coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै लेखक–साहित्यकार आन्दोलनमा

काठमाडौं – पछिल्लो समय राज्य तहबाटै अभिव्यक्ति स्वतन्त्रता विरूद्धका घटना बढ्न थालेको भन्दै त्यसको विरोधमा साहित्यकार र लेखकहरू विभिन्न ढंगले लागिपरेका छन्।

रसुवाली कवि नामले परिचित साहित्यकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले विप्लव नेतृत्वको नेकपा (माओवादी)को कार्यकर्ता भएको आरोपमा सोमबार पक्राउ गरेपछि साहित्यकारले विरोधका कार्यक्रम शुरु गरेका हुन्। सोही क्रममा शुक्रबार उनीहरूले काठमाडौंको मण्डला थिएटरमा एक छलफल कार्यक्रम सम्पन्न गरेका छन्। 

‘अभिव्यक्ति स्वतन्त्रताका लागि नागरिकहरू’ नाम दिइएको सो कार्यक्रममा साहित्यकार आहुतीले अभिव्यक्ति स्वतन्त्रता नहुँदासम्म मानिस नै नहुने दावी गरे। ‘अक्सिजन, पानी र खानापछि मानिसको चौथो आवश्यकता अभिव्यक्ति स्वतन्त्रता हो’, उनले भने।

‘किन हामी सामाजिक न्यायको पक्षमा कठोरतापूर्वक उभिन सकेका छैनौ ? किन हाम्रो आन्दोलन सेल्फी खिच्ने आन्दोलन भइरहेको छ ? के हामी सत्ता निकट भएर लाभ लिन चाहन्छौ ?’, उपन्यासकार राजन मुकारुङले प्रश्न गरे। 

लेखक युग पाठकले भने राज्य एकपछि अर्को गरेर निरंकुश हुँदै गइरहेको दाबी गरे। ‘प्रश्न एकजना कविको गिरफ्तारीको मात्र होइन’, उनले भने, ‘प्रश्न सिंगो अभिव्यक्ति स्वतन्त्रताको हो।’

लेखक रामचन्द्र श्रेष्ठले भने हरेक शासन प्रणालीमा नेताहरू निरंकुश हुने अर्थ–राजनीतिसम्मै पुगेर समस्याको समाधान गर्नुपर्ने तर्फ लाग्नुपर्ने धारणा राखे। कार्यक्रममा सरल सहयात्री, ज्वालामुखी लामीछाने, धर्मेन्द्र विक्रम नेम्वाङ, सोझो गाउँले, राजेश्वरी सुवेदी लगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।  

 

प्रकाशित: ६ वैशाख २०७६ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App