६ वैशाख २०८१ बिहीबार
समाज

एसेलुखर्कमा निःशुल्क जग्गा दान

खोटाङ – ऐसेलुखर्क गाउँपालिकाका स्थानीयले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदानका लागि निःशुल्क जग्गा दान गरेका छन्। स्थानीय गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि निशुःल्क जग्गा प्रदान गरेका हुन्। आफ्नै जग्गा र भवन नहुँदा हालसम्म भाडाको घरबाट सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयलाई स्थानीयले निशुःल्क जग्गा दान गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र एसेलुखर्कको अन्य आवश्यक संरचना निर्माणका लागि स्थानीय रामकुमार कालीकोटेले पाँच रोपनी तीन आना जग्गा प्रदान गरेका छन्। बसपार्क निर्माणका लागि स्थानीय सन्तवीर तामाङले साबिकको एेंसेलुखर्क–५ मा ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। बसपार्कका लागि थप जग्गा आवश्यक परे स्थानीयले निःशुल्क रूपमा जुटाइने गाउँपालिका अध्यक्ष निरौलाले बताए। गाउँपालिकाको पहलमा जग्गा दाताले शुक्रबार जग्गा पास गरिदिएका हुन्।

खेलमैदान निर्माणका लागि ११ स्थानीयले साँढे २९ रोपनी जग्गा प्रदान गरेका छन्। गाउँपालिकास्तरीय खेलमैदान निर्माणका लागि धु्रव राजभण्डारी, गोपालकृष्ण राजभण्डारी, रत्नकुमारी राजभण्डारी, पदमकुमारी राजभण्डारी, विष्णुमाया राजभण्डारी, अञ्जना राजभण्डारीलगायतले जग्गा दान गरेका हुन्। भीमबहादुर राजभण्डारी, कमलकुमारी राजभण्डारी, खड्गबहादुर राजभण्डारी, भाइकाजी राजभण्डारी र भूपेन्द्र राजभण्डारीले पनि खेलमैदानका लागि निशुःल्क जग्गा दिन तयार भएको गाउँपालिकाले जनाएको छ। ‘खेलमैदानका लागि ६ जना जग्गा दाताले जग्गा पास गरिदिइसकेका छन्,’ अध्यक्ष निरौलाले भने, ‘बाँकी पाँचजना बाहिर भएकाले जग्गा पास गर्न सकिएको छैन। तर कानुनी प्रक्रिया पूरा गर्न बाँकी भए पनि उहाँहरूले जग्गा दिइसक्नुभएको छ।’

प्रकाशित: ९ वैशाख २०७६ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App