८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीलाई त्रिपाठीको सुझावः किसान सुखी नभएसम्म मुलुक समृद्ध हुँदैन

काठमाडौं– प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन्। सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेको भन्दै उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्ने उनको माग छ। 

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले भने, ‘चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द छन्  यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ। सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ। नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ। उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ।’

सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ। उनले भने, ‘चिनी मिल सञ्चालकहरुले डेढ महिना ढिलो मिल सञ्चालन गर्दा पनि यो सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकहरुमाथि कुनै हस्तक्षेप गर्न सकेन्। जसको कारण आज किसानहरु ठूलो मारमा परेका छन्।’

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदा पनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ। उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको सुनाउँदै यो माग बजेट बन्नुपूर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए। 

त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउने हो भने किसानलाई पहिले सुखी तुल्याउनुपर्ने बताए। उनले भने, ‘अहिले पनि ६५ प्रतिशत जनसंख्या किसान छ। उनीहरु सुखी नभएसम्म मुलुक समृद्ध हुँदैन्।’

आफूले किसानहरुको समस्या समाधान गराउने उद्देश्यले मन्त्रीहरुको पटक–पटक ध्यानाकर्षण गराइसकेको पनि उनले जानकारी दिए। उनले भने, ‘सरकारले अविलम्ब स्थानीय सरकारलाई निर्देशन दिनुपर्छ। जुन जुन जिल्लामा समस्या छ, ती जिल्लाका अनुमानित लागत लिएर उनीहरुलाई अनुदान दिनुपर्छ।’

उखु किसानहरु यतिवेला कसैले आएर आफ्नो उखु खेतमा आगो लगाईदिए हुन्थ्यो वा सरकारी प्रतिनिधले नै आगो लगाईदिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको पनि उनले सुनाए। 

किसानहरुले बैंकको ऋण लिएर खेती गरेको र अहिले ऋण चुक्ता गर्न सक्ने अवस्था नभएको उनले गुनासो पोखे। धादिङमा उत्पादन भएका कृषि सामग्री काठमाडौंको कालीमाटी बजारसम्म आइपुग्दा पाँच वटा दलालहरु देखापर्ने पनि उनले सुनाए।  

अहिलेको अर्थतन्त्रले दलाली र माफियाहरुलाई मात्रै बढावा दिएको उनको अर्को आरोप छ। उनले भने, ‘त्यही आधारमा हाम्रो अर्थतन्त्र बन्छ।’ उनले कृषि मन्त्रालयले प्राथमिकता निर्धारण गरेर काम गर्नै नसकेको पनि आरोप लगाए। 

प्रकाशित: ९ वैशाख २०७६ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App