coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘काल’ बन्दै दाइजो

वीरगन्ज - तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ।

यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताकी २८ वर्षीया अन्जुदेवी तात्वाँ। शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेका बेला प्रहरीले नियन्त्रणमा लियो। सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ। प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए। ‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टिका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकाका पति पन्नालालसहित सबै मलामी भागे।’

पन्नालाल र आफन्तले सुरुमा अन्जुदेवीको शव भारतमा लगेर दाहसंस्कार गर्न खोजे पनि एम्बुलेन्स चालकले नमानेपछि सिर्सिया नदीको घाटमा पु-याएका थिए। नियन्त्रणमा लिइएको शव नारायणी अस्पतालमा पठाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने ढकालले बताए। पन्नालालले बिहीबार राति निर्घात कुटपिट गरेकै कारण अन्जुदेवीको मृत्यु भएको छिमेकीको आरोप छ। ‘माइती पक्षको भनाइमा अन्जुमाथि बारम्बार कुटपिट हुँदै आएको थियो,’ ढकालले भने, ‘अनुसन्धानपछि मात्र खास कुरा भन्न सकिन्छ।’ आठ वर्षअघि अन्जुको बिहे पन्नालालसँग भएको थियो। उनीहरूका दुई छोरी र दुई छोरा छन्।

ससुरालमा महिला मारिएको यो प्रतिनिधि घटना मात्र हो। गत चैत ६ गते साँझ वीरगन्ज–२० हरपतगन्जमा नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले जेठी पत्नी सुनिता यादवलाई निर्घात कुटपिट गरेपछि अचेत अवस्थामा उनलाई गण्डकी अस्पतालमा पु-याइयो। थप उपचारका लागि काठमाडौं लगियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भयो। विवाहको दुई वर्षपछि थप दाइजो ल्याउन दबाब दिँदै सुनितामाथि अमानवीय व्यवहार हुँदै आएको माइती पक्षको दाबी छ। डा. यादव प्रहरी हिरासतमा छन् भने अन्य आरोपित ससुरा नागेन्द्र यादव, सासू आशादेवी र देवर अचितानन्द फरार छन्।
वीरगन्ज माइती र नेपालगन्ज ससुराल भएकी माधुरी वर्णवाल घरको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परिन्। माधुरीका बाबु, आमा र दाजुले उनको हत्या भएको दाबी गरे। २६ वर्षीया माधुरीलाई पतिका परिवारका सदस्यले प्रहरीलाई खबर नगरी अस्पताल पु¥याए। माधुरीका दाजु दीपेन्द्र वर्णवालले भने, ‘ससुरालका मानिसले हैसियतअनुसार दाइजो नपाएको भन्दै बहिनीसँग लगातार दुव्र्यवहार गर्दै आएका थिए।’ माधुरीको हत्यामा उनका पति मनीष वर्णवाल, ससुरा गोपीचन्द्र वर्णवाल र सासू राजकुमारी देवीको संलग्नता रहेको आरोप लगाउँदै माइती पक्षले सत्यतथ्य बाहिर ल्याउन पटकपटक आग्रह गर्दा पनि प्रहरीले नटेरेको बताइएको छ। माइती पक्षले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेपछि मात्र प्रहरीले मुद्दा दर्ता ग¥यो।

त्यस्तै पर्साको पर्सागढी नगरपालिका–४ हरदासपुरका भूपेन्द्र पटेलकी पत्नी २१ वर्षीया रिंकु देवी २०७५ जेठ ६ गते बिहान घरमा मृत अवस्थामा भेटिइन्। दाइजोमा पाएको खेत बेच्न रिंकुले नमान्दा उनको हत्या गरिएको माइती पक्षको आरोप छ। यस घटनामा पनि सही अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घेराउ गरी माइती पक्षले प्रदर्शन गरेको थियो। रिंकुका पति, सासू, देवर र जेठाजुले मिलेर हत्या गरेको माइती पक्षको दाबी छ। मृतक रिंकुका बुवा प्रभुप्रसाद कुर्मीले छोरीलाई आफूले दाइजोमा पाँच कट्ठा खेत दिएको र सोही खेतको विषयलाई लिएर छोरीको हत्या गरिएको बताउँछन्। उनका अनुसार ज्वाइँले उक्त खेत बेचेर चारपांग्रे गाडी किन्न रिंकुलाई दबाब दिएका थिए।
महिलाहरूले ससुरालमा यातना, कुटपिट, दुव्र्यवहार सहँदै ज्यानसमेत गुमाएका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। घटनासँगै सामाजिक व्यवस्थाबारे विभिन्न बहसको पनि सुरुआत भएको छ। तर न त सामाजिक व्यवस्था बदलिन सकेको छ, न व्यक्तिको सोच नै। घटनाका ठेगाना र पात्र फेरिएका छन्। प्रकृति समान छन्। ‘दाइजोको लोभमा परिवार त दोषी छँदै छ, सामाजिक व्यवस्था पनि कम दोषी छैन। ‘समाजले बनाइदिएका मान्यता र व्यवहारहरूका कारण महिलाहरू अनेकौं पीडा भोग्न बाध्य छन्, कसैले त मृत्युसमेत भोग्नुपर्छ। कति मृत्युका घटना प्रकाशमा आउँछन्, कति आउँदैनन्,’ वीरगन्जस्थित ठाकुरराम क्याम्पसमा समाजशास्त्रकी उपप्राध्यापक डा. सुष्मा द्विवेदी (तिवारी) ले भनिन्, ‘विपन्न र गरिब परिवारका मात्र होइन, सम्पन्न, पढेलेखेका र राजनीतिक पहुँच भएका परिवारमा जन्मेका छोरीहरू पनि यस्तो नियति भोग्नुपरेको हुन्छ।’

प्रकाशित: ८ वैशाख २०७६ ००:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App