८ वैशाख २०८१ शनिबार
अर्थ

हाइब्रिड मकैको बीउमा आयातकर्ताको मनलाग्दी

बनेपामा बेच्न राखिएको एउटै कम्पनी र एउटै जातको हाइब्रिड मकै बीउ, तर प्याकिङ फरक–फरक। तस्बिरः नागरिक

बनेपा - प्रभावकारी अनुगमन नहुँदा बीउ व्यवसायीले एकै उत्पादक कम्पनीको हाइब्रिड मकै बीउलाई फरक–फरक प्याकिङमा राखेर महँगो मूल्यमा बेच्न थालेका छन्। व्यवसायीले भारत, बैंग्लोरको चारोइन पोख्पण्ड (सिपी) सिड्स इन्डिया प्रालिबाट उत्पादित सिपी–८०८ जातको हाइब्रिड मकैको बीउमा यस्तो बदमासी गरेका हुन्।

बजारमा बिक्री भइरहेको हाइब्रिड मकै बीउको नियमन नहुँदा किसान बढी मूल्य तिर्न बाध्यमात्रै नभई एउटै उत्पादक, एउटै जातको बीउका दुई किसिममध्ये कुन चाहिँ वास्तविक हो भन्नेमासमेत अन्योल भएको बताउन थालेका छन्। ‘गाउँको एग्रोभेटमा सधैंझैं छर्दै आएको रातो प्याकेट र यो वर्ष आएको नीलो प्याकेटको बीउ रहेछ। दुवैको उत्पादक सिपी सिड्स र जात पनि सिपी–८०८ नै थियो। तर, रातो प्याकेटभन्दा नीलोलाई किलोमा ५० रुपैयाँ बढी तिर्नुपर्ने बताउँदा अचम्ममा परें,’ बनेपा–३, नालाका किसान इन्द्रमणि दाहालले गुनासो गरे। दुइमध्ये कुन चाहिँ मकै बीउ आधिकारिक हो भनेर सम्बन्धित निकायले प्रस्ट पारिदिनुपर्ने उनको माग छ।

सिपी–८०८ जातको हाइब्रिड मकै बीउलाई कर्मा एन्ड सन्स ट्रेडर्स प्रालि काठमाडौंले आयात गरेको हो। उसले नीलो रङको प्याकेटमा ल्याएको हो। बजारमा रातो प्याकेटमा सोही कम्पनी र सोही जातको मकै बीउ पनि बिक्री भइरहेको छ। सिपी सिड्सको वेबसाइटमा रातो प्याकेटलाई मात्रै राखिएको भेटिन्छ। अन्य व्यवसायीले कम्पनीको वेबसाइटमा भएको प्याकिङको मकै बीउ नेपालमा ल्याइरहेका हुन्। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले २०६८ सालमै यस जातको मकैलाई दर्ता (पञ्जीकरण) गरेको हो।

‘हालसम्म पनि कम्पनीको वेबसाइटमा सिपी–८०८ को प्याकिङ परिवर्तन भएको आधिकारिक सूचना छैन। विगतमा त्यही बीउ बेच्दै आएको हुँदा यसपटक पनि सोही बीउ ल्याएका हौं,’ छुमा गणेश एग्रोभेट भक्तपुरका सञ्चालक पुण्यराम सुवालले भने। सिपी सिड्सकै उत्पादन ल्याएर बेचिरहेको भए पनि कर्मा समूहले घुमाउरो पारामा उसले ल्याएको नीलो प्याकेटमात्रै राम्रो र अरुले ल्याएको नराम्रो बीउ भनेर पर्चाबाजी गरेको पनि उनको आरोप छ।

‘कम्पनीकै सिपी–८०८ को फोटो राखेर सो बीउ कर्मा आफूले नल्याएको र बाली बिग्रिएमा जिम्मेवारी नहुने लेखेको छ। एउटै कम्पनीको बीउ दुई रङका प्याकेटमा आउँदैमा एउटाले सप्रने र अर्कोले बाली बिग्रने कहाँ हुन्छ ? एउटै हावापानीमा विकास गरेको बीउ बिग्रेमा दुवै बिग्रन्छ, सप्रे दुवै सप्रन्छ,’ नेपाल बीउ व्यवसायी संघ भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्षसमेत रहेका सुवालले भने।

नेपालमा बीउबिजनको दर्ता र नियमन गर्ने एउटैमात्र निकाय बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट प्रभावकारी अनुगमन हुन नसक्दा बीउबिजनका आयातकर्ताको एकाधिकार हुन थालेको सुवालको भनाइ छ। ‘हिजो दर्ता गर्दा कम्पनीले लेबल र प्याकिङ ब्याग बुझाएकै होला। सिपी–८०८ जातको हाइब्रिड मकैको बीउ बेच्न थालेको सात वर्ष भयो। यसरी दुईखाले प्याकिङ र फरक–फरक मूल्यमा यसै वर्षबाट बिक्री हुन थालेको हो,’ उनले थपे।

बीउबिजनका खुद्रा बिक्रेताले पनि नीलो प्याकेटको सिपी–८०८ मकैलाई रातोभन्दा ६५ रुपैयाँसम्म बढी तिरेर किन्नु परेको गुनासो गरेका छन्। ‘छुमा गणेश एग्रोबाट ल्याएको रातो प्याकिङको मकैलाई किलोको पौने पाँच सय रुपैयाँमा बेच्न सकिन्छ। तर, साँग्रिला एग्रो बनेपाबाट ल्याएको नीलो प्याकेटको मकै किलोको पाँच सय ३० रुपैयाँ घटीमा बेच्नै सकिन्न,’ हिरा एग्रोभेट नालाका सञ्चालक हिरा श्रेष्ठले भने।

कर्मा एन्ड सन्स ट्रेडर्सले बनेपास्थित साँग्रिला एग्रो–भेट इम्पेक्सलाई काभ्रेसहित मध्यपहाडी जिल्लाका लागि  सिपी–८०८ मकै बिक्रीमा एकाधिकार दिएको छ। त्यही भएर बैंग्लोरबाटै सिपी–८०८ हाइब्रिड मकै लोड भएका चारवटा ट्रक सोझै बनेपा आएका थिए। ‘बजारको हल्ला सही होइन। दुई ट्रकमा ३२ टनमात्रै मकै बीउ आएको हो। यो मकै बीउको दाना फरक छ।  पोहोरभन्दा भाउ बढेर आए पनि कर्माले तोेकेको मूल्यमै बीउ बेच्दै आएको छु,’ साँग्रिलाका सञ्चालक रमन मानन्धरले दाबी गरे।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाईंले एकै कम्पनीका एउटै जातको हाइब्रिड मकैैका बीउ दुइथरि लेबल, प्याकिङ र फरक–फरक मूल्यमा बिक्री वितरण भइरहेको कुरा आफूहरुलाई थाहा नभएको बताए। ‘सोमबार कार्यालय खुलेपछि बीउ उत्पादक कम्पनीलाई नै इमेल गरेर जानकारी माग्छौं। हामीकहाँ पञ्जीकरण हुँदा पेस भएका जानकारी परिवर्तन गरेर बीउ आयात गर्न पाइन्न, व्यवसायीले आफूखुसी गरेको प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही हुन्छ,’ उनले थपे।

नेपालमा पञ्जीकरण भएका बीउलाई बीउबिजन बिक्रीको अनुमति पाएका फर्मले आयात र बिक्री वितरण गर्न पाइने व्यवस्था कायमै रहेको हुमागाईंको भनाइ छ। ‘हालसम्म यो व्यवस्था परिवर्तन नभएको हुँदा एउटै कम्पनीको मकै बीउलाई फरक–फरक आयातकर्ताले भिœयाएको हुनसक्छ। तर, पञ्जीकरणका बेला दिइएको सर्तभन्दा फरक प्रक्रियाबाट बीउ नेपाल भित्रनु भएन,’ उनले भने।

मुलुकमै उत्पादित उन्नत जातको मकै बीउलाई प्रवद्र्धन गर्ने सरकारी नीति रहे पनि बढी फल्ने आशमा किसानको पहिलो रोजाइ हाइब्रिड मकै बीउ रहँदै आएको छ। उचित तापक्रम, सिँचाइ, रोगकीरा र मलखाद्का कारण बेलाबखत मकैमा घोगा नलागेको भन्दै किसानले आन्दोलनसमेत गर्दै आएका छन्। तैपनि हाइब्रिड मकै बीउको आकर्षण घट्नुको साटो बढ्दो छ। 

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको अभिलेखअनुसार ०७४ मंसिर मसान्तसम्ममा नेपालमा उन्मोचित उन्नत जातका मकैको संख्या ३४ वटा रहेको छ।  तर, हाइब्रिड मकै बीउ आयातका लागि व्यवसायीले ५५ जातका हाइब्रिड मकैलाई केन्द्रमा पञ्जीकरण गराएका छन्।   

प्रकाशित: ८ वैशाख २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App