७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

काबुलस्थित एक मन्त्रालयमा विष्फोट

सूचना मन्त्रालयमा भएको आक्रमणपछि सुरक्षित तरिकाले बाहिर निकालिएका सर्वसाधारण। तस्बिर: रोयटर्स

काबुल – तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि शनिबार राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र समूहले आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन्।

आक्रमण भएको सूचना मन्त्रालयनजिकै राष्ट्रपति निवास र केही प्रसिद्ध होटलहरु रहेका छन्। आक्रमणकारीले सो मन्त्रालयको पर्खालमा विस्फोट गराएको एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। मन्त्रालय स्रोतका अनुसार सशस्त्र व्यक्तिहरूमध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको, अर्को एक व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीको गोली लागेको थियो।

मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ बजेर ४० मिनेटमा विस्फोटन भएको थियो। स्थानीय टेलिभिजन च्यानलले देखाएका दृश्यमा एउटा सानो धुवाँको मुस्लो निस्केको र तल्लो तहको झ्यालबाट मानिसबाहिर निस्कन लागेको देखिन्छ। सयौं सर्वसाधारणलाई सो भवनबाट उद्धार गरिएको मन्त्रालयले बताएको छ। सशस्त्र विद्रोहीका प्रतिनिधि र दुई सय ५० अफगान राजनीतिज्ञबीच शनिबार र आइतबार कतारको राजधानी दोहामा एउटा शान्ति सम्मेलन हुने तय भएको बताइए पनि तालिबानले अफगान प्रतिनिधिमण्डलको आकार र उनीहरूको हैसियतबारे प्रश्न उठाउँदै बिहीबार अचानक सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो।   

शनिबार जारी गरेको एउटा वक्तव्यमा तालिबानले अफगान सरकारले ‘उक्त सम्मेलन र शान्ति प्रक्रियालाई भंग गरेको’ आरोप लगाएको छ।
यसैबीच काबुल आक्रमणमा संलग्न सबै आक्रमणकारी मारिएको मन्त्रालयले दाबी गरेको छ। अफगानी अधिकारीले सूचना मन्त्रालय परिसरमा विस्फोट गराउने समूहका सबैजना सुरक्षा कारबाहीमा मारिएको दाबी गरेको हो। अफगान गृह मन्त्रालयले ट्विटरमार्फत जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र आतंककारीविरूद्धको सुरक्षा कारबाही सकिएको छ। सबै आत्मघाती बम आक्रमणकारी र बन्दुकधारी मारिएका छन्।’ ‘सुरक्षाकर्मीले भवनभित्र रहेका दुई हजारभन्दा बढी सर्वसाधारणलाई सकुशल उद्धार गरेको छ,’ विज्ञप्ति उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।   

प्रकाशित: ८ वैशाख २०७६ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App