८ वैशाख २०८१ शनिबार
अन्य

गति लिँदै सम्पदा पुनर्निर्माण

लामो संघर्ष र पर्खाइपछि उपत्यकाका तीन सम्पदाको पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माण सुरु भएको झण्डै ३/४ महिनामा काष्ठमण्डपको १०, धरहराको १२ र रानीपोखरीको ५ प्रतिशत काम सम्पन्न भएको छ। काष्ठमण्डप माघ, धरहरा पुस र रानीपोखरी फागुनमा पुनर्निर्माण थालिएको थियो।

गत माघ १४ मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यस्तै, सोही बैठकले महानगरपालिका र प्राधिकरणबीचको समन्वयमा ठेकेदार कम्पनीलाई धरहरा पुनर्निर्माणको जिम्मा लगाउने निर्णय गरेको थियो।

त्यसपछि काष्ठमण्डप पुनर्निर्माणको लागि गठित समितिले माघमै मुख्य थाम ठड्याएर पुनर्निर्माण थालेको थियो।

धरहराको १२, काष्ठमण्डपको १० र रानीपोखरीको ५ प्रतिशत काम सकिएको छ।

काष्ठमण्डप पुनर्निर्माण समिति सचिव गौतम डंगोलले तोकिएको समयावधिमा सक्ने गरी पुनर्निर्माण भइरहेको जानकारी दिए। उनले पुनर्निर्माणको लागि सबैजसो सामग्री जुटाइसकेकाले पुनर्निर्माण गति तीव्र भएको बताए। ‘मुख्य निदाल राखिसकिएको छ, चार वटा सहायक थाम राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘थाम अडाउनको लागि साइटमा प्रयोग गरिन्छ। उक्त ढुंगा कुद्ने र ताछ्ने काम चलिरहेको छ।’ उनका अनुसार समितिले पुनर्निर्माणको लागि चाहिने सबै पक्षमा सहजीकरण गरिरहेको छ।

पुनर्निर्माण प्राधिकरणका सहसचिव शिवहरि शर्माले धरहरा पुनर्निर्माणको क्रममा मुख्य फाउन्डेसनको काम भइरहेको जानकारी दिए। उनले केही दिनमा फाउन्डेसन र जगको काम सकिएपछि भुइँ तलाको काम थालनी हुने बताए। ‘वरपरमा अरु संरचना पनि भत्काउनुपर्ने देखिएको छ,’ उनले भने, ‘गोश्वारा हुलाकको कार्यालय र नेपाल राष्ट्र बैंकको धनादेश सारेपछि भुइँतलाको काम सुरु गरिन्छ।’

उनका अनुसार पुनर्निर्माण सुरु भएदेखि नै प्राधिकरणले सम्पदाको अनुगमन निरन्तर गरिरहेको छ। पुनर्निर्माण शैली अवलोकनका लागि कर्मचारीसमेत छुट्याइएको छ।

काठमाडौं महानगरपालिका– १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले सरसफाइ लगायतका काम सकेर रानीपोखरीको पुनर्निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार पहिलो तहको काम सुरु भएको छ। ‘हामीले एकदमै ध्यान दिएर काम गरिहरहेका छौं,’ उनले भने, ‘सकेसम्म तोकिएको समयमै काम सक्नेछौं।’ 

आकर्षक रानीपोखरी 
भूकम्प गएको करिव चार वर्षपछि पुनर्निर्माण थालिएको रानीपोखरी पुरानै शैलीमा बन्नेछ। बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने योजना तय भइसकेको छ। पोखरी वरिपरीको क्षेत्रलाई थप आधुनिक र आकर्षक बनाइने छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको विधि अनुसार पोखरीको मध्यभागमा कालीमाटी राखिने छ। माटोको तह तयार भएपछि करीब दुई फिट बालुवा राखिनेछ। वरीपरी भत्किएका पर्खाल पुरानै तहअनुसार मिलाइनेछ। डिलमा, पैदलमार्ग बन्नेछ। पर्खालमा माअप्पा इँटा प्रयोग गरिने जनाइएको छ। पोखरीको  पूर्व र उत्तरतर्फ ढुंगा छापेर पेटी बनाइने छ। ठाउँठाउँमा हरियाली रोपिने छ। साइडमा वाटर फाउन्टेन जडान गरिनेछ। पोखरीका साना संरचनालाई आकर्षक र मौलिक शैलीमा बनाइने छ।

सुविधायुक्त धरहरा 
२९ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ११ तलाको बन्नेछ। टुप्पोबाट उपत्यका पूरै नियाल्न पाइनेछ। पुनर्निर्माण सकिए पनि यो क्षेत्रफल आकर्षक हुनेछ। परिसर वरपर म्युजियम, वाटर फाउन्टेन, थिएटर, आकर्षक बगैंचा, पार्किङ, रेष्टुराँ लगायतका निर्माण गरिनेछन्। धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ।

१९९० सालको भुइँचालोअघि धरहराको उचाई ११ तला थियो। भूकम्पले दुई  तला भत्किएपछि ९ तलामा सीमित थियो। अब बन्ने ११ तलाको धरहरा लिफ्टबाट ‘टप’मा पुग्न सकिने छ।

झिंगटीको छानोमा काष्ठमण्डप
काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ। पुरानै स्वरूप अनुसार तीन तलाकै बनाइने छ। मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ, हेर्दाखेरी नै काठैकाठको देखिने गरी। आर्किटेक्ट पुरुषोत्तम डंगोलको ड्रोइङ र डिजाइनअनुसार पुनर्निर्माण भइरहेको छ। काष्ठमण्डपमा धेरै डिजाइका काठ प्रयोग हुनेछन्। आठ फिटभन्दा माथिका एक हजार दुई सय ५६ क्युबिक फिटका काम योग गरिनेछ। आठ फिटभन्दा तलका काठ पनि ठाउँ–ठाउँमा प्रयोग हुनेछन्। पुनर्निर्माणपछि मन्दिरको छानो झिँगटीले सजिने छ। 

दुई सम्पदामा भक्तपुरका कामदार 
काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माणमा भक्तपुरका कामदार प्रयोग भएका छन्। दुई वटै सम्पदाका काम गरिहरहेका कामदारले दैनिक हाजिरीका आधारमा ज्याला पाउँछन्। पुरम्परागत सीपको आधारमा भक्तपुरका कामदारलाई बोलाइएको हो। रानीपोखरीलाई प्राचीन प्रविधिबाटै पुनर्निर्माण गर्न भक्तपुर नगरपालिकाले ४० प्राविधिक पठाएको छ। त्यस्तै, काष्ठमण्डप पुनर्निर्माणको लागि भक्तपुरबाट २० जनाभन्दा बढी कामदार आएको समितिले जनाएको छ।

 

प्रकाशित: ९ वैशाख २०७६ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App