coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेवाग्राही झुक्याउँदै आइएमई सञ्चालक

सोलुखुम्बु - जिल्लाका एक पत्रकार आफूलाई काठमाडौंबाट पठाएको पैसा लिन सल्लेरीस्थित आइएमई सेन्टर पुगे। चैत २९ गते शुक्रबार दिन मध्यान्न आइएमई सेन्टर पुगेका उनीसँग दुइटा आइएमई नम्बर थिए। उनले रकम झिक्नका लागि आइएमई नम्बर दिए। लामो समय पर्खे तर पैसा पाएनन्।

उक्त सेन्टरमा जिल्लाबाहिर पठाउने रकमको कारोबार भइरहेको थियो तर बाहिरबाट प्राप्त हुने रकमको कारोबार भने भएको थिएन। लामो समयपछि ती पत्रकारले सोधे, ‘पैसा किन आएन ?’ कामदारले सजिलो जवाफ दिए, ‘सिस्टम स्लो छ।’ पत्रकारले क्षुब्ध हुँदै भने, ‘आज शुक्रबार पैसा पाइएन भने म सोमबारसम्म सल्लेरी बस्नुपर्छ। मेरो तीन दिन तीन रातको पैसा तपाईले तिर्नुपर्छ !’ उनको गुनासो कामदारले सुने, तर केही बोलेनन्।

भोलिपल्ट शनिबार र पर्सि नयाँ वर्ष भएकाले शुक्रबार रकम लिन आएका सेवाग्राहीले सोमबारसम्म पर्खिनुपर्ने निश्चित थियो। त्यहाँ कारोबारका लागि आएका उनी मात्र थिएनन्, अन्य सर्वसाधारण पनि थिए। उनीहरू पनि उस्तै समस्याबाट पिरोलिएका थिए।

बल्लतल्ल एउटा कारोबार सके पनि आइएमईबाट आउनुपर्ने अर्को रकम पत्रकारको हात परेन। त्यत्तिकै गाउँ फर्किंदा दोहोरो खर्च हुने भएकाले उनी सोमबारसम्म सल्लेरीमै बसे। सोमबार अर्को आइएमईमा गएर पैसा झिक्न नम्बर चेक गराउँदा कम्प्युटर सिस्टमले ‘अलरेडी पेड’ देखायो। उनी छक्क परे। बल्ल उनले थाहा पाए पहिलो आइएमई सञ्चालकले उनलाई झुक्याएको। त्यसपछि उनले पहिले कारोबार भएको आइएमई सेन्टर पुगेर आफ्नो पैसा त झिकिसकिएको गुनासो गरे। त्यहाँका कामदारले ‘रेडिमेड’ जवाफ दिए, ‘भर्खरै झिकेको हो सर, लैजानुस्।’

सल्लेरीका आइएमई सेन्टरमा यस्तो सास्ती व्यहोर्ने ती पत्रकार पहिलो सेवाग्राही होइनन्। त्यसभन्दा अघि पनि दर्जनौं सेवाग्राहीले यस किसिमको हैरानी खेपेका छन्। विशेषगरी जुबुका भानुभक्त उपाध्यायले सञ्चालन गरेको आइएमई सेन्टरमा यस किसिमको सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ। उनले ‘सिस्टम स्लो छ, आएमई नम्बर मिलेन, नगद सकियो,’ लगायतका बाहाना गर्दै साना–ठूला रकम व्यक्तगत प्रयोजनको काममा छोटो समयका लागि प्रयोग गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ।

‘मैले पनि त्यो आइएमई सेन्टरका सञ्चालकले जिल्लाबाहिरबाट आएको रकम पहिले आफूले चलाएर केही दिनपछि भुक्तानी दिने गरेको पाएँ,’ नाम नबताउने सर्तमा सल्लेरीका एक स्थानीयले भने। अर्का एक भुक्तभोगीले भने, ‘त्यो आइएमई सेन्टरमा क्यास–आउटमा मात्र होइन सेन्डिङमा पनि प्रयोग गरिसकेको, लोकेसनभन्दा बाहिरको फेक आइएमई नम्बर दिने, पटकपटक फोन गरेपछि मात्र बल्लतल्ल रकम पठाउने गरेको थाहा पाएर अचेल म त्यहाँ जानै छाडें।’

आइएमई सञ्चालक उपाध्यायले भने नागरिकलाई सरल रूपमा सेवा दिइरहेको बताए। उनले नागरिककै सेवाका लागि सल्लेरीका दुई स्थानमा आइएमई सेवा सेन्टर सञ्चालन गरेका पनि बताए। उनले बजारमा चलेको हल्ला निराधार भएको दाबीसमेत गरे। आइएमई सेन्टरमा सेवाग्राही झुक्याइने गरेकोबारे जिज्ञासा राख्दा सोलुखुम्बु प्रशासनले ‘सेवाग्राही झुक्याउने छुट कसैलाई नभएको,’ भन्दै ठगीमा मुद्दा चल्ने प्रतिक्रिया दिएको छ। जिल्लाको आइएमई सेवा नागरिकमैत्री भए–नभएको सत्यतथ्य बुझेर कारबाही अघि बढाइने प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताए।

आइएमईबाट १० हजारभन्दा बढी रकम पठाउनका लागि पठाउने व्यक्तिको परिचय खुल्ने कागजात नागरिकता, लाइसेन्स, पासपोर्ट, मतदाता परिचयपत्र अथवा आइएमई कार्ड आवश्यक पर्छ। आइएमईमार्फत एक दिनमा एक व्यक्तिले बढीमा ६० हजार रुपैयाँसम्म पठाउन सक्छन्। सोभन्दा बढी रकम पठाउनु परेमा फरक व्यक्तिको नामबाट पठाउनुपर्ने हुन्छ। आइएमई सेवा शुल्क भने सेन्टर रहेको ठाउँअनुसार फरकफरक हुने गर्छ। आइएमई सञ्चालकले खातामा प्रर्याप्त रकम नराख्ने भएकाले सेवाग्राहीलाई भनेको समयमा भुक्तानी नदिएर झुलाउने गरेको जानकारहरू बताउँछन्।

प्रकाशित: ७ वैशाख २०७६ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App