रियाद – साउदी अरब तथा संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि अर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब अमेरिकी डलरको सहयोगको घोषणा गरेका छन्।
लामो समयसम्म सुडानको नेतृत्वमा रहेका नेता ओमार अल–बसिरले जनतालाई सुशासनको प्रत्याभुत गराउन नसकेको, भ्रष्टाचार तथा महँगी नियन्त्रण गर्न नसकेको भन्दै लामो समय राजनीतिक आन्दोलन चलेपछि सेनाले पदच्युत गरेको थियो। ‘तेलका लागि धनी मानिने दुई खाडी मुलकहरू साउदी अरब र युएईले सहयोगस्वरूप ५० करोड अमेरिकी डलरबराबरको रकम सुडानको केन्द्रिय बैंकमा जम्मा गरिदिने तथा दुई अर्ब ५० करोड अमेरिकी डलर खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायतका आवश्यक सामग्रीको सहज आपूर्ति गर्ने गरी नयाँ सरकारलाई सहयोग गर्नेछ,’ साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले सरकारी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ। सो सहयोग ऋणस्वरूप प्रदान गरिएको हो वा अनुदानस्वरूप दिइएको हो भन्नेबारे भने खुलाइएको छैन।
प्रकाशित: ९ वैशाख २०७६ ०२:३९ सोमबार