coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुई करोड लगानीमा उद्योग स्थापना गरिँदै

चितवन - पशुपालनका लागि आवश्यक आहार उत्पादन गर्न आहार उद्योग स्थापना गर्ने तयारी सुरु गरिएको छ। राप्ती नगरपालिका–४ को भवानीपुरमा पशु आहार उद्योग निर्माण गर्न लागिएको हो। दुग्ध उत्पादक सहकारी संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको साझेदारीमा उद्योग स्थापनाको काम अघि बढाएको छ।

प्रदेश ३ सरकार, राप्ती नगरपालिका र राप्ती नगरपालिका क्षेत्रभित्र रहेको दुग्ध उत्पादक सहकारी संस्थाको साझेदारीमा आहार उद्योग स्थापना गर्न लागिएको हो। एक करोड ९० लाख २८ हजार रुपैयाँ लागतमा पशु आहार उद्योग स्थापना गर्न लागिएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलिया बताउँछन्। उद्योग स्थापनाका लागि प्रदेश सरकारले ९० लाख रुपैयाँ सहयोग गरेको छ। राप्ती नगरपालिकाले ३६ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

नगर क्षेत्रमा रहेका ६ वटा दुग्ध उत्पादक सहकारीले उद्योगका लागि ६४ लाख २८ हजार रुपैयाँ जुटाएका छन्। राप्ती नगरपालिकामा भण्डारा दुग्ध उत्पादक, सहिद वलराम दुग्ध उत्पादक, परेवाश्वरी दुग्ध उत्पादक, जनमुखी बहुउदेश्यीय दुग्ध उत्पादक, नवउद्यमी दुग्ध उत्पादक र भगवती दुग्ध उत्पादक सहकारी संस्था रहेको थपलियाले बताए। पशु आहार उद्योगका लागि पूर्वाधार तयार गर्न शिलान्यास गरिएको छ। प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा उद्योग स्थापनाले पशुपालनलाई टेवा पुग्ने बताउँछन्।

उद्योग सञ्चालनमा आएपछि पशुपालनमा लागेका किसानलाई सजिलोसँग न्यूनतम मूल्यमा आवश्यक आहार उपलब्ध हुने उनले बताए। लगानीअनुसारको मूल्य नपाउँदा र पशुपालनमा देखिएका समस्या समाधानको माग गर्दै किसानले यसअघि सडकमा दूध फाल्नेजस्ता कार्य गर्न नपर्ने उनको भनाइ छ। किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले कृषि र पशुपालन क्षेत्रमा केन्द्रित रही बजेट विनियोजन गरेको उनले बताए।  
प्रदेशस्तरीय कृषि, पशुपक्षी र माछापालनका लागि तालिम केन्द्रसमेत प्रदेश सरकारले राप्ती नगरपालिकामा निर्माण गर्न लागेको मन्त्री लामा बताउँछन्। यस्ता कार्यक्रमले कृषि र पशुपालन क्षेत्रमा समृद्धि आउने उनको भनाइ छ। यो क्षेत्रको विकासका लागि प्रदेश सरकारले करोडौं रकम लगानी गर्न सुरु गरिसकेको उनले बताए। पशु आहार उद्योग स्थापना भएपछि किसानलाई दाना समयमा नपाउने र गुणस्तरहीन आहार पशुलाई खुवाउनुपर्ने समस्या समाधान हुने राप्ती नगरपालिकाकी मेयर प्रभा बराल बताउँछिन्।

किसानले दूधको उचित मूल्य नपाउने र आहारका लागि बढी रकम खर्च गर्नुपर्ने बाध्यता पनि हट्ने उनले बताइन्। नगरपालिकाले राप्तीमा डेरी उद्योग स्थापना गर्ने तयारीसमेत गरेको उनले जानकारी दिइन्। यस्ता कार्यक्रमले किसानलाई पशुपालनमा अग्रसर हुन सहयोग पुग्ने उनी बताउँछिन्। ‘किसानलाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न, पूर्वाधार तयार गर्न नगरपालिकाले जोड दिएको छ,’ उनी भन्छिन्, ‘किसानसँगै सहकार्य र साझेदारी गरेर सञ्चालन हुने कार्यले किसानलाई पनि अपनत्व जगाउँछ।’

राप्ती नगरपालिका क्षेत्रमा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। दूध उत्पादन गरेअनुसार किसानले उचित मूल्य भने पाउन नसकेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेती बताउँछन्। लागतअनुसार तुलना गर्दा अहिले किसानले पाइरहेको मूल्यले किसानलाई केही फाइदा र आम्दानी नहुने उनले बताए। लागतअनुसारको मूल्य पाउन र किसानको आम्दानी वृद्धि गर्न दुग्ध उत्पादक सहकारीले डेरी उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

किसान नै सहभागी भएको दुग्ध उत्पादक सहकारीको संलग्नतामा आहार उद्योग स्थापना भएपछि गुणस्तरहीन दाना खुवाउनुपर्ने किसानको बाध्यता हट्ने उनले बताए। गुणस्तर नभएका आहार खुवाउँदा पशुको वृद्धि, विकास नहुने एवं बाँझोपन हुनेलगायत समस्या किसानले भोग्नुपरेको उनी बताउँछन्। स्थानीयस्तरमा स्थापना गरिने उद्योगले रोजगारीसमेत सिर्जना हुने उनले बताए।

प्रकाशित: ८ वैशाख २०७६ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App