८ वैशाख २०८१ शनिबार
अन्य

‘काठमाडौंलाई सपार्ने ‘आइडिया’ मसँग छ’

सपनाको सहर,  रेखा थापा, नायिका

तपाईंको विचारमा सहर भनेको के हो?
सबैखाले सुख–सुविधा भएको व्यवस्थित ठाउँलाई नै सहर भनिन्छ। सहरको भौतिक पूर्वाधार एकनासे हुन्छ। मिलेको पूर्वाधारले मौलिकताको छनक देखाइरहेको हुन्छ। अत्यावश्यकीय र आकस्मिक सेवाको हकमा पनि सहर अग्रपंक्तिमा हुन्छ। यातायात, शिक्षा, स्वास्थ्य, प्रशासनिक कामलगायत धेरै सुविधा सहरमै पाइन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
म प्रकृतिप्रेमी हुँ। म जस्तोको लागि नेपाल रोजाईको ठाउँ हो। यहाँको पर्यावरण ‘बडो’ मज्जाको छ। यतिको प्रकृति मिलेको ठाउँ संसारका अरु देशमा सायदै होलान्। मैले नेपालका हर ठाउँ र सहर मन पराउँछु। ती ठाउँसँग आफूलाई घुलमिल गराउन सक्छु। जहाँ गयो उतै हराउने मेरो बानी छ। पश्चिम महाकालीदेखि पूर्वको मेचीसम्मको भूगोलसँग म रमाउन सक्छु। हिमाल, पहाड र तराईको वातावरण मलाई भिन्न–भिन्न लाग्छ। यी ठाउँले फरक–फरक आनन्द दिलाउँछन्।

काठमाडौं कस्तो लाग्छ?
काठमाडौंलाई म अति मन पराउँछु। यहाँको ‘खाटी’ कला संस्कृतिले सधैं लोभ्याउँछ। सदावहार मौसमले मनलाई ‘रिलिफ’ बनाउँछ। कीर्तिपुर, भक्तपुर, वसन्तपुर, पाटन दरबारले मलाई तान्छ। यहाँको भौगोलिक बनावट पनि संसारमै भिन्न छ। उपत्यकाको नजिक–नजिक अनेक आकृतिका डाँडाकाँडाहरू छन्। प्रत्येक दस पाइलाको फरकमा मन्दिर भेटिन्छन्।

यहाँको मन नपर्ने पक्ष के हो?
सहर बृहत् भयो। विकास निर्माणका काम छरिए, भद्रगोल भए। सहरले कहिल्यै पनि मौलिकता र प्रकृति सुहाउँदो विकास पाएन। सहरका नीति नियम र तौर तरिकाहरू कमजोर छन्। अनुशासन र मानवीयता कम हुँदै गइरहेको छ सहरमा। यहाँको विकासले समानान्तर प्रभाव पारेको छैन। ठूलाबडा, हुनेखाने र पहुँचवालाको रजाई छ। राजनीतिक नेताकै कारण सहरले विकास र समृद्धि पछ्याउन सकेन। सहरका यिनै पक्ष मलाई मनपर्दैन।

तपाईं सहर छिर्दाको परिवेश कस्तो थियो?
म २०५७ सालमा काठमाडौं छिरेकी थिएँ, केही सपनाका साथ। त्यतिबेला काठमाडौं शान्त, हराभरा थियो। सहरीकरण अति कम थियोे। गौराघाटतिर जाँदा सुनसान लाग्थ्यो। रातीमा एक्लै नहिन्नु भनिन्थ्यो। गुहेश्वरीबाट छलर्ङग पशुपतिनाथ मन्दिर देखिन्थ्यो। बाग्मतीको पानी कञ्चन थियो, पिउन मिल्ने। सहरभित्रका सरकारी जमिन सुरक्षित थिए। 

‘कसैले पनि देशको भविष्य सोचेर विकासका काम गरेनन्। जसको सत्ता छ उसैको फाइदाको निम्ति काम भयो। अहिले उपत्यका तहसनहस पार्ने भूमाफिया पनि हुन्। उनीहरूले जमिन बिगारे । भित्रैभित्रै सरकारी जग्गा किनबेच गरे।’

 

निजी घर र सरकारी भवन पनि पातला थिए। त्यति शान्त, सुन्दर सहर अब सम्झनामा मात्रै रह्यो। बितेका केही वर्षमै काठमाडौं भरियो, कंक्रिटे संरचनाले। अहिले सहरभरी सुकुम्वासीको लफडा छ। जनसंख्याको वृद्धि भएपछि पुराना बस्ती खचाखच भरिएका छन्। सहरमा आनन्दले बसेर सोच्ने ठाउँ समेत छैन।

सहर पस्दाखेरीको सपना के थियो?
सहर पस्दा लगभग १५/१६ वर्षकी थिएँ। त्यतिबेला मेरो सहर सपना भनेकै ‘चलचित्र’ थियो। म जहाँ जान्थे, त्यहाँ चलचित्र नै देख्थेँ। लगातारको प्रयत्नपछि आफूलाई स्थापित गरेँ।

काठमाडौं बिग्रनुको कारण के हो जस्तो लाग्छ?
सहरले सही नेतृत्व कहिल्यै पनि पाएन। सहर बनाउनु भनेर निष्ठा र इमान्दारिता बोकेर आउने व्यक्ति भएनन्। राजनीतिक परिर्वतनका लागि लडेका नेताहरू विकासतर्फ मोडिन सकेनन्। उनीहरु भागबण्डा, आपसी लफडा, हानाथाप र स्वार्थमा अल्झिए, बाझिए। कसैले पनि देशको भविष्य सोचेर विकासका काम गरेनन्। जसको सत्ता छ, उसैको फाइदाको लागि काम भइरहेको छ। अर्को कुरा, अहिले उपत्यका तहसनहस पार्ने भूमाफिया पनि हुन्। उनीहरूले जमिन बिगारे। भित्रैभित्रै सरकारी जग्गा किनबेच गरे। कहिलेकाहीँ डाँडामा पुगेर सहरलाई नियाल्छु, कंक्रिटमात्रै देख्दा चिन्ता लाग्छ।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ?
हामीले अहिले दुःख पाउनुको कारण हामी नै हौं। किनभने सक्षम नेतृत्व चुन्ने क्षमता हामीमा छैन। नेतृत्व चयन गर्ने चेतना हामीमा हुन्थ्यो भने सायद हामीले यतिधेरै समस्या  खेप्नुपर्ने थिएन। त्यसैले सहर विकास र समृद्धिको लागि त्यहाँका मानिसको भूमिका मुख्य हुन्छ। सहरवासी मिलेर अघि बढ्ने हो भने हामीले पछ्याइरहेको विकास भेट्न समय लाग्दैन। तर, नागरिक–नागरिक बीचको बेमेल देख्दा दुःख लाग्छ।

अहिलेको अवस्थामा काठमाडौंलाई कसरी व्यवस्थित बनाउन सकिएला?
मलाई काठमाडौं अझै पनि बन्छ भन्ने आस लाग्छ। काठमाडौंलाई सपार्ने ‘आइडिया’ मसँग छ। काठमाडौंले राम्रो नेतृत्व पाउने हो र सबै जनताको साथ पाउने हो भने यो सहर अझै पनि कायापलट बन्न सक्छ। त्यसको लागि नेतृत्वले गुरुयोजना तय गर्नुपर्छ। राज्यको कुरामा जनता सहमत हुनुपर्छ। यद्यपि यसो गर्दा ठूलो लफडा नहोला भन्न त सकिन्न। तर, ध्यान दिएर जनतालाई बुझाएर काम गर्ने हो भने काठमाडौं बदलिन सक्छ।

पुरानो सहरको परिकल्पना गर्दै मैले कहिलेकाहीँ सोच्ने पनि गर्छु– आजभन्दा ४०/५० वर्षअघि सोचेर काम गरेको भए सहर कस्तो हुन्थ्यो होला? त्यतिबेलाको अवस्था बुझ्दा अहिले पनि लाग्छ– यो त अर्कै किसिमको सहर हुनुपर्ने हो। राम्रो नेतृत्व पाउने हो भने काठमाडौंको मुहार फेरिन समय लाग्दैन। तर, त्यस्तो आटिँलो, इमान्दार र देशभक्त सोचको नेतृत्व कसरी आउँला भन्नेमा आसंकै छ।

हाम्रा सहरले मानवीय आवश्यकता पूरा गरेका छन्?
मानवीय आवश्यकतासँग सहरलाई जोडेर हेर्दा हाम्रा सहर मध्यम खालका छन्। नीतिगत रूपमा हेर्दा हाम्रा अति नै पछि छौं। यहाँ भएका नीति नियम र कानुन कार्यान्वयन शून्य छ। ठूलाबडालाई कानुन छुँदै छुँदैन। देशमा ठुल्ठूला अपराध भइरहँदा पनि राज्य पक्ष जिम्मेवार भएको देखिन्न। जनप्रतिनिधि आएको दुई वर्ष पुग्न लाग्यो। अहिलेसम्म मेयरले सिन्को भाँचेनन्। खाली अभियन्ताकै भरका सहरको सरसफाइ चलिरहेको छ। सरकारी कर्मचारी र जनप्रतिनिधिमा लाज हराएको छ। उनीहरू देशका कामप्रति जिम्मेवार नै छैनन्।

सहरमा के–के सुविधा हुनुपर्छ?
मावन जीवन र आवश्यकतासँग गाँसिएका सुविधा हुनुपर्छ। सहरले मौलिकता समेटेको हुनुपर्छ। सहर पस्नेबित्तिकै त्यहाँको प्रत्येक दृश्यले विदेशलाई छोएको वा तान्न सक्ने खालको हुनुपर्छ।

यदि तपाई नेतृत्व पदमा हुनुहुन्थ्यो भने सहरलाई कसरी व्यवस्थित बनाउनुहुन्थ्यो होला?
म हुन्थेँ भने सहरका बस्तीहरू व्यवस्थित पार्थेँ। ‘प्लानिङ’ बनाएर विकासका काम अघि बढाउँथेँ। यहाँको राम्रो कुरालाई जोगाएर/बचाएर विकास गर्थेँ। मुख्य त जनताको पीर मर्कालाई सिरोधार्य गर्थेँ, ताकी सबैले समान अधिकार र विकास पाउन्। मलाई याद छ, काठमाडौं छिर्दाताका दुईतले घरबाट पनि स्वयम्भू देखिन्थ्यो। अहिले सहरका घरले छेकिदिएका छन्।

कुन–कुन देशका सहर घुम्नुभएको छ?
म धेरै देशका सहर घुमेकी छु, अमेरिका, जापान, कोरिया, हङकङलगायत। 

कस्ता थिए त्यहाँका सहर?
त्यहाँका मानिसहरू सहरको समस्यालाई आफ्नो दायित्वको रूपमा लिन्छन्, सहरप्रति निकै सचेत हुन्छन्। सहरमा अनुशासन हुन्छ। त्यहाँको नेतृत्वले दीर्घकालीन योजना अपनाएर काम गर्छ। हामीकहाँ दीर्घकालीन योजना भएन। विकास बजेट पनि सही ठाउँमा प्रयोग भएन। सरकारले पहिलेदेखि नै सहरको गुरुयोजना बनाउन सकेन। हामीकहाँ सडकका योजनामा ठूलो दलाली भइरहेको छ। ठेकेदार र राजनीतिक नेताका कारण सडक योजनाहरू अलपत्र छन्। कतिपय गौरवका आयोजनामा पनि भ्रष्टाचार भइरहेको छ।

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला? 
सरकार योजनाबद्ध विकासमा लाग्नुपर्छ। प्रत्येक नेतामा देशभक्तको भावना र चेत हुनुपर्छ। नीति नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
मेरो रहरको सहर नै काठमाडौं हो। यो सहरसँग मेरो नाता, भावना, तन, मन सबै गाँसिएको छ। काठमाडौंलाई बिर्सेर विदेशी टल्कने सहरको परिकल्पना गर्दिनँ र सोच्दिनँ पनि। मेरो आँखा यही काठमाडौं नै घुमिरहन्छ। यहाँको मौसम निकै अदुभूत लाग्छ। म यति चाहन्छु, सहर समान होस्। सबैले स–सम्मान व्यवहार पाउन्। धनी–गरिब भनेर विभेद नहोस्। सहरी संरचनाले गरिब र धनी भनेर नछुट्याओस्।

सहरको मनपर्ने खानेकुरा के हो?
मलाई नेपाली खाना नै मनपर्छ। साग, दाल, भात, तरकारी, ढिडो र गुन्द्रुक नै नेपाली खानाको ‘मेनु’ हो।

प्रकाशित: ९ वैशाख २०७६ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App