coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इआइएका कारण विकास आयोजना नरोकिने

फाइल तस्बिर

रसुवा– वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का कारण विकास आयोजनाहरू नरोकिने भएका छन्। इआइए प्रक्रियालाई पूर्वाधार विकासको प्रमुख बाधक मानिँदै आएको छ। ५० दिन भित्रमा इआइए सकिने गरी ऐन संशोधन गरिएकाले जनताको विकासको चाहनालाई पूरा गरिने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताए। 

‘इआइएको काम ५१ दिन लाग्दैन, उनले भने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सक्नु अगाडि नै यो काम सकिन्छ।’ विकास आयोजना र साझेदारले प्रतिवेदन बनाउन ढिलाइ गर्न नहुनेमा उनले जोड दिए। ‘मन्त्रालयमा आएको प्रतिवेदन अनुमोदनमा ढिलाइ गर्दैनौँ’, उनले भने, प्रतिवेदन जति छिटो तयार ग-यो उति नै छिटो काम सुरु गर्न सकिन्छ।’

कन्सल्टेन्सीले प्रतिवेदन बनाउनका लागि डेड महिनादेखि २ वर्षसम्म लगाउने गरेका छन्। रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालन गरिएको सातौँ लाङटाङ संरक्षण तथा पर्यटन उत्सव तथा दशौँ रेडपाण्डा ट्रफी भलिवल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले निकुञ्ज तथा आरक्षको संरक्षणको काम मात्रै हुने गरेकोमा अब व्यवस्थापनको काममा लाग्नु पर्ने बताए।

‘जैविक विविधताको संरक्षणमा जोड दिँदै आएका थियौँ, उनले भने, अब यसबाट संरक्षणको उपयोग र लाभ पनि लिनु पर्छ।’ विकास निर्माणमा वाधक बनेका ऐन कानुन समय सापेक्ष परिमार्जन गर्दै लैजाने उनले बताए। 

धुन्चे-गोसाईकुण्ड केबलकार निर्माण प्रक्रिया अघि बढाउने 

लामो समयदेखि चर्चामा रहेको धुन्चे–गोसाईकुण्ड केबलकार निर्माण हुने भएको छ। रामसार सूचीमा सूचीकृत गोसाईकुण्डमा पर्यटकको आकर्षण बढाउन तथा सहज रूपमा पुगेर फर्कने व्यवस्थाको लागि केबलकार निर्माण गर्न लागिएको हो। 

लामो समयदेखि रसुवाबासीले गरेको प्रयासलाई व्यवहारिक रूप दिन लागिएको वन तथा वातावरण मन्त्री बस्नेतले बताए। जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले पठाएको फाइल मन्त्रालयमा पुगेर अड्किएको छ। केबलकार निर्माणले धुन्चेको मात्रै विकास नभए पर्यटकीय दृष्टिकोणले देशकै विकास हुने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। 

त्रिदेशीय मार्गमा २४सैं घण्टा आवतजावत 

रसुवागढी जोड्ने सडक त्रिदेशीय मार्गको रूपमा विकास भइरहेकाले यो सडकमा चौबिसै घण्टा आवतजावत गर्न मिल्ने बनाइने भएको छ। निकुञ्ज क्षेत्र पर्ने भएका कारण अहिले राति ११ बजेसम्म मात्रै सवारी सञ्चालन गर्न पाइन्छ। 

केही समय पहिलेसम्म राति ९ बजे नै सवारी सञ्चालन गर्न पाइन्थ्याे। ‘त्रिदेशीय व्यापारिक मार्ग भएकाले यहाँ चौबिसै सवारी सञ्चालन गर्न दिन माग भएको छ', मन्त्री बस्नेतले भने, यसका लागि मन्त्रालयबाट समन्वय गरेर प्रक्रिया अघि बढाइन्छ।’

पालिका भ्रमण वर्ष २०१९ मनाई रहँदा पर्यटन सम्बन्धी काममा जोेड दिँदै गएको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए। पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनको लागि काम गरिरहेको उनको भनाइ थियो।  

प्रकाशित: ८ वैशाख २०७६ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App