coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अखाद्य वस्तु बिक्री रोक्न घुम्ती प्रयोगशाला

काठमाडौं -  बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तुको बिक्री वितरण बढेपछि त्यसलाई रोक्न सरकारले घुम्ती प्रयोगशाला (ल्याब)सहित अनुगमन सुरु गरेको छ । गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशालासहित अनुमगन थालेको हो।

खाद्य वस्तुको नमूना संकलन गरी विभागको प्रयोगशालामा ल्याएर परीक्षण गरी कारबाही गर्ने प्रक्रिया लामो भएपछि ठाउँको ठाउँ (अन द स्पट) कारबाही गर्न घुम्ती ल्याब प्रयोगमा ल्याएको छ। स्थलगत रुपमै गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको घुम्ती प्रयोगशाला प्रयोगमा ल्याएको विभागका महानिर्देशक सन्जिवकुमार कर्णले बताए। ‘अनुगमनमा घुम्ती प्रयोगशालामार्फत तत्काल परीक्षण सुरु गरेका छौं,’ कर्णले भने, ‘दोषीलाई तत्काल कारबाही गरेका छौं।’

विभागले बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्ट्याउन घुम्ती ल्याबसहितको भ्यान पहिलोपटक प्रयोगमा ल्याएको छ। उक्त ल्याबमार्फत विभागले होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूल लगायत खाद्य वस्तु, खानयोग्य भए÷नभएको परीक्षण गरेको छ। ती वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा तुरुन्तै परीक्षण गरेर गुणस्तरहीन र अखाद्य भेटिए कारबाही गर्न सुरु गरेको छ।

ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितका उपकरण जडित भ्यान बजारमा परिचालन गरेको छ। प्रयोगशालामा खाद्य वस्तुमा हुनुपर्ने मात्रा भए÷नभएको पत्ता लाग्ने भएकाले उपभोक्तामा सचेतना जगाउन पनि सजिलो भएको छ। विभागले करिब ६ करोड रुपैयाँ लगानीमा उपकरणसहित तीनवटा गाडी प्रयोगमा ल्याएको हो। बजारमा गुणस्तरहीन वस्तु बिक्री वितरण भएको गुनासो आइरहेको बेला प्रभावकारी सघन अनुगमन गरेर छिटो–छरितो नतिजा दिन सुरु गरेको हो।

विभागले खाद्य ऐन तथा नियमावली अनुसार कानुनी कारबाही गर्दै आएको छ। होटल तथा रेस्टुरेन्टले अखाद्य खाना खुवाउँदा, झाडापखाला, गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखलासहित टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने भएकाले विभागले कडाइ गरेको हो।

अनुगमनमा चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी, पिउने पानीमा मेसोफिलिक काउन्ट, पानीमा पिए बढी, दूधमा दिसामा हुने तŒव कोलिफर्म भेटिएको छ। तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दूषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दासमेत दायर गरेको छ।

खाद्य ऐन, २०२३ विपरीत न्यूनस्तर, मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गरेको कसूरमा यो वर्ष एक सय ३६ जनालाई मुद्दा दायर गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए। ‘मानव स्वास्थ्यमा असर पु¥याउने खाद्य वस्तु बिक्री गर्नेलाई दण्डित गरेका छौं,’ वस्तीले भने। विदेशबाट गुणस्तहीन खाद्य वस्तु आयात नहोस् भनेर भन्सारमा पनि कडाइ गरेको छ। मापदण्ड नपुगेका, आयात प्रतिवन्ध लागेका, लेबल नभएका खाद्यान्न, तेल, बिस्कुट, गुलियो, क्यान्ड मिट, नुडल्स, क्यान्ड फिस, सस, फुड प्रिजर्भ, ललिपप गरी विभिन्न ४४ खाद्य वस्तुको आयात अनुमती अस्विकृत गरेको छ। ‘नमूना प्रतिकूल पाइएकाले आयात रोक लगाएको हो,’ प्रवक्ता वस्तीले भने।

विभागले घुम्ती अनुगमनसँगै बजारबाट नमूना संकलन गरेर पनि परीक्षण गर्दै आएको छ। खाद्य प्रयोगशालाले जुस, जाम, जेली, अचार, क्यान्डी, बेकरी, कन्फेक्सनरी, तयारी चाउचाउ, बिस्कुट, बाल आहार, दूध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, प्रशोधित मासु तथा मासुजन्य खाद्य वस्तुमा सूक्ष्म जीवाणुसम्बन्धी परीक्षण गर्दै आएको छ। त्यसैगरी, घिउ तेल, प्रशोधित फलफूल तथा तरकारी, मिठाइ, अदुवा, अलैंची, बेसार, चिया, कफी, अन्न र सोबाट बनेका खाद्य वस्तु, मह, दूध तथा दुग्ध पदार्थ, मासुजन्य खाद्य वस्तुको रासायनिक परीक्षण गर्दै आएको छ। फलफूल

तथा तरकारीमा ३० किसिमका विषादी परीक्षण गर्छ। विभागले खाद्य स्वच्छता अभियान सञ्चालन गरेको छ।
उपभोक्ता नठगिऊन् भनेर होटलको पनि स्तरीकरण गरेको छ। विराटनगर, हेटौंडा, धनगढी, उदयपुर, काभ्रे, सुर्खेत, राजविराज, सर्लाही, दमौली, काठमाडौं, पोखरा चितवन र बागलुङमा दुई सय १२ होटल रेस्टुरेन्ट स्तरीकरण गरेको छ। तीमध्ये तीनवटाले अति उत्तम, २५ वटाले उत्तम, ८० वटाले सन्तोषजनक र एक सय चार सामान्य रहेका थिए।

विभिन्न नाकाबाट काठमाडौं उपत्यका भित्रिने दूधको अनुगमन तथा परीक्षण गरी आवश्यक निर्देशन दिइएको छ। काठमाडौं, इटहरी, हेटौंडा, देवदह रुपन्देही, नेपालगन्ज, कञ्चनपुर तथा काठमाडौंको भृकुटीमण्डप गरी ६ स्थानमा खाद्य मेला सम्पन्न गरेको विभागले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App