coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

किभ– युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। 

राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका थिए। निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४.४ प्रतिशत मात्र मत प्राप्त गरेका छन्। यद्यपी करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ।

चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो। 

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिएका थिए। कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका छन्।

युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने  पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेका थिए।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए। पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ। 

युक्रेनको संविधान अनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ।

चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बताएका थिए। 

जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिका समेतका संस्था एवं सरकारबाट खुशी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

चुनाव पछिको मतसर्वेक्षणमा युद्धरत एवं अशान्त पूर्वी क्षेत्रबाट भारी मत प्राप्त गर्नुभएका जेलेन्स्कीले राष्ट्रपति पोरोशेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त गर्ने देखाइएको थियो।

पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन्। उनले पछिल्लो नतिजाबाट रुस खुशी भएको हुनसक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।

विश्लेषकहरुले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन्। मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको देखिएको जनाएको छ। एएफपी

प्रकाशित: ९ वैशाख २०७६ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App