coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अपदस्थ राष्ट्रपतिको घरमा भेटियो विदेशी मुद्राले भरिएको बोरा

बसिरको निवासबाट फेला परेको नगदले भरिएको बोरा चलाउँदै सुरक्षाकर्मी। तस्बिर: एजेन्सी

खार्तुम - हालै सेनाद्वारा अपदस्थ गरिएका सुडानका राष्ट्रपति ओमार अल–बसिरको निवासबाट सेनाले ठूलो परिमाणको विदेशी मुद्रा बरामद गरेको छ। सुरक्षा निकायले सुटकेस र  बोरामा हालिएको अवस्थामा युरो, डलर र सुडानी मुद्रासमेत गरी कूल १३ करोड अमेरिकी डलरबराबर नगद फेला परेको बताएको छ।

बसिरको निवासबाट पाँच् अरब सुडानी पाउन्ड र तीन लाख ५१ हजार अमेरिकी डलरले भरिएको सुटकेस बरामद गरिएको सुडानी न्यायालयको एउटा स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। सुडानको शासन सत्तामा ३० वर्षसम्म रहेका बसिरको निवासबाट ठूलो मात्रामा मुद्रा भेटिएपछि हाल उनीविरुद्ध सम्पत्ति शुद्धिकरणबारे अनुसन्धान भइरहेको अभियोजनकर्ताहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बसिरलाई सत्ताबाट हटाउनुपर्ने माग गर्दै महिनौंदेखि सुडानमा आन्दोलन भएपछि देशको सेनाले उनलाई हालै अपदस्थ गरेको थियो।  नेदरल्यान्डस आधारित सञ्चारमाध्यम रेडियो दबंगाले नगदले भरिएको बोरा सुरक्षाकर्मीले चलाउँदै गरेको तस्बिरसमेत सार्वजनिक गरेको बिबिसीले उल्लेख गरेको छ।

पदबाट बर्खास्त गरिएपछि उनलाई आफ्नै निवासमा पक्राउ गरेर राखिएको थियो। तर उनको निवासबाट ठूलो मात्रामा मुद्रा भेटिएपछि भने यसबारे अनुसन्धान गर्नका लागि कोबारस्थित उच्च सुरक्षा भएको जेलमा राखिएको बताइएको छ। न्यायालयको स्रोतले बसिरमाथि अनुसन्धान भइरहेको पुष्टि गर्दै उनलाई अभियोजनकर्ताले कोबार जेलमै प्रश्न गर्ने बताएको छ।

५० केजी अन्न राख्नका लागि बनाइएका बोराभरि पैसा रहेको रेडियो दंबगालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। सुडानको अभियोजकको कार्यालयले भ्रष्टाचारसम्बन्धी छानबिन गर्नका लागि समिति गठान गरिने जनाएको छ। सुडानका महान्यायाधिवक्ताले शनिबार बसिरमाथि लागेको भ्रष्टाचारको मुद्दा हेर्नका लागि नयाँ कमिटी बनाउने बताएका थिए। बसिरलाई यही अप्रिल ११ का दिन सेनाले पदबाट हटाएको थियो। 

राष्ट्रपति बसिरलाई हटाएर शासन सञ हातमा लिएको सेनाले नागरिक प्रशासनलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भन्दै सर्वसाधारणले रक्षा मन्त्रालय अगाडि प्रदर्शन जारी राख्दै आएका छन्। बसिरलाई पक्राउ गर्ने र उनले जेलमा राखेका राजनीतिक बन्दीलाई रिहा गर्नेबाहेक सुडानी जनताको मत जित्नका लागि सेनाले उपयुक्त कदम चाल्न सकेको छैन। जनताले देशको शक्ति नागरिक प्रशासनलाई हस्तान्तरण गर्नका लागि माग गरिरहे पनि सेनाले जनताको विश्वास आफ्नो पक्षमा पार्न नसकेको बिबिसीले उल्लेख गरेको छ। उसले चाँडै नै निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने बताए पनि मिति भने तय गरेको छैन। यसअघि सेनाले कम्तीमा दुई वर्ष सैनिक शासन लागू हुन सक्नेतर्फ संकेत गरेको थियो।
विगतमा डार्फर क्षेत्रमा भएको हत्यालाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालतले बसिरलाई आफूसामू हस्तान्तरण गर्न आग्रह गरेपनि सुडानी

सेनाले आफ्नै देशको कानुनी प्रक्रियामार्फत् उनलाई कारबाही गर्ने जनाउँदै आएको छ। यसैबीच अपदस्थ गरिएका सुडानका राष्ट्रपति बसिरले माग गरे आफ्नो देशमा शरण दिन सक्ने युगान्डाले बताएको छ। युगान्डाका विदेशमन्त्री हेनरी ओर्यम ओकेल्लोले समाचार एजेन्सी रोयटर्सलाई यस्तो बताएका हुन्।

प्रकाशित: ९ वैशाख २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App