स्मृतिमा वैशाख ७

गोलीसँगै लडिरहेथ्यो कलंकी

शनिबार, ०७ बैशाख २०७६, ११ : ५६ राजाराम गौतम

वैशाख ७ ।
हरेक वर्ष क्यालेन्डरमा यो मिति देख्नासाथ म लोकतन्त्रका निम्ति नेपाली जनताले लडेको लडाइँ सम्झिन थाल्छु। साक्षी किनारामा उभिएर एक एक रेकर्ड राखेका ती दिन स्मृतिमा आउन थाल्छ। मनभरि कोलाहल, भागाभाग, गोली र टियर ग्याँस, जोस र जुलुस, नारा घन्किन थाल्छ।

२०६३ वैशाख ७ गते दोस्रो जनआन्दोलनको एउटा मोड थियो। जसले आन्दोलनलाई निर्णायक विन्दुमा पु-याइदियो। खासगरी काठमाडौंको कलंकीमा त्यो दिन जनताले देखाएको अभूतपूर्व साहसले सिंगो आन्दोलनलाई एउटा नयाँ मोड दियो। एकातर्फ त्यसले आन्दोलनमा आक्रोशको राप बढायो भने तत्कालीन शासक राजा ज्ञानेन्द्रलाई जनआक्रोशको उर्लदो ज्वार सम्झाइदियो।

वैशाख ७ त्यही दिन थियो जुन दिन भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत करण सिंह राजा ज्ञानेन्द्रसँग वार्ताका लागि काठमाडौंमा थिए। उनले काठमाडौंमा राजा ज्ञानेन्द्रसँग वार्ता गरिरहँदा कलंकी चोक भने युद्धभूमिमा परिणत भइसकेको थियो।

बिहानैदेखि सहरमा कफ्र्यू लागेको थियो। त्यो बखत रिंगरोड बाहिर बस्ने भएकाले मेरा लागि कलंकी रिपोर्टिङमा निस्कन अरू सञ्चारकर्मीलाई भन्दा सहज थियो। त्यसैले त्यो दिन म रिपोर्टिङका लागि कलंकी चोकमा थिएँ।

कलंकी चोकमा बिहानैदेखि प्रदर्शनको सरगर्मी शुरु भइसकेको थियो। हुन त कलंकी चोक आन्दोलनको शुरुदेखि नै एक केन्द्र थियो।

वैशाख ७ गते भने बिहानैदेखि मानिसहरू जम्मा हुन थालेका थिए। आन्दोलनरत सात दलले त्यो दिन हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रहसन प्रदर्शन गर्ने कार्यक्रम राखेका थिए। तर प्रशासनले बिहानैदेखि कफ्र्यु घोषणा गरेपछि यो कार्यक्रम स्थगित भएको थियो।

कार्यक्रम स्थगित भए पनि बिहानको ११ नबज्दै मानिसहरू जम्मा हुन थालिहाले। स्युचाटार, पुरानो नैकाप, तीनथाना, ढुंगेअड्डा, मातातीर्थ, थानकोट, वनभञ्ज्याङ, बलम्बु, महादेवस्थान, बलम्बु, सतुंगलबाट जुलुसका जुलुस कलंकी चोकतिर आइरहेथे। जुलुसमा बच्चादेखि युवा, गृहणी र वृद्धवृद्धा पनि थिए। उता धादिङबाट आइरहेको करिब आठहजार भन्दा बढीको जुलुसलाई सुरक्षाकर्मीले नागढुंगामै रोकिराखेका थिए।

कलंकी चोकमा भने अघिल्ला दिनभन्दा बढी मानिस जम्मा भइसकेका थिए। त्यहाँ उपस्थितले २० हजारभन्दा मानिस जम्मा भएको आकलन गरिरहेथे। कीर्तिपुरबाट एउटा जुलुस बल्खु हुँदै आइरहेथ्यो। जुलुसमा लगाइएको राजतन्त्रविरोधी नाराले कलंकीको आकाश गुञ्जायमान भइरहेथ्यो। दुईतिरबाट जम्मा भइरहेको जुलुसले कलंकी चोकमा दबाब सिर्जना गरिरहेथ्यो। कफ्र्यु कायमै थियो। त्यत्तिकैमा एउटा हेलिकप्टर कलंकीको आकाशमा उड्यो।

हेलिकप्टर जानासाथ सुरक्षाकर्मीले आन्दोलनकारीमाथि आक्रमण सुरु गरे। सुरुमा सशस्त्र प्रहरी र जनपद प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गर्न थाले। उनीहरूको एउटा झुण्डले आन्दोलनकारीलाई बल्खुतिर लखेटिरहेथ्यो भने अर्को झुण्डले तीनथानातिर। आन्दोलनकारी पनि आक्रोशमा आइसकेका थिए। उनीहरूले लाठी र अश्रुग्याँस हानिरहेका सुरक्षाकर्मीलाई ढुंगाले जवाफ दिन थाले। तनाव शुरु हुनासाथ सुरक्षाकर्मीले गोली चलाउन थाले। मानिसहरू धमाधम ढल्न थाले। कहाँ, को, कसरी ढलिरहेछ भन्ने थाहै हुन सकेन। सुरक्षाकर्मीले भने गोली चलाउन छोडेनन्। हेर्दाहेर्दै सडक रक्ताम्य भयो। घाइतेहरू बाटोमा कराइरहेथे। उनीहरूलाई उठाएर अस्पतालसम्म लैजाने कुनै व्यवस्था थिएन। त्यसले आन्दोलनकारीलाई झनै उत्तेजित बनाइरहेथ्यो। तनाव बढ्दो थियो।

मैले यी सबै घटनालाई जतिसक्दो टिप्ने र रेकर्डमा राख्ने प्रयास गरिरहेथेँ। आन्दोलनस्थलमा सञ्चारकर्मीको उपस्थिति खासै थिएन, कफ्र्यूका कारण। म त्यो बखत कान्तिपुर मिडियामा आबद्ध थिए। मैले कान्तिपुर टेलिभिजनको विशेष बुलेटिनहरू मार्फत कलंकीको विवरणहरू रहेक एक, आधा घण्टामा दिइरहेको थिए। अहिले सम्झिंदा आङ सिरिङ हुन्छ। घाइतेहरू उपचार नपाएर छटपटाएको अवस्था, त्यो कोलाहल। सञ्चारकर्मी भए पनि त्यो आन्दोलनबाट म जस्ता कयौं सञ्चारकर्मी अछुतो थिएनौं। मैले बुलेटिनहरूमा कलंकीको अवस्था जानकारी गराउनुको साथै घाइते उद्धारका लागि सहयोगको आग्रहसमेत गरेको थिए।

मध्यान्ह आन्दोलन चर्किदै जादा प्रहरीले थुप्रै राउण्ड गोली चलाइसकेको थियो। मेरै आँखा अगाडि मानिसहरू ढलिरहेथे। मेरो अगाडि उभिरहेको एक जना युवाको नलीहाडमा गोली लाग्यो। उनको हड्डी र रगत भुईंभरि भयो। सुरक्षाकर्मीले सिसाको गोली प्रयोग गरिरहेथे। एक जना उत्तेजित आन्दोलनकारीले मलाई धम्काउँदै भने, भोलि कुनै पत्रकारले प्रहरीले रबरको गोली चलाएको थियो भनेर लेख्यो भने खैरियत छैन।’

मैले उनलाई आफूले अघि नै सुरक्षाकर्मीले कस्तो गोली चलाइरहेछन् भन्ने मेरो अफिसलाई बताइसकेको छु भनेर शान्त पार्न खोजेँ। त्यति नै बेला अर्को आन्दोलनकारी पनि गोली लागेर ढले। अरु आन्दोलनकारीले उनलाई भर्खरै आइपुगेको एम्बुलेन्समा राखे। आन्दोलनकारीले इन्सेकको भ्यानमा आठ वटा घाइतेलाई राखेर नजिकैको अस्पतालमा पुर्याए। मानिसहरू बिनाउपचार सडकमा ढलिरहेको दृश्यले आक्रोशमा घ्यू थपिरहेथ्यो। एक जना महिला आफ्नो लोग्ने बचाइदेऊ भनेर रोइरहिथिन्। सुरक्षाकर्मीले भने कफ्र्यु पास नभएको भन्दै एम्बुलेन्स फर्काउन जोड गरिरहेथे।

हरेक विशेष बुलेटनमा मानवीय सहयोगको अपिल गर्न थालेपछि त्यहाँ एम्बुलेन्सहरू आउन थाले। कलंकीमा त्यो दिन तीन जनाको निधन भएको र दर्जनौं घाइते भए। त्यो दिन सुरक्षाकर्मीले सडकमा प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई मात्र गोली हानेको थिएन। घरको छतबाट हेरिरहेका र अश्रुग्याँसले अतालिरहेका आन्दोलनकारीलाई पानी खन्याइरहेका मानिसहरूलाई समेत ताकीताकी गोली हानेका थिए।

त्यो दिन बेलुकासम्मै कलंकी युद्ध मैदान बनिरह्यो। जनआन्दोलन सफल भएपछि विशाल जनसभाले कलंकी चोकलाई ‘लोकतान्त्रिक चोक’ घोषणा ग-यो। जनआन्दोलन सफल पछिका दिन दिन सम्झन्छु, जुन बेला आन्दोलनकारीहरूको जोस र उत्साह बेग्लै थियो। सबै कुरा उनीहरू लोकतान्त्रिक भएको हेर्न चाहन्थे। कलंकीले वैशाख ७ मा रचेको इतिहासलाई सम्मान गर्दै लोकतान्त्रिक चोक घोषणा गरिएपछि त्यसपछिका दिनहरूमा मुलुकले लोकतान्त्रिक चरित्र बोक्न सकेन। त्यसो त हामी उन्नत लोकतान्त्रिक प्रणालीमै छौं। संविधानसभाबाट संविधान निर्माण गरेका छौं। हाम्रा अभ्यासहरू लोकतान्त्रिक पद्धति निर्देशित छन्। तर चरित्र, मनोविज्ञान, आचरण र व्यावहार लोकतान्त्रिक हुन सकेका छैनन्।

कलंकीलाई भीडको उत्साहले लोकतान्त्रिक चोक उतिबेला भनिए पनि अब, त्यो कुरा स्मृतिमै सीमित छ। बरु यसको स्वरुप हिजोभन्दा बेग्लै छ। साँघुरो चोक केही फराकिलो भएको छ। ट्राफिक जामले हैरानी बेहोरेको कलंकी अहिले फेरिएको छ। देशको राजनीतिक परिस्थितिमा पनि ठूलै परिवर्तनहरू आइसकेको छ। कलंकीको चोकमा त्यो दिन मर्न तयार भएका जनता त्यसपछिको राजनीतिक उहापोहका साक्षी भएका छन्। देशमा नयाँ परिस्थिति निर्माण भएको छ।
जबजब वैशाख ७ आउँछ म त्यहीँ कलंकी सम्झिन्छु र सम्झिन्छु गोली लाग्दालाग्दै पनि, लाठी खाँदाखाँदै पनि, अश्रुँग्यासको पिरोले आँखा भिज्दाभिज्दै पनि लोकतन्त्रको पक्षमा नारा लगाइरहेका मानिस।







यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...