७ वैशाख २०८१ शुक्रबार
समाज

अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

सर्लाही – जिल्लाको मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन्। मलङ्गवा नगरपालिका–१० जिविस चोकस्थित आगलागीबाट ६ वटा पसलमा आगो लाग्दा ६० लाखभन्दा बढीको धनमाल क्षति भएको थियो। सो आगलागीबाट पीडित बनेका आठ परिवारलाई राहत प्रदान गरिएको हो।

अग्निपीडितलाई नगरप्रमुख निरसल साह, १२ वटै वडाका वडाध्यक्ष र कर्मचारीले तीन लाख ८० हजार रुपैयाँ सहयोग गरेका हुन्। मेयर साह र वडा १० का अध्यक्ष मुकेश झाले दुई÷दुई महिनाको, वडा १ देखि १२ वडासम्मका वडाध्यक्षहरूले एक÷एक महिनाको, खरिदारभन्दा माथिका कर्मचारीले पाँच÷पाँच दिनको र कार्यालय सहयोगीहरूले एक÷एक दिनको तलबबाट हुन आउने रकम सहयोग गरेका हुन्। आगलागीबाट क्षति बेहोरेका जितेन्द्र ठाकुरलाई एक लाख ५० हजार, प्रमोद ठाकुरलाई एक लाख २५ हजार, हुसेनी मियाँलाई २० हजार, रामकिसुन पासवानलाई २० हजार, शम्भु ठाकुरलाई २० हजार, अरबिन्द प्रसाद यादवलाई १५ हजार, बबिता साहलाई १० हजार र रामध्यान साहलाई १० हजार रुपैयाँ प्रदान गरिएको मेयर साहले जानकारी दिए।

यसैबीच, गत चैत २३ गते दिउँसो आएको हावाहुरीमा परी ज्यान गुमाएका जिल्लाको दक्षिणी क्षेत्रस्थित रामनगर गाउँपालिका–१ निवासी पन्नीलाल सहनीका परिवारलाई पनि आइतबार राहत प्रदान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले मृतककी पत्नी महावतीकुमारी देवीलाई राहतस्वरुप एक लाख रुपैयाँको चेक प्रदान गरेका हुन्। छिमेकी राजाराम चौधरीको पसलको छानो उडाएर थिच्दा गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ ल्याउने क्रममा बाटैमा ज्यान गएको थियो।

प्रकाशित: ९ वैशाख २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App