति जस्ता कारणले सन् २०१९ मा विश्व आर्थिक वृद्धिदर पहिले गरिएको प्रक्षेपण ३.५ प्रतिशतबाट ३.३ प्रतिशतमा झर्ने मुद्रा कोषले प्रक्षेपण गरेको छ। कोषले संशोधन गरेको प्रक्षेपणमा सबैको घटेको तर चीनको मात्र बढेको छ।

मूलधारको विश्व अर्थव्यवस्थामा आर्थिक प्रगति बढाउने मुलुक चीन एउटामात्र रहने भन्दै कोषकी महानिर्देशक क्रिस्टिना लागार्डले विश्व आर्थिक परिस्थितिमा चीनमात्र सबैभन्दा सशक्त इन्जिन रहेको बताएकी छन्। चीनको अर्थतन्त्र स्थिर रुपमा विस्तार भइरहेको कारण आन्तरिक माग बलियो हुनु र आर्थिक वृद्धि स्थिर रुपमा विकसित हुनु महŒवपूर्ण रहेको उनले बताइन्। गत वर्षदेखि चीनले क्रमबद्ध गहिरो सुधार र खुलापन विस्तारको कदम चालेका कारण यसको सकारात्मक परिणाम देखिएको हो।

चीनसँग ३० खर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा सँचिति छ। चीन नै संसारको सबैभन्दा धेरै विदेशी मुद्रा सँचिति भएको मुलुक हो। यसर्थ चीन विदेशी लगानी भिœयाउन मात्र नभएर विदेशमा लगानी गर्नमा पनि सबैभन्दा ठूलो शक्तिका रुपमा देखापरेको छ। सन् २०१८ मा चीनले विदेशमा गरेको प्रत्यक्ष लगानी एक खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ।

प्रकाशित: १० वैशाख २०७६ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App