८ वैशाख २०८१ शनिबार
अर्थ

६ महिनादेखि भन्सार राजस्व ओरालोमा

वीरगन्ज - वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्ममा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व असुलेको छ। मुलुककै प्रमुख नाकामा रहेको यो भन्सार तालुक निकाय भन्सार विभागले सम्भावना आँकलन गर्दै दिएको मासिक लक्ष्यमा पुग्न लागतार ६ महिनादेखि असफल छ।

वीरगन्ज भन्सार कार्यालयले गत चैतमा लक्ष्यको ६४.८२ प्रतिशतमात्र राजस्व संकलन गरेको छ। विभागले चैतमा १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा कार्यालयले १० अर्ब एक करोड तीन लाख ७८ हजार मात्र संकलन गरेको छ। यो भनेको लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड ४१ लाख ४९ हजार कम हो।

वीरगन्ज भन्सारलाई गत साउनदेखि चैतसम्मका लागि एक खर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजारको लक्ष्य दिएको थियो। कार्यालयले एक खर्ब नौ अर्ब १३ करोड ८६ लाख १९ हजार मात्र उठाउन सकेको छ। यो भनेको लक्ष्यभन्दा १४ अर्ब ४१ करोड ७५ लाख ९२ हजार हजार (१२ प्रतिशत) कम हो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले चैतमा राजस्व संकलन कम भएको बताए। राजस्वको मुख्य स्रोत रहेका मालवस्तुको आयात कम भएकाले त्यसको प्रभाव राजस्व संकलनमा परेको उनले बताए।

राजस्वको मुख्य स्रोत रहेको सवारी साधनको आयात वीरगन्जबाट अन्य नाकातिर सरेको छ। यताबाट गाडी आयात घटेपछि त्यसको असर भन्सार राजस्वमा परेको यहाँका मुख्य भन्सार प्रशासक श्यामप्रसाद भण्डारी बताउँछन्। त्यस्तै, तेस्रो मुलुकबाट वस्तु आयात गर्दा भुक्तानी गर्नुपर्ने अमेरिकी डलरको मूल्य पछिल्लो समयमा उच्च भएपछि त्यसको असर पनि मालवस्तुको आयातमा परेको भन्सार अधिकृत बताउँछन्। कार्यालयका सूचना अधिकारी मनिष महतोले व्यापार घटेका कारण तयारी मालसामानको आयातमा कमी आएको र औद्योगिक कच्चा पदार्थको आयात समेत घटेकोले लक्ष्य पूरा गर्न नसकिएको बताए।

विभागले गत वर्षभन्दा २८ प्रतिशत बढाएर लक्ष्य निर्धारण गरेकोमा यो वर्ष त्यसलाई भेट्न कार्यालयलाई कठिनाइ भएको भन्सार अधिकृत बताउँछन्। लक्ष्य निर्धारण विभागले गर्ने र असुली भन्सार कार्यालयले गर्ने व्यवस्था रहे पनि आयात र व्यापार भने बजारको आवश्यकता र अवस्थामा भर पर्ने गरेको छ। यो वर्ष भौतिक निर्माणको काम अपेक्षाभन्दा निकै कम भएको छ। विकास बजेट खर्च नहुँदा सरकारी योजनामा काम हुन नसकेको देखिन्छ। त्यस्तै जलविद्युत् आयोजनाका समान पनि यो वर्ष भित्रिएन। यो अवस्थाको असर भन्सार राजस्वमा परेको भण्डारीले बताए।

प्रकाशित: ८ वैशाख २०७६ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App