८ वैशाख २०८१ शनिबार
राजनीति

‘ओली सरकार भाषण र उखान टुक्कामा अत्यधिक सफल, काममा असफल’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्। सरकार काम भन्दा पनि गफ र भाषणमा सफल भएको उनको भनाई छ।

नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे। निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको आरोप छ। 

विकास निर्माणको सवालमा पनि सरकार असफल भएको उनको आरोप छ। लेखकले थपे, ‘हिजो अघि बढेका योजनाहरु अहिले रोकिएका छन्। ७ नम्बर प्रदेशको कुरा गर्नुहुन्छ भने हिजोका सम्पूर्ण योजनाहरु अहिले बन्द भएका छन्। कुनै पनि योजना अघि बढेका छैनन्।’

विकासको गति नै अहिले शून्यमा रहेको उनको दाबी छ। उनले भने, ‘पुँजीगत खर्च हुनै सकेको छैन्। यसमा त सरकार सर्वाधिक रुपमा असफल भएको छ।’ उनले चीनबाट र भारतबाट रेल आउँछ भनेर सरकारले जनतालाई कल्पनामा बगाउने काम गरेको पनि आरोप लगाए। 

वर्तमान सरकारले पत्रकारिता, अदालतलगायतका महत्वपूर्ण क्षेत्रमा धावा बोल्ने काम गरेको पनि उनको आरोप छ। 

एकपछि अर्कोगरी भ्रष्टाचारका कुरा बाहिरिँदा पनि वर्तमान सरकार निरीह बनेको उनको अर्को आरोप छ। उनले भने, ‘यो एक वर्षमा सरकार पूर्ण रुपमा असफल भएको छ। भाषण र उखान टुक्कामा अत्यधिक सफल तर, काममा अत्यधिक असफल भएको छ।’

नेता लेखकले कांग्रेसले पनि प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गरे। संघीय संसदमा र प्रदेश दुवैमा आफूहरुको उपस्थिति कमजोर भएकोले आवाज पनि कमजोर बनेको उनको स्पष्टोक्ति थियो। पार्टीले बैशाख ११ गतेबाट ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको जनाउँदै उनले उक्त अभियान सफल हुने विश्वास दिलाए। 

उनले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारे। उनले भने, ‘कांग्रेस सरकार ढाल्ने खेलमा लाग्दैन्। यो सरकार त फर्सी आँफै कुहिएर झरेजस्तो अवस्थामा छ। यो सरकार जाते जाते कहीँ व्यवस्था नै लग्ने त होइन भन्ने चाहीँ हामीलाई चिन्ता छ।’

प्रकाशित: ७ वैशाख २०७६ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App