coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

महाअभियाेग प्रस्ताव: एमाले-माअाेवादी एक ठाउँ, कांग्रेसकाे विमति


काठमाडौं– अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ। सत्तारुढ दल कांग्रेसले कार्कीलाई महाभियोय गलाउने विषयमा पाटीभित्र कुनै छलफल नभएको बताएको छ। कांग्रेस ने ता एनपी साउदले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको बताए।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल नभएको र अहिले दर्ता भएको प्रस्तावमा कांग्रेसको कुनै संलग्नता नै नरहेको बताएका हुन्। ‘महाअभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं,’ उनले भने।

नेता साउदले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा यो विषय एजेण्डा नभएपनि यसबारेमा अनौपचारिक छलफल हुने बताए। उता प्रमुख प्रतिपक्ष दल एमालेले भने महाअभियोग प्रस्ताव स्वागतयोग्य भएको बताएका छन्। उनले महाभियोग प्रस्तावलाई निष्कर्षमा पुर्याउन आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने बताए। ‘यो प्रस्तावलाई किनारा लगाउनुपर्छ, यसको लागि एमालेले साथ दिन्छ,’ उनले भने।

अख्तियार प्रमुखको नियुक्तीलाई लिएर आफ्नो पार्टीले सुरुवातदेखि नै विरोध गरेको उल्लेख गर्दै सचिव ज्ञवालीले भने,‘लोकमानको नियुक्ती नै कानूनसम्मत् थिएन, जनआन्दोलन दबाउने र परिवर्तन आत्मसात् गर्न नसक्ने व्यक्ति कसरी अख्तियार प्रमुख बन्न सक्छन्, उनको योग्यता नै पुग्दैन्थ्यो।’ उनले कार्कीले पूर्वाग्रही राखेर काम गरेको, भ्रष्टाचारीहरुलाई उल्टै संरक्षण गरेको र लोकतन्त्रलाई लोकमानतन्त्र बनाउन खोजेको आरोप लगाउँदै भने,‘कार्कीले आतंक मच्चाएका थिए, उनको नियुक्तीको विरोध गरेकै आधारमा शम्भु थापा र कनकमणि दीक्षितलाई मुद्दा चलाइयो, यो कस्तो पूर्वाग्रही थियो।’

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याइएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याइएको दाबी गरे। ‘हामीले सांसदको स्वतन्त्र अधिकारको उपयोग गरेर यो प्रस्ताव ल्याएका हौं, मुलुकमा कानूनी शासनको निरीहिता रहनुहुँदैन भनेर हामीले स्वतन्त्र अधिकार प्रयोग गरेका छौं,’ उनले भने।

शाहीले अख्तियार प्रमुख कार्कीले आफ्नो कार्यक्षेत्र नाघेर पूर्वाग्रही ढंगले काम गरेको आरो लगाउँदै भने, ‘संसदको निर्देशन उल्लंघन गर्ने काम भयो, उहाँले समितिलाई समेत छल्ने काम गर्नुभयो, समितिले बोलाउँदा उहाँ नआउने, विरामी भएको नाटक पार्ने तर त्यही दिन अर्को कार्यक्रममा जाने ? यो उहाँको गलत नियत थियो भन्ने कुरा प्रमाणित हुन्छ।’

शाहीले अख्तियार प्रमुख कार्कीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई लत्याउने काम गरेकोले बाध्य भएर उनको विरुद्धमा महाअभियोग प्रस्ताव ल्याएको जिकिर गरे । उनले भने, ‘लोकमानले यो देशमा समानान्तर सरकार गठन गरे, कानूनी राज्यको उपहास गरे, मन नपरेका मान्छेहरुलाई पूर्वाग्रहरु भावनाले कारवाही गरेर आतंक मच्चाउने काम गरेका थिए, त्यसैले यो प्रस्ताव पारित हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’

 

प्रकाशित: ४ कार्तिक २०७३ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App